भारतीय टी–२० टिमका कप्तान सूर्यकुमार यादवलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अब राजनीतिक टिप्पणी नगर्न निर्देशन दिएको छ ।
दुबईस्थित आइसिसी मुख्यालयमा भएको सुनुवाइपछि म्याच रेफ्री रिची रिचर्डसनले सूर्यकुमारलाई यस्तो चेतावनी दिएका हुन् । यद्यपि उनलाई थप कुनै कारबाही हुने वा नहुने भन्नेबारे स्पष्ट गरिएको छैन ।
सूर्यकुमारविरुद्ध पाकिस्तान क्रिकेट टोली व्यवस्थापनले उजुरी दिएपछि आइसिसीले सुनुवाइ गरेको हो ।
घटना यही १४ सेप्टेम्बरमा भएको थियो, जहाँ एसिया कपको समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसपछि सूर्यकुमारले उक्त जित ‘पहलगाम आतंककारी हमलाका पीडित परिवारलाई समर्पित’ भन्दै अभिव्यक्ति दिएका थिए ।
त्यसपछि पाकिस्तानले उनको अभिव्यक्तिलाई राजनीतिक भन्दै आइसिसीमा गुनासो गरेको थियो । यस्तै, भारतले सुपर फोर चरणमा ब्याटर साहिबजादा फरहान र हरिस रौफको हाउभाउबारे आइसिसीमा उजुरी दिएको छ ।
सो खेल तनावपूर्ण बनेको थियो, जहाँ खेलाडीबीच भनाभनसमेत भएको थियो । जारी एसिया कपमा भारत र पाकिस्तानबीच फेरि प्रतिस्पर्धा हुनेछ । यी दुई टिमबीचको फाइनल खेल आइतबार हुने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।