यूएईमा जारी टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इण्डिजविरुद्ध १९ रनको सानदार जित निकाल्यो । शनिबार राति सम्पन्न त्यस खेलमा नेपालले अलराउन्ड प्रदर्शन गर्दै ऐतिहासिक जित निकालेको हो ।
टी–२० आईमा यो वेस्ट इण्डिजविरुद्धको पहिलो भेट थियो । यस खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ बलमा तीन चौक र एक छक्कासहित सर्वाधिक ३८ रन बनाए । यस्तै, कुशल मल्लले २१ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३० रनको महत्वपूर्ण पारी खेले । त्यस्तै, गुलशन झाले २२ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए ।
नेपाली ब्याटरले विश्वस्तरीय बलरविरुद्ध सम्हालिएर खेल्दै टिमलाई १ सय ४८ को स्कोरमा पुर्याए । विश्वका कयौं चर्चित लिग खेलिसकेका जेसन होल्डर, कायल मेयर्स, अकिल होसेन, फाबियन आलेन, ओबेद म्याक्योजस्ता स्टारले नेपालविरुद्ध खेलेका थिए । त्यसका बाबजुद नेपाली टिमले परिपक्व क्रिकेट खेल्दै वेस्ट इण्डिजलाई स्तब्ध बनायो ।
बलिङतर्फ नेपालका लागि रोहित पौडेलले दुई, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, नन्दन यादव र ललितनारायण राजवंशीले एक–एक विकेट लिए । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो ।
नेपालले बलिङमा सुरुवातदेखि नै वेस्ट इण्डिजलाई दबाब राखेको थियो । सोही दबाबका कारण क्यारेबियन टिमका दुई महत्वपूर्ण ब्याटर रनआउटको सिकार भए । साथै, हेडकोच स्टुअर्ट ल वेस्ट इण्डिजका खेलाडीको बलियो र कमजोर पक्षबारे जानकार भएकाले पनि नेपाललाई जित निकाल्न सहज भयो । वेस्ट इण्डिज टिमको मुख्ष् प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।
टी–२० आई सिरिज अर्थात् युनिटी कपको पहिलो खेलमा नेपालले केही महत्वपूर्ण कीर्तिमान बनायो । यस खेलमा नेपालले हासिल गरेको सर्वाधिक ठूलो उपब्धि हो, टेस्ट राष्ट्रविरुद्धको जित । यसअघि नेपालले कुनै पनि टेस्ट मान्यता प्राप्त टिमविरुद्ध जित निकाल्न सकेको थिएन । यसपालि भने नेपालले त्यो क्रम तोड्दै ऐतिहासिक सफलता प्राप्त गर्यो ।
यस्तै, नेपालले यस खेलमा टेस्ट टिमविरुद्धको द्विपक्षीय सिरिजमा डेब्यू गर्दै अर्को इतिहास रच्यो । नेपालले यसअघि टेस्ट राष्ट्रविरुद्ध सिरिज खेल्ने मौका पाएका थिएन । यसपालि वेस्ट इण्डिजले क्यानको प्रस्ताव स्विकार गर्दै नेपाललाई इतिहास बनाउन मद्दत पुर्यायो ।
त्यस्तै, वेस्ट इण्डिजविरुद्धको खेलमा नेपाली कप्तान रोहितकुमार पौडेलले पनि इतिहास रचे । उनी अब टेस्ट टिमविरुद्ध ‘प्लेयर अफ द म्याच’ को अवार्ड जित्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । नेपाली टिम अब सोमबार पनि खेल जितेर अर्को इतिहास रच्ने योजनामा छ । त्यो खेल जितेमा नेपालले एक म्याच अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ । यदि त्यो उपलब्धि हासिल गरेमा नेपाल पहिलोपटक टेस्ट टिमविरुद्धको द्विपक्षीय सिरिज जित्नेछ ।
वेस्ट इण्डिजविरुद्धको ऐतिहासिक जितपछि अहिले नेपाली टिमको चर्चा शिखरमा छ । अहिले कयौं विश्व स्टारले नेपाली टिमको प्रशंसा गरिरहेका छन् । श्रीलंकन टिमका पूर्वकप्तान एन्जेलो म्याथूजले भनेका छन्, ‘वेस्ट इण्डिजविरुद्ध नेपालको अद्भुत जितका लागि बधाई छ । यो साँच्चिकै सबै पक्षमा उत्कृष्ट प्रदर्शन थियो ।’ यस्तै, चर्चित कमेन्टेटर एन्ड्रयू लियोनार्डले लेखेका छन्, ‘ नेपालका लागि यो अविस्मरणीय दिन हो । देशका लागि कहिल्यै नबिर्सिने गत महिनापछि अहिले नेपालले इतिहास रचेको छ, त्यो पनि पहिलोपटक कुनै टेस्ट राष्ट्रलाई हराएर ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।