जेनजी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भयो । अड्डा अदालतदेखि पार्टीका शीर्ष नेताका घर बाँकी रहेनन् । कति नेताले त भौतिक आक्रमणको सामना गर्नुपर्यो ।
यो संकटकाबीच बनेको अन्तरिम सरकारले आगामी २१ फागुनका लागि प्रतिनिधिसभा चुनावको मिति तय गरिसकेको छ । संसद् विघटनलाई संविधानविपरीत भन्दै आएका शीर्ष दलहरू निर्वाचनमा जान भने लगभग तयार देखिएका छन् । पार्टीहरूले आधिकारिक निर्णय नगरिसके पनि नेताहरूले निर्धारित समयभित्रै स्वच्छ वातावरणमा निर्वाचन हुनुपर्ने अभिव्यक्ति दिन थालिसकेका हुन् ।
वर्षौदेखि पार्टी र सरकारको कार्यकारी बन्दै आएका केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताबाट देशले उन्नती गर्न नसकेको भन्दै सिंगो एक पुस्ता सडकमा ओर्लिएको हो । जेनजी पुस्ताको यो विद्रोहपछि ‘दल सक्किने कि सच्चिने ?’ भन्ने बहस पनि भइरहेकै छन् । ठूला दलहरूभित्र नै अहिलेको नेतृत्वको विकल्पबारे दुई धार देखिन थालिसकेका पनि छन् ।
गत निर्वाचनमा संसदकै ठूलो दल रहेको नेपाली कांग्रेस अब भने पार्टी पुनर्गठनसहित चुनावमा जानुपर्ने मतसहित महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माहरूले विशेष महाधिवेशन हुनुपर्ने बताइरहेका छन् । सभापति देउवानिकट नेता भने यसलाई पार्टी विभाजन गर्ने र पार्टीभित्रै घात गर्ने खेल भइरहेको व्याख्या गरिरहेका छन् ।
जेनजी आन्दोलन अघि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र पनि कांग्रेसको जस्तै किचलो देखिएको छ । एकपक्षले एमालेमा पार्टी नेतृत्व अर्थात् ओलीको विकल्प खोज्नुपर्ने बताइरहेको छ भने अर्को पक्षले नेतृत्वलाई धकेलेर आफू नेता बन्नको लागि सुरु गरिएको गम्भीर षडयन्त्रको खेल भइरहेको टिप्पणी गरिरहेको हो ।
खासगरी अहिले ओली निकट देखिएका नेता महेश बस्नेत, सूर्य थापाहरूले नेतृत्वको बचाउ गरिरहँदा योगेश भट्टराई, गोकर्ण विष्टलगायतले एमाले पुनर्गठन अपरिहार्य भनिरहेका हुन् । एमालेका यी नेताहरूले पछिल्लोपटक त सामाजिक सञ्जालमै रोइलो मच्चाइरहेका छन् ।

एमाले सचिवसमेत रहेका योगेश भट्टराईले पार्टी पुनर्गठन गर्नैपर्ने र अहिलेसम्मका कमजोरीलाई स्वीकार्नैपर्ने बताएका छन् । उनले एमाले पुनर्गठनको अपिल नै गरिसकेका छन् । भट्टराईले यत्ति भनिसक्दा ओलीलाई एमाले राजनीतिको ‘बा’ मानिरहेका महेश बस्नेतलाई सायद निद्रा लागेको छैन । भट्टराईको यो अपिल आएको भोलिपल्ट अर्थात् शुक्रबार उनले सामाजिक सञ्जाल मार्फत कडा जवाफ फर्काएका छन् ।
‘योगेश कमरेडको नेतृत्वको अपमान होइन नेतृत्वलाई सम्मान दिँदै पार्टीलाई संरचनात्मकरूपले पुनर्गठित गर्ने आह्वान र त्यसलाई साथ दिएर केही साथीहरूले सुरु गरेको सोसल मिडिया क्याम्पेन संकट र अप्ठ्यारोको बेलामा पार्टीको नेतृत्वलाई धकेलेर आफू नेता बन्नको लागि सुरु गरिएको गम्भीर षड्यन्त्रको खेल नहोला भन्न सकिँदैन,’ बस्नेतले शंका व्यक्त गरेका छन् ।
उनले नेतृत्व र कार्यकर्ता दुवैको आवाज सुनेर आन्दोलनका तालमेल र डिजिटल जेनेरेसनका भावनालाई समेटेर ओलीको मार्गदर्शनमा एमाले निर्माण गर्नुपर्ने पनि बताएका छन् । एमालेकै अर्का नेता सूर्य थापाले त उनकै शब्दमा ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगर्न’ चेतावनी नै दिएका छन् ।
जेनजी आन्दोलनले नेपाली राजनीतिमा ‘महाभूकम्प’ ल्याइदिए पनि दल र तिनका नेताहरू अझै आ–आफ्नै गुटगत स्वार्थ र नेतृत्वको दाउपेचमा अल्झिरहेका छन् । देश संकटको भुमरीमा पुर्याइसक्दा पनि उनीहरूले आत्मालोचना वा नयाँ बाटोको खोजीभन्दा कुर्सी र पदको लोभ छाड्न सकेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।