२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

निर्णायक खेलमा फेरि भारत प्रतिस्पर्धी, नेपालले रच्न सक्ला इतिहास ?

श्रीलंकामा जारी यू–१७ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलको खेल बिहीबार हुने तालिका छ । यसपालि भारत, बंगलादेश, नेपाल र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाए ।


उनीहरूमध्ये भारत र बंगलादेश समूह विजेता तथा नेपाल र पाकिस्तान समूह उपविजेताको रूपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । समूह चरणमा भारतले माल्दिभ्सलाई ६–० ले हराउँदै प्रतियोगिताको सुरुवात गर्‍यो ।



उसले दोस्रो खेलमा भुटानविरुद्ध १–० तथा तेस्रो म्याचमा पाकिस्तानविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो । भारत अब नेपाललाई हराएर अपराजित रहँदै फाइनल पुग्ने दाउमा छ । 



यस्तै, अर्को समूह विजेता बंगलादेशले ग्रुप स्टेजमा एकतर्फी जित निकाल्यो । उसले समूह चरणमा नेपाल र आयोजक श्रीलंकाविरुद्ध समान ४–० को जित निकालेको हो । बंगलादेश अब पाकिस्तानलाई हराएर लगातार तेस्रोपटक साफ फाइनलमा पुग्ने रणनीतिमा छ ।

यता समूह ‘ए’ को उपविजेता नेपालले भने जारी साफमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । नेपालले श्रीलंकालाई २–० ले हराउँदा बंगलादेशविरुद्ध ४–० को लज्जास्पद बेहोर्‍यो । १७ वर्षमुनिको साफमा बंगलादेशविरुद्ध नेपालको यो अहिलेसम्मकै फराकिलो हार हो ।  

समूह ‘बी’ को उपविजेता पाकिस्तानले भने ग्रुप स्टेजमा उत्कृष्ट प्रदर्शन गर्‍यो । उसले भुटानलाई ४–० ले हराउँदै प्रतियोगिताको सुरुवात गरेको थियो । दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ५–२ को जित निकालेको पाकिस्तानले तेस्रो म्याचमा भारतविरुद्ध ३–२ को हार बेहोर्‍यो ।

ऊ ६ अंकका साथ सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले फाइनल प्रवेश गर्न अब बंगलादेशलाई हराउनुपर्नेछ । यी दुई टिमबीचको सेमिफाइनल भिडन्त बिहीबार अपरान्ह ३ बजेदेखि सुरु हुनेछ । हालसम्म बंगलादेशले दुई तथा पाकिस्तानले एकपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । 



जारी साफको अर्को सेमिफाइनलमा नेपाल र भारत आमने–सामने हुने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा बिहीबार बेलुका साढे ७ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी परेकाले नेपाललाई फाइनलमा स्थान बनाउन गाह्रो छ । समूह चरणमा नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहन सकेन । ग्रुप स्टेजमा नेपालका लागि समीर कुमारले मात्र दुई गोल गरे । 

उता भारतले भने समूह चरणमा ९ गोल गर्‍यो । तीमध्ये उसले ६ गोल माल्दिभ्सविरुद्ध गरेको हो । भुटानविरुद्ध भने भारतले एक गोल मात्र गर्न सक्यो । यदि भारतलाई हराएर सेमिफाइनलको यात्रा गर्ने हो भने नेपालले बिहीबार उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन ।

नेपालले हालसम्म चारपटक फाइनलमा स्थान बनाएको इतिहास छ । नेपाल सन् २०१३, २०१७, २०१९ र सन् २०२२ को साफ फाइनलमा पुगेको थियो । ती चारवटै फाइनलमा नेपाल भारतविरुद्ध पराजित भयो ।

यसपटक नेपाली टिमसामु सेमिफाइनलमा नै भारतविरुद्ध जित निकालेर इतिहास रच्ने मौका छ । उता भारतीय टिम नेपालविरुद्धको दबदबा कायम राख्दै सातौंपटक साफ च्याम्पियन बन्ने योजनामा छ । उसले सन् २०१९ यता लगातार उपाधि जितेको छ । ​

  • प्रकाशित मिति : ९ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया