यूएईमा जारी १७औँ संस्करणको एसिया कप क्रिकेटको फाइनल यसपटक थप विशेष हुनेछ । किनकी यसपालि क्रिकेटका दुई कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान उपाधिका लागि भिड्ने छन् ।
सुपर फोर चरणको शीर्ष दुईमा स्थान बनाएपछि भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको हो । ४१ वर्षको एसिया कपको इतिहासमा यी दुई टिम पहिलोपटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

योसँगै भारत र पाकिस्तान एकै संस्करणको प्रतियोगितामा तीनपटक भिड्ने छन् । यी दुई टिमले जारी एसिया कपको समूह चरण र सुपर फोरमा पनि एकअर्काको सामना गरेका थिए । भारत र पाकिस्तानबीचको फाइनल आइतबार राति ८ः१५ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी एसिया कपको फाइनलसम्म पुग्दा भारत अपराजित छ । उसले समूह चरणमा यूएईलाई ९ विकेट, पाकिस्तानलाई ७ विकेट तथा ओमानलाई २१ रनले हरायो । यस्तै, भारतले सुपर फोरमा पाकिस्तान, बंगलादेश र श्रीलंकाविरुद्ध पनि सहज जित निकाल्यो । ऊ अब फाइनलमा पनि सानदार प्रदर्शन गरेर नवौँपटक एसिया कपको उपाधि जित्ने लक्ष्यमा छ ।
भारतका लागि ब्याटिङमा अभिषेक शर्मा र बलिङमा कुलदीप यादव उत्कृष्ट लयमा छन् । अभिषेकले ६ खेलमा २०४.६३ को सानदार स्ट्राइक रेटमा सर्वाधिक ३ सय ०९ रन बनाएका छन्, त्यसक्रममा अभिषेकले तीन अर्धशतकीय पारी खेलेका छन् ।

उनले ती दुई अर्धशतकीय पारी पाकिस्तान, बंगलादेश र श्रीलंकाविरुद्ध खेलेका हुन् । यस्तै, बलिङतर्फ सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा स्पिनर कुलदीप यादव रहेका छन् । उनले ६ खेलमा ६.०४ को इकोनमीमा सर्वाधिक १३ विकेट लिएका छन् ।
कुलदीप पछिल्लो ६ खेलमा लगातार विकेट लिन सफल भएका छन् । उता पाकिस्तानको टिममा बलिङमा फास्ट बलरद्वय शाहिन साह अफ्रिदी र हरिस रौफ तथा ब्याटिङमा साहिबजादा फरहान उच्च लयमा छन् ।
अफ्रिदी र रौफले समान ९ विकेट लिएका छन् । उनीहरूमध्ये हरिसले यो उपलब्धि चार खेलमा हासिल गरेका हुन् । अफ्रिदीले भने ९ विकेट लिन ६ म्याच खेले । उनले बलिङका साथै ब्याटिङमार्फत पनि टिमलाई योगदान दिइरहेका छन् । यस्तै, हरिसले पछिल्लो चार खेलमा लगातार विकेट लिएका छन् ।

ब्याटिङमा ओपनर साहिबजादा फरहानले ६ खेलमा एक अर्धशतकको सहयोगमा १६० रन बनाएका छन् । उनले समूह चरण र सुपर फोरमा भारतविरुद्ध राम्रो ब्याटिङ गरेका थिए । विशेषगरी फरहानले भारतीय स्टार बलर जसप्रित बुहराहविरुद्ध आक्रामक ब्याटिङ गरे ।
हालसम्म भारतले आठपटक तथा पाकिस्तानले दुईपटक एसिया कपको उपाधि जितेको छ । भारत सन् १९८४, १९८८, १९९०, १९९५, २०१०, २०१६, २०१८ तथा २०२३ को एसिया कप च्याम्पियन टोली हो ।
यस्तै, पाकिस्तानले सन् २००० र २०१२ को एसिया कप जितेको थियो । अहिलेसम्म भारत र पाकिस्तानले टी–२० आईमा १५ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले १३ तथा पाकिस्तानले तीन खेल जितेको विगत छ ।

यसपालि भारतीय टिम पाकिस्तानविरुद्धको दबदबा कायम राख्दै उपाधि जित्ने योजनामा छ । उसका कप्तान सूर्यकुमार यादवले त पाकिस्तानलाई भारतको कडा प्रतिस्पर्धी टोली नै ठानेका छैनन् ।
उनले हालै पाकिस्तानसँगको खेल जितेपछि भनेका थिए, ‘मेरो विचारमा यदि दुई टोलीले १५–२० खेल खेले र हेड–टु–हेड ७–७ वा ८–७ भयो भने, त्यसलाई प्रतिस्पर्धा भनिन्छ । तर १३–०, १०–१ मलाई तथ्याङ्क थाहा छैन । यो अब प्रतिस्पर्धा होइन ।’
उता पाकिस्तानी टिम फाइनलमा भारतलाई स्तब्ध पार्दै तेस्रोपटक उपाधि जित्न लक्ष्यमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।