१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

वेस्ट इण्डिजविरुद्धको पहिलो खेलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ-११

नेपाल र वेस्ट इण्डिजबीचको ऐतिहासिक टी–२० आई सिरिज शनिबारदेखि सुरु हुँदैछ । श्रृंखलाको पहिलो खेल शनिबार राति ८ः१५ देखि सुरु हुनेछ । नेपाल र वेस्ट इण्डिज पहिलोपटक द्विपक्षीय सिरिज खेल्न लागेका हुन् ।


वेस्ट इण्डिज ‘ए’ सँग भने नेपालले यसअघि नै पाँच खेलको टी–२० सिरिज खेलिसकेको छ । गत वर्ष टियू मैदानमा भएको उक्त पाँच सिरिज वेस्ट इण्डिज ‘ए’ ले ३–२ ले जितेको थियो । त्यो सिरिज खेलेका केही खेलाडी यसपालि पनि वेस्ट इण्डिजको टिममा रहेका छन् । 



नेपाली टिम शनिबार वेस्ट इण्डिजविरुद्धको पहिलो टी–२० आई जितेर इतिहास रच्न चाहन्छ । नेपालले हालसम्म कुनै पनि टेस्ट राष्ट्रलाई हराउन सकेको छैन । त्यसैले शनिबार नेपाललाई थुप्रै इतिहास रच्ने मौका छ । वेस्ट इण्डिजविरुद्ध नेपालले एकदिवसीय म्याच भने खेलिसकेको छ । नेपालले क्यारेबियन टिमविरुद्ध सन् २०२३ को विश्वकप छनोटमा ओडिआई म्याच खेलेको थियो, जहाँ नेपाल १०१ रनले पराजित भयो । बलिङका उत्कृष्ट सुरुवातका बाबजुद नेपालले त्यस खेलमा फराकिलो हार बेहोरेको हो । नेपाली टिम शनिबार उक्त हारको बदला लिँदै सुधारिएको प्रदर्शन गर्ने रणनीतिमा छ । त्यसका लागि मुख्य प्रशिक्षक स्टुअर्ट लले बलियो प्लेइङलाई मैदान उतार्ने सम्भावना छ । 

वेस्ट इण्डिजविरुद्धको पहिलो खेलमा ओपनिङ ब्याटरको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखले नै पाउने सम्भावना बलियो छ । यदि उनीहरूले राम्रो सुरुवात दिलाउन सके नेपालले खेल जित्ने सम्भावना बलियो हुनेछ । किनकी कुशल र आसिफ चलेको प्रायः म्याच नेपालले जितेको विगत छ । आसिफले सन् २०२३ को विश्वकप छनोटमा वेस्ट इण्डिजविरुद्ध राम्रो लय देखाएका थिए, त्यस खेलमा उनले ३६ बलमा तीन चौकाको सहयोगमा २८ रन जोडे । उक्त म्याचमा कुशल भने ५ रनमै बोल्ड भए । उनीहरूलाई यसपालि टी–२० आई सिरिजमा वेस्ट इण्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अवसर छ । 



यस्तै, पहिलो खेलमा तेस्रो नम्बरमा सन्दीप जोराले मौका पाउन सक्छन् । उनी पछिल्लो समय राम्रो लयमा छन् । तेस्रो नम्बरमा खेल्दै जोराले गत भदौमा सम्पन्न भारत भ्रमणमा पाँच खेलमा १५१.२२ को उत्कृष्ट स्ट्राइक रेटमा सर्वाधिक १ सय ८६ रन बनाए, त्यसक्रममा उनले दुई अर्धशतकीय पारी खेले । नेपाललाई श्रृंखला जिताउन ‘नायक’ साबित भएका सन्दीप ‘प्लेयर अफ द सिरिज’ चुनिए ।

वेस्ट इण्डिजविरुद्धको पहिलो टी–२० आईमा चौथो नम्बरमा कप्तान रोहितकुमार पौडेल, पाँचौंमा दीपेन्द्र सिंह ऐरी, छैटौँमा गुलशन झा, सातौंमा कुशल मल्ल र लोकेश बममध्ये एक, आठौँमा मोहम्मद आदिल आलम, नवौँमा सोमपाल कामी, दसौँमा करण केसी र नन्दन यादवमध्ये एक तथा ११औँ स्थानमा सन्दीप लामिछानेले मौका पाउन सक्छन् । 



  • प्रकाशित मिति : ११ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया