१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

बक्स अफिसमा त्रिपक्षीय प्रतिस्पर्धा
‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’, मध्ये कसले मार्ला बाजी ?

केही वर्षयता नेपालमा फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त समय दसैँलाई मानिन थालिएको छ । त्यसको कारण हो– लामो बिदा । 


करिब एक साता बिदा हुने भएकाले फिल्म स्तरीय नभए पनि दर्शक हलमा ओइरिन्छन् भन्ने विश्वासमा निर्माताबीच दसैँंमा फिल्म लगाउन हानाथाप नै चल्छ । गत वर्षको दसैँमा एकसाथ तीन फिल्म प्रदर्शन भएका थिए । यसपालिको दसैँको फूलपातीमा पनि त्रिपक्षीय भिडन्त हुँदै छ । यसपालि दसैँलाई लक्षित गर्दै १३ असोज फूलपातीको दिन ‘बलिदान’, ‘हरि बहादुरको जुत्ता’ र ‘माइतीघर’ प्रदर्शनमा आउन लागेका हुन् । 



फूलपातीका दिन प्रदर्शन हुने यी तीन फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो रहेकाले बक्स अफिसमा चर्को प्रतिस्पर्धा हुने आकलन गरिएको छ । निर्माता र कलाकार दसैँमा आम्दानीको उच्च सम्भावनालाई मध्यनजर गर्दै प्रचार–प्रसारमा व्यस्त देखिएका छन् ।

अघिल्ला दिनमा पालो प्रणालीमा फिल्म रिलिज हुने चलन रहे पनि पछिल्लो समय ठूला ब्यानरका निर्माता निर्देशकले दसैँ रिलिजलाई आफ्नो पेवा बनाउने गरेका छन्। 



जसरी भारतको फिल्म उद्योगले इद, दीपावली जस्ता चाडपर्वहरूलाई लक्षित गरी ठूला बजेटका चलचित्र प्रदर्शन गर्ने परम्परा बसालिरहेको छ, त्यसैगरी नेपाली फिल्म उद्योगमा पनि दसैँलाई केन्द्रित गर्दै चलचित्र प्रदर्शनमा होडबाजी नै चल्छ । 

नेपाली चलचित्रकर्मीको बुझाइमा वर्षभर दर्शक सङ्ख्यामा उतारचढाव देखिए पनि दसैँको समयमा भने दर्शकको उपस्थिति दोब्बर हुने गरेको छ । यही कारणले दसैँ–तिहार र नयाँ वर्षलाई ‘गोल्डेन टाइम’ मानिन्छ, जसअनुसार फिल्म रिलिजका लागि यी चाडपर्वलाई प्राथमिकता दिइन्छ ।

दसैँमा आउने फिल्महरूले दर्शकको मन जित्न सफल भएका काराण् पनि यो प्रवृत्ति अझै बलियो बन्दै गएको छ । प्रत्येक वर्ष दसैँंमा रिलिज हुने दीपक–दीपाको फिल्म छक्का पञ्जा भने यो वर्षपछि सरेको छ । गत वर्ष दसैँमा विराज भट्टको ‘१२ गाउँले’ले उत्कृष्ट व्यापार गर्दै चर्चा बटुलेको थियो, जसमा उनका छोरा समीरले डेब्यू गरे । यस वर्ष उनै समीर भट्टलाई लिएर निर्माता सन्तोष सेन ‘बलिदान’ मार्फत बजारमा आउन लागेका छन् ।

त्यस्तै, निर्देशक दीपेन्द्रकुमार खनाल हरिवंश आचार्यसहित  ‘हरिबहादुरको जुत्ता’मा लागिपरेका छन् । अर्का निर्माता रोहित अधिकारी धिरज मगर, केदार घिमिरे, प्रकाश सपूत, उपासना सिंह ठकुरीलगायत कलाकारहरूको बलियो टिमसहित फिल्म ‘माइतीघर’मा जुटिरहेका छन् । भदौ ३० गते मात्रै फूलपातीलाई प्रदर्शन मिति तोकेको ‘अभिमन्यु’  भने असोज २४ मा पुगेको छ । 



पछिल्लो वर्षको सफल व्यापारिक आँकडाले पनि यसपटक भिडन्तको हौसला दिएको देखिन्छ । गत वर्ष फूलपातीमा एकसाथ रिलिज भएका ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’ले उल्लेख्य व्यापार गरे । ‘१२ गाउँ’ले २० करोड,    ‘छक्का पञ्जा ५’ ले १५ करोडभन्दा बढी कमाई गरे । यस्तै, ‘ज्वाइँ साप’ ले पनि सन्तोषजनक व्यापार ग¥यो । यद्यपि, कन्टेन्ट बलियो भए दसैँ नपर्खिकन पनि नेपाली फिल्मले सफलता पाउन सक्छ भन्ने उदाहरण पनि प्रशस्त छन् ।

बर्लिन फिल्म महोत्सवको मुख्य विधामा छनोट भएको ‘साम्बाला’ र टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर भएको ‘गाउँ आएको बाटो’ यस्तै उदाहरण हुन् । विशेषतः ‘गाउँ आएको बाटो’ ले महोत्सव फिल्म हो भनेर हलमा नचल्ने भन्ने भ्रान्ति तोड्दै घरेलु बजारबाटै ४ करोड १९ लाख रुपैयाँको कमाई गर्न सफल भयो । यसरी हेर्दा नेपाली फिल्म बजारमा दसैँ सिजनले व्यापारिक सम्भावनाको ढोका खोलिदिँदा निर्माताहरूका लागि यो एक अवसर मात्र नभई प्रतिस्पर्धात्मक र जोखिमपूर्ण समय पनि बनेको देखिन्छ । 

  • प्रकाशित मिति : ११ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया