१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

दसैँका लागि उपत्यकामा ५० हजार खसीबोका ल्याइयो, कस्तो छ व्यापार ?
स्वस्थ खसीबोका छनोट गर्न पशु चिकित्सकको सुझाव

नेपालीको महान् पर्व दसैँ सुरु भइसकेको छ । दसैँ भनेकै एक हिसाबले मासुको पर्व पनि हो । अधिकांश परिकार मासुकै हुन्छ । वर्षभरमा सबैभन्दा धेरै मासुको खपत यही बेला हुन्छ ।


प्रायले दसैँमा मार हान्ने, मठ मन्दिरमा बली दिने, बजारबाट समेत मासु किनेर उपभोग गर्छन् । दसैँमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० दोब्बरको हाराहारीमा मासुको उपभोग हुने पशु सेवा विभागको भनाइ छ । 



सोही कुरालाई मध्यनजर गर्दै सरकार र व्यापारीले दसैँका लागि भनेर काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण सुरु गरिसकेका छन् । पशु सेवा विभागका अनुसार गत वर्षको दसैँमा ५५ देखि ६० हजार खसीबोका काठमाडौं उपत्यकामा खपत भएका थिए । यस पटकको दसैँमा ५० देखि ५५ हजारमात्र खपत हुने अनुमान छ ।



हरेक वर्ष दसैँलाई लक्षित गरेर ५० देखि ५५ हजारसम्म खसीबोका उपत्यका भित्र्याइने गरेको छ । दसैँलाई लक्षित गरेर सोमबार (घटस्थापना) देखि व्यवसायीले उपत्यकामा खसीबोका भित्र्याएका छन् । उपत्यकाका लागि मकवानपुर, चितवन र विभिन्न पहाडी जिल्लाबाट खसीबोका आयात गरिन्छ । त्यस्तै, भेडा च्याङ्ग्रा भने तिब्बतलगायत हिमाली भेगबाट आयात गरिन्छ । 

यस वर्ष पनि घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएका व्यापारी सौगात श्रेष्ठका अनुसार यसपटक करिब पाँच सय च्याङ्ग्रा ल्याइएको छ भने अझै तीन–चार सय ल्याउने तयारी भइरहेको बताउँछन् ।

‘हामीले घटस्थापनाको दुई दिन अघिदेखि नै व्यापार सुरु गरेका हौँ,’ उनी भन्छन्, ‘ग्राहक भने फूलपातीतिरै बढ्छन् । अहिले फाट्टफुट्ट मात्र बिक्री भइरहेको छ ।’ श्रेष्ठले ल्याएको च्याङ्ग्राको खुद्रा मूल्य प्रतिकिलो १ हजार २५० तोकिएको छ । गतवर्ष १ हजार ३५० सम्ममा बिक्री भएको भए पनि यसपटक मूल्य केही घटेको उनले बताए । ‘लगानी अहिलेसम्मै दुई करोड पुगेको छ । अझै थपिँदै जाँदा तीन–चार करोड पुग्छ होला,’ उनी भन्छन् । 

नेपाल माछामासुमा लगभग आत्मनिर्भर छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार वार्षिक दूध उत्पादन २६ लाख ८३ हजार मेट्रिक टन, मासुको उत्पादन ४ लाख ४७ हजार मेट्रिक टन, माछा १२३ हजार मेट्रिक टन र अण्डा १६४ करोड ५४ लाख उत्पादन भइरहेको छ । अघिल्लो वर्षको तुलनामा दूधमा २.७ प्रतिशत, मासुमा ४.१ प्रतिशत, माछामा ८.५ प्रतिशत र अण्डामा २.४ प्रतिशतले वृद्धि भइरहेको छ । यसरी हेर्ला नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको छ भने दूध र माछा उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको छ ।



पछिल्लो समय स्वदेशमा बाख्रा उत्पादन बढ्दै गएकाले खसीबोका आपूर्तिमा समस्या हुँदैन । यो वर्ष देशभर १ करोड ५१ लाख बाख्राको संख्या छ । गत वर्ष १ करोड ४५ लाख थियो । कुल सङ्ख्याको ३६ प्रतिशत अर्थात् ५४ लाख मासुमा खपत हुने गरेको छ । यो वर्ष दसैँमा देशभर ३० लाख खसीबोका खपत हुने अनुमान रहेको छ । काठमाडौं उपत्यकामा वार्षिक ५ लाख खसीबोका खपत हुन्छ । पछिल्लो समय कृषकले उन्नत जातका बाख्रापालन गर्न थालेको हुँदा मागअनुसार स्वदेशमै पर्याप्त छ । 

हरेक वर्ष दसैँतिहारमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको थियो । तर यस वर्ष मुख्य सडक खण्डहरू अवरुद्ध हुनु र देशमा देखिएको राजनीतिक अस्थिरता (जेनजी आन्दोलन) कारण देखाउँदै कम्पनीले विक्री नगर्ने निर्णय गरेको छ । 

यसअघि कम्पनीले दसैँका लागि करिब ४ करोड ७७ लाख रुपैयाँ बराबरका १ हजार ३ सय बढी खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको थियो । सरकारी कम्पनीले नल्याउने भएसँगै दसैँ बजारमा खसीबोका आपूर्तिको दबाब निजी क्षेत्रमा थपिएको छ । त्यसैले नयाँ नयाँ व्यवसायी पनि यो व्यवसायमा होमिएका छन् । धादिङबाट खसी ल्याएर व्यापार सुरु गरेका युवराज कार्की पहिलो पटक व्यवसायमा होमिएका हुन् । उनले खसीबोका बिक्री गरिरहँदा समस्या धेरै रहेको बताउँछन् ।

उनले हालसम्म २२ वटा खसी बिक्री गरिसकेका छन् । कार्कीका अनुसार गाउँमा किसानसँग प्रतिकिलो ५६० मा किनिएको खसी काठमाडौं आइपुग्दा तौल घट्ने भएकाले घाटा बेहोर्नुपरेको छ ।

‘यहाँ ७५० मा बिक्री गर्ने गर्छौँ तर पहिलो पटक भएकाले खासै फाइदा भएको छैन,’ उनले भने । साथै, सिर्जनानगरमा कर तिर्नुपर्ने भएपनि नगरपालिका पक्षबाट आधारभूत सुविधा नपाएको गुनासोसमेत उनले सुनाए । ‘न त खोरको व्यवस्था छ, न त शौचालय । बाहिरबाट पशु ल्याउँदा गाडी भाडा पनि महँगो पर्छ,’ कार्कीको भनाइ छ ।

दसैँमा अधिकांशले आफ्नै घरमा ल्याएर खसीबोका काट्ने चलन छ । तर, स्वस्थ खसीबोकाको पहिचान गर्न नसक्दा यसबाट विभिन्न रोग लाग्न सक्ने खतरा हुन्छ । दसैँमा खसीबोका किन्दा एकदमै ख्याल गर्नुपर्छ । विशेषगरी काठमाडौं उपत्यकामा धेरै टाढा–टाढा ल्याइएको हुन्छ ।

पशु चिकित्सकका अनुसार झोक्राएर बसेका, रसिला आँखा भएका, नाकबाट सिँगान बगेका र मुखबाट र्‍याल चुहाइरहेको चौपाया खरिद गर्नुहुँदैन । सिँगान नबगेका, र्‍याल नचुहिएका, आँखाबाट कचेरा ननिस्किएका, खुट्टाहरू नसुन्निएका र भुँडी नढाडिएको खसीबोका स्वस्थ हुन्छन् ।  

  • प्रकाशित मिति : १० असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया