२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

वेस्ट इण्डिजविरुद्धको ऐतिहासिक सिरिजबारे के भन्छन् प्रशिक्षक र खेलाडी ?

ऐतिहासिक सिरिज खेल्न नेपाली क्रिकेट टोली हाल यूएईमा छ । त्यहाँ नेपालले पहिलोपटक वेस्ट इण्डिजविरुद्ध तीन म्याचको टी–२० सिरिज खेल्न लागेको हो । यी दुई टिमबीचको श्रृंखला आउँदो शनिबारदेखि सुरु हुनेछ ।




सिरिजको बाँकी दुई खेल १३ र १४ गतेका लागि तय गरिएको छ । वेस्ट इण्डिजविरुद्धको सिरिजलाई नेपालले ‘नयाँ युगको सुरुआत’ को रूपमा हेरेको छ । खेलाडी र प्रशिक्षक पनि दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इण्डिजविरुद्ध सिरिज खेल्न उत्साहित छन् । 

वेस्ट इण्डिजसँगको सिरिजबारे के भन्छन् प्रशिक्षक र खेलाडी ?



नेपालका लागि वेस्ट इण्डिजविरुद्धको श्रृंखला अनुभवको हिसाबले महत्वपूर्ण हुनेछ । यो श्रृंखलाले आगामी महिना ओमानमा हुन लागेको विश्वकप छनोटका लागि अभ्यासको मौका पनि दिनेछ । नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि यो सिरिजलाई ठूलो अवसरका रूपमा हेरेका छन् ।

उनका अनुसार वेस्ट इण्डिजविरुद्धको प्रतिस्पर्धाले टोलीलाई मानसिक र प्राविधिकरूपमा विश्वकप छनोटका लागि तयार बनाउनेछ । ‘विश्वकप छनोटमा जानुअघि यो सिरिज एकदमै ठूलो अवसर हो, हामीले यो अवसरलाई सदुपयोग गर्नछौँ,’ सहायक प्रशिक्षक मल्लले भनेका छन् ।

नेपाली टिम वेस्ट इण्डिजविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेर लयमा रहन चाहन्छ । सोही कारण मुख्य प्रशिक्षक स्टुअर्ट लले बलियो टिम घोषणा गरेका छन् । कप्तान रोहितकुमार पौडेलका अनुसार नेपाली टोली अहिले थप सन्तुलित छ । र, आफूहरू वेस्ट इण्डिजविरुद्ध सिरिज खेल्न उत्साहित भएको उनको भनाइ छ ।



‘हामी वेस्ट इन्डिजविरुद्ध खेल्न एकदमै उत्साहित छौँ, अहिले हाम्रो टोली सन्तुलित पनि छ,’ रोहितले भने, ‘हामीले अष्ट्रेलियासम्म पुगेर तयारी गरेका छौँ । वेस्ट इण्डिजसँगको सिरिजले हामीलाई थप आत्मबल दिनेछ । र, यो श्रृंखला विश्वकप छनोटका लागि प्लस प्वाइन्ट बन्नेछ ।’ 

पूर्वकप्तान सन्दीप लामिछाने वेस्ट इण्डिजविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्न सके आगामी दिनमा थुप्रै अवसरको ढोका खुल्न सक्ने बताउँछन् । ‘यो शृंखला अहिले बेबी स्टेप हो । राम्रो नतिजा निकाल्नै पर्छ । यति गर्न सक्यौँ भने अरू टेस्ट राष्ट्रसँग खेल्ने ढोका खुल्छ,’ सन्दीपले भने, ‘वेस्ट इण्डिजका प्रायः सबै खेलाडीसँग खेलिसकेको छु । तर, उनीहरूसँग खेल्दा निश्चितरूपमा एक्सपोजर पाइन्छ ।’ 

नेपाली टोलीले गत वर्ष वेस्ट इण्डिज ‘ए’ विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेलेको थियो । यद्यपि उक्त सिरिज नेपालले ३–२ ले गुमायो । यसपटक नेपाली टिम त्यो अनुभवबाट पाठ सिक्दै वेस्ट इण्डिजको प्रमुख टोलीविरुद्धको सिरिज जित्ने लक्ष्यमा छ ।

टोलीमा केही खेलाडीको पुनरागमनले नेपालको त्यो सपना पूरा हुने सम्भावना पनि बढेको छ । तीन वर्षपछि टिममा फर्किएका मोहम्मद अदिल अन्सारी यो सिरिजले नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्छन् ।

उनी भन्छन्, ‘तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएको छु, त्यो पनि वेस्ट इण्डिजसँगको खेलका लागि । यो मेरो लागि ठूलो अवसर हो र म व्यक्तिगतरूपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छु ।’

आदिलसहित सन्दीप जोराले पनि टिममा पुनरागमन गरेका छन् । उनी पनि वेस्ट इण्डिजविरुद्धको सिरिजलाई अवसरमा रूपमा हेर्छन् । ‘वेस्ट इण्डिज दुईपल्टको विश्वकप च्याम्पियन हो । उनीहरूबाट धेरै सिक्ने मौका पाउँछौँ,’ जोराले भने । 

वेस्ट इण्डिजले नेपालविरुद्ध खेल्न केही मुख्य स्टार नपठाए पनि हालको टोलीमा रहेका खेलाडी पनि अनुभवी छन् । उसले जेसन होल्डर, अकिल होसेन, कायल मेयर्स, फाबियन आलेन, ओबेद म्याकोयजस्ता स्टारलाई नेपालविरुद्धको सिरिजमा समावेश गरेको छ ।

पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेल्न लागेको नेपालले कस्तो प्रदर्शन गर्छ, त्यो हेर्नलायक हुनेछ । 

  • प्रकाशित मिति : १० असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया