तमिल अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये १६ महिला, ९ पुरुष र ६ बालबालिका रहेको तमिलनाडुका स्वास्थ्यमन्त्री सुब्रमणियनले पुष्टि गरेका छन् ।
शनिबार तमिलनाडुको करूर जिल्लामा विजय थलापति नेतृत्वको तामिलगा वेत्री काझगम (टिभिके) पार्टीले आयोजना गरेको सभामा यो दुर्घटना भएको हो। सभामा हजारौंको भीड उपस्थित भएको थियो। भीड अचानक नियन्त्रणभन्दा बाहिरिँदा अफरातफरी मच्चिएको हो ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्स का अनुसार विजय थलापति सम्बोधन गरिरहेकै समयमा खचाखच भरिएको भीडमा होहल्ला र भागदौड सुरु भएको थियो । त्यसपछि विजयले आफ्नो भाषण बीचमै रोकेका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार साँझ करिब पौने ८ बजेतिर समर्थकहरू विजयलाई नजिकैबाट हेर्न आतुर हुँदै मञ्चतर्फ धकेलिन थालेपछि अवस्था नियन्त्रण गुमेको थियो । अत्यधिक भीडका कारण धेरैलाई सास फेर्न गाह्रो भई बेहोस हुने अवस्था सिर्जना भएको बताइएको छ ।
प्रहरीले सभामा अपेक्षाभन्दा दोब्बर संख्यामा मानिसहरू उपस्थित भएको जनाएको छ । करिब ३० हजार सहभागी हुने अनुमान गरिएकोमा ६० हजारभन्दा बढी मानिस उपस्थित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
जिल्ला प्रशासनले घटनाको न्यायिक अनुसन्धान गर्ने आदेश दिएको छ । भिडियो प्रमाण र प्रत्यक्षदर्शीको बयानका आधारमा कसको लापरबाहीले यस्तो ठूलो दुर्घटना भयो भन्नेबारे निष्कर्ष निकालिने एक वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा संवेदना प्रकट गरेका छन् । गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायत अन्य शीर्ष नेताहरूले पनि यस घटनालाई ‘दुखद’ भन्दै प्रतिक्रिया जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।