नेपाल क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्धको टी–२० शृंखलामा उत्कृष्ट प्रदर्शन गरेर जित निकाल्ने उद्देश्य रहेको बताएका छन् ।
शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले पछिल्लो समय टोलीको प्रदर्शन सकारात्मक भएको बताउँदै शृंखलामा पनि त्यसलाई जारी राख्ने योजना रहेको बताएका हुन् ।
रोहितले भने, ‘यदि हामी सबैले आफ्नो उत्कृष्ट क्रिकेट खेल्यौँ भने जित सम्भव छ । हाम्रो टिममा सबैजना सकारात्मक छन् र मनोबल उच्च छ । यही उत्साह र समर्पणले हामीलाई शृंखला जित्न सक्षम बनाउनेछ ।’
उनले यो शृंखला नेपालमा घरेलु शृंखला भए पनि टोलीले वास्तविक घरेलु मैदानमा खेलेको अनुभव नभएकाले केही फरक अनुभव हुने पनि बताए । ‘हामी यहाँ केही दिन अभ्यास गर्दै यथासम्भव स्थानीय परिस्थितिमा अभ्यस्त भयौँ । मैदानको स्थितिअनुसार खेल्ने रणनीति तयार पार्दैछौँ,’ रोहितले भने ।
त्यस्तै, उनले यो शृंखलाले नेपाल क्रिकेटलाई विश्व क्रिकेटमा राम्रो छाप छोड्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । रोहितले वेस्ट इन्डिज क्रिकेटलाई शृंखलामा सहभागी हुन दिएको अवसरका लागि धन्यवाद व्यक्त गर्दै खेलाडीको उत्साह र अनुभवले नेपाली क्रिकेटलाई आगामी चुनौतीका लागि थप बलियो बनाउने उल्लेख गरे ।
वेस्ट इण्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलामा खेल्ने अवसर पाउँदा खुसी व्यक्त गर्दै खेलका लागि उत्साहित रहेको बताए । ‘हाम्रो टिममा धेरै युवा खेलाडीहरू छन् । र, सबैजना खेलका लागि तयार छन् । पेपरमा को कस्तो देखिन्छ भन्ने कुराले त्यति फरक पार्दैन, जसले मैदानमा राम्रो प्रदर्शन गर्छ, उसैले जित्छ,’ उनले भने ।
नेपाल र वेस्ट इण्डिजबीचको पहिलो टी–२० आई शनिबार राति ८ः१५ देखि यूएईको शारजाह क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । यी दुई टिम पहिलोपटक टी–२० सिरिज खेलिरहेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।