चैत–वैशाखमा ६५९ जनाले चढे सगरमाथा, आठजनाको मुत्यु एक बेपत्ता

काठमाडौं– सन् २०१९ को वसन्तयाम (चैत–वैशाख)मा शेर्पा गाइड (पथप्रदर्शक)सहित ६ सय ५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना (सरदार, गाइड र शेर्पासमेत गरेर) जम्मा एक हजार २३ रहेका थिए । पर्यटन ऐन, २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अन्तर्गत सगरमाथा आरोहणका लागि अनुमति दिइएको हो ।
    
यस यामको सगरमाथा आरोहणका क्रममा आठजनाको मुत्यु भएको र एकजना हराइरहेको विभिन्न एजेन्सीको विवरणलाई उद्धृत गर्दै विभागले उल्लेख गरेको छ । सगरमाथामा ट्राफिक जाम र अधिक अनुमतिपत्रका कारण आरोहीको मृत्यु भएको भनी सञ्चारमाध्यममा आएको विषयको खण्डन गर्दै विभागले आरोहणमा खटिने सम्पर्क र विभिन्न एजेन्सीको विवरणअनुसार मुत्युका कारण (लेक लाग्ने, प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरी)लगायत रहेको स्पष्ट पारेको छ । 
    
सगरमाथा आरोहणका लागि यस वर्ष अनुमतिप्राप्त आरोही सदस्य संख्या ३८१, सन् २०१८ मा ३४६ र सन् २०१७ मा ३६६ थियो । अघिल्लो भन्दा यस वर्ष ३५ जना मात्र बढी हो । त्यस्तै, सन् २०१८ मा सन् २०१७ को तुलनामा १५ जना मात्र बढी रहेको विभागको अभिलेखले देखाएको छ । 

विभागको अभिलेख हेर्दा अधिक अनुमतिपत्र वितरण गरेकै कारण सगरमाथामा आरोही र गाइडको मृत्यु भएको हो भन्ने विषय वास्तविक नरहेको तथ्य तथ्यांकलेसमेत देखाएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
    
यस मौसममा सगरमाथा लगायतका हिमालको आरोहणका लागि क्रमशः मृत्यु भएका तथा हराइरहेकालगायत पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानुनी, संरचनागत, कार्यविधिगत सुधारका लागि सुझाब दिन अध्ययन समिति गठन गरिएको छ ।
    
गत जेठ २४ गते (प्रधानमन्त्रीस्तर)को निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवद्र्धन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको र उक्त समितिले हाल उठाइएका विषयका अतिरिक्त यससँग सम्बन्धित सबै विषयमा गम्भीरतापूर्वक अध्ययन गरिरहेको विभागले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १५:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया