नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य : अध्ययन

काठमाडौं– परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएको एक अध्ययनले देखाएको छ । 
  
गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (क्रिपा)द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो संख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएको देखाएको हो । 

नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको तथ्यांकमा उल्लेख छ । अनिच्छित गर्भमध्ये करिब एकचौथाइ अनियोजित जन्म हुने र दुईतिहाइ गर्भपतन हुने गर्छन् भने बाँकी गर्भ आफैँ खेर जाने गरेको छ । 

गर्भधारण गर्न नचाहेका १५ देखि ४९ उमेर समूहका महिलामध्ये ४४ प्रतिशत परिवार नियोजनका आधुनिक साधनको चाहना हुँदाहुँदै पनि सहज पहुँच नहुँदा उनीहरूले कि त साधन अपनाउँदैनन् कि परिवार नियोजनको परम्परागत विधि अपनाउने गरेका छन् ।

नेपालका सातवटै प्रदेशमा परिवार नियोजनका साधन मागअनुसार पर्याप्त हुन नसकेको र गण्डकी प्रदेशमा सबैभन्दा बढी ५२ र प्रदेश नं २ मा सबैभन्दा कम ३८ प्रतिशत माग रहेको अध्ययनले देखाएको छ । अधिकांश गर्भवती महिलाले गर्भावस्थामा र सुत्केरी अवस्थामा आवश्यक पर्ने सेवा प्राप्त गर्न सकेका छैनन् । 

परिवार नियोजनका आवश्यक सेवा पूरा गर्ने हो भने अनिच्छित गर्भधारण ८७ प्रतिशतले वा चार लाख ६९ ले घट्नेछ र सोही अनुपातमा अनियोजित गर्भपतन र आफैँ खेर जाने गर्भ पनि घट्ने अध्ययनको निष्कर्ष छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १५:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया