जंगली च्याउ खाँदा ६ जनाको ज्यान गयो

पाल्पा– जिल्लाको निस्दी गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जनाको ज्यान गएको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । 

जंगली विषालु च्याउ खाएकामध्ये निस्दी– ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चारवर्षीय विष्णुसिं ठकुुरी, सातवर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको संघीय सांसद दलबहादुर रानाले जानकारी दिए । 

बिरामीमध्ये  निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी, विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंका विभिन्न अस्पतालमा निधन भएको हो । नजिकैको जंगलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए । 

रामीलाई नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता गरेका छन्  ।  अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंहको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ७० किमी पूर्व सार्कीडाडाँका विकटका चार परिवारका सदस्य बिरामी परेका हुन् । प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए । 



बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यावस्था सन्दर्भमा कावा प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले बताए । 

आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्न पहल गरिएको जानकारी दिए । 



उनले पटक–पटक पाल्पाका विकट भेगमा च्याउ खाएकै कारण ज्यान जाने खतरा यसअघि पनि भएकाले च्याउ खाँदा सचेत रहन आग्रह गरेका छन् । 

  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १८:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया