२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । 


गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन् ।



बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर भ्रमण वर्ष, २०२५ घोषणा गरी अगाडि बढिरहेको सन्दर्भमा पछिल्लो अवस्थापछि पर्यटन व्यवसायी अन्योलमा छन् । दसैँ सुरु भइसक्दा पनि बन्दीपुरमा पर्यटकको आगमन बढ्न नसकेको बन्दीपुर भ्रमण वर्ष, २०२५ का सचिवालय संयोजक एवं पर्यटन व्यवसायी वैशबहादुर गुरुङको भनाइ छ । 

‘दसैँ तिहारजस्ता पर्वमा बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय हो । तर, यस वर्षको दसैँ तिहारका लागि बन्दीपुरको अवस्था जेनजीको प्रदर्शनपछि बदलिएको छ,’ उनले भने ।



दसैं तिहारमा अघिल्लो वर्ष उल्लेख्य मात्रामा पर्यटक आउने गरेपनि यस वर्ष भने भएको बुकिङसमेत रद्द हुन थालेको उनको भनाइ छ ।  ‘दसैँका लागि भएका बुकिङ रद्द हुन थालेका छन्, कोभिडपश्चात् तङ्ग्रिदै गरेको पर्यटनमा फेरि अहिले आएर धक्का लागेको महसुस गरेका छौँ,’ गुरुङले भने ।

बन्दीपुर गाउँपालिकाले केही समय अगाडि मात्रै काठमाडौँमा बन्दीपुर भ्रमण वर्षको भव्य प्रचारात्मक कार्यक्रम गरेको थियो । त्यसले यहाँको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास थियो । तर, जेनजी प्रदर्शनपश्चात् परिस्थति बदलिएको गुरुङको भनाइ छ । 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर सुरक्षित छ भन्ने सन्देश दिएर पर्यटकलाई आमन्त्रण गर्नुपर्ने चुनौती आएको बताउँछन् । उनले भने, ‘देशमा विषम परिस्थिति सिर्जना भएपनि बन्दीपुर सुरक्षित छ, हामी पर्यटक स्वागत गर्न तयार छौँ ।’

उनका अनुसार भदौमा आन्दोलन सुरु हुनु अघि एक हजारभन्दा बढी पर्यटक आइरहेकामा पछिल्ला दिनमा मुश्किलले १०० पर्यटक पुग्ने गरेका छन् । ‘आन्दोलन पहिलो कारण हुनसक्छ, त्यसबाहेक सडकको अवस्थाका कारण पनि पर्यटक आउन नसकेको हो कि भन्ने छ, अब हामी बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटक ल्याउनेमा केन्द्रित हुनेछौँ’, अध्यक्ष थापाले भने ।  



वि.सं २०८१ मा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ । यस वर्ष त्यसको दोब्बर पर्यटक भित्र्याउने लक्ष्य थियो । 

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ । 

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्कदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । रासस   

  • प्रकाशित मिति : १० असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया