मालश्री धुनसँगै दसैंको आगमनमा गीत संगीतले पनि बेग्लै रौनक थप्छ । हरेक वर्ष दसैंलाई लक्षित गर्दै धेरै नयाँ गीतहरू सार्वजनिक हुने गरेका छन् । तीमध्ये एकाध गीतले मात्र चर्चा पाउने गर्छन्, त्यो पनि सीमित समयका लागि मात्रै । दसैं सकिएसँगै ती गीतहरूको लोकप्रियता पनि हराउँदै जान्छ ।
पछिल्ला केही वर्षयता हेर्ने हो भने कुनै पनि नयाँ दसैं गीतले दीर्घकालीन प्रभाव पार्न सकेको देखिँदैन । बरु वर्षौं पहिले रेकर्ड गरिएका गीतहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रिय बनेका छन् । केही दसैं गीतहरू यति लोकप्रिय छन् कि ती गीतहरू नै दसैंको पर्यायजस्तै भइसकेका छन् ।
पहिलेको समयलाई फर्केर हेर्ने हो भने, त्यतिबेला धेरै नेपाली चलचित्र र संगीत क्षेत्रमा दसैंको माहोल, पारिवारिक मिलन, चाडपर्वको उल्लास, र सामाजिक सन्देश झल्काउने गीतहरू समावेश गरिन्थ्यो ।
ती गीतहरूले न केवल मनोरञ्जन प्रदान गर्थे, दशैंको सांस्कृतिक महत्व र सामाजिक सन्दर्भलाई पनि उजागर गर्थे । ती गीतहरूमा परदेशी जीवनको पीडा, माया प्रेम, परिवारप्रतिको माया, र चाडपर्वमा हुने भावनात्मक संलग्नता जस्ता पक्षहरू समेटिएका छन् । यस्ता गीतहरू दसैंको सांगीतिक आत्मा झैँ बनेका छन्, जसलाई सुनेर आज पनि हामी उस्तै भावनात्मक तरङ्गमा बहन्छौँ ।
१. ‘दसैं आयो...’
दसैंको बारेमा गाइएको सबैभन्दा लोकप्रिय गीत हो, ‘दसैं आयो..’ । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’मा समावेश यो गीतमा परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गरिएको छ । दिलीप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा यो गीतमा देखिएका छन् ।
२. ‘नमुछे आमा दहीमा टीका ...’
साहै्र मार्मिक गीत । यो गीतलाई जित्ने गीत सायदै होला । ‘नमुछे आमा दहीमा टीका ...’ दसैं आउने बित्तिकै धेरैले सम्झिने कालजयी गीत सुन्दा जो कोहीको आँखा आँसुले भरिन्छ । विशेष गरेर विदेशमा रहेका नेपाली नागरिक जो विभिन्न कारणले दसैंमा घर आउँन पाउँदैनन् उनीहरुले यो गीतलाई सुनेर आफ्नो मनको वह पोख्ने गरेका छन् ।
यस गीतको शब्द वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले लेखेका हुन् । नेपाली युवाहरुको परदेशीनु पर्ने बाध्यतालाई यस गीतमा समेटिएको छ ।
नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराएको यो गीत २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलिएको हो ।
३.‘यसपालि त यस्तै भो आमा ...’
यो गीत दसैंको अर्को कालजयी गीत हो । जनगायक जीवन शर्माले स्वर भरेको ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दसैंमा’ बोलको गीतले विदेश गएका छोराछोरीको पीडा बताएको छ । यस गीतमा दसैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको विरह पोखिएको छ ।
४. ‘फौजीको दसैं......’
यो गीत पनि दसैंको कालजयी गीत हो । ‘फौजीलाई कुन हो दसैंं कुन हो चाड तिहार ...’ बोलको गीत फौजीमा रहेका नेपालीको दसैंतिहारको सन्दर्भलाई समेटेर तयार गरिएको हो । यो गीत दसैंतिहारमा निकै बज्ने गर्दछ । यो गीतले ५ वर्षदेखि दसैं तिहारमा रेडियो टेलिभिजनमा स्थान पाउँदै आएको छ ।
५. ‘रातो टीका निधारमा टलक्क टल्कियो...’
दसैं आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’को गीत हो । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ ।
६. ‘लै बरी लै लै...’
दुई दशक अगाडिकोे यो गीतमा दसैंको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरु घिमिरे निर्देशित सुपरहिट फिल्म ‘लहना’मा समावेश गीत हो यो ।
दसैं आएको सता सिंह र अभिनेता उत्तम प्रधान फिचर्ड छन् । गीतको शब्द तुलसी घिमिरेले लेखेका हुन् भने संगीत सचिन सिंहको छ । गीतमा थुप्तेन भूटिया र दीपा झाको स्वर छ ।
नेपाली चाडपर्वमा कालजयी बनेका यी गीतहरू नगुञ्जिएसम्म आम नेपालीले चाडपर्वमा खल्लो महसुस गर्ने गरेका छन् । केही समयअघिसम्म सीमित व्यक्तिका घर आगनमा गुञ्जिने यी सर्वाधिक रुचाइएका गीतहरू पछिल्लो समय धेरै नेपाली नागरिकको पहुँचमा मोबाइल र इन्टरनेटको सुविधा पुगेसँगै गीतहरूले थप चर्चा परिचर्चा पाउँदै आएका छन् ।
दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर बनेका नयाँ गीत भावना, संस्कार, संस्कृति र मौलिकतालाई भन्दा पनि युटुबमा पाइने भ्यूजलाई केन्द्रमा राखेर बन्ने गरेकाले ती गीतहरूले केही समय भ्यूज कमाए पनि कालजयी बन्न भने सकेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।