प्रिय बालेन, तिम्रो बारेमा, आजकल केके सुन्दै छु ।
प्रिय बालेन, तिम्रो बारेमा नराम्रो सुनेर मन अमिलो भइरहेछ र यो लेखिरहेछु ।
प्रिय बालेन, तिमीलाई बिगार्नेहरू सतर्क हुनु र तिमी नबिग्रनु भनेर यो लेखिरहेछु ।
प्रिय बालेन, तिमीलाई बिग्रन नदिनु मेरो र यो समाजको पनि कर्तव्य हो भनेर यो लेखिरहेछु ।
प्रिय बालेन, तिम्रो अप्रिय सुन्न नपरोस् भनेर यो लेखिरहेछु ।
प्रिय बालेन, तिमी तिमीले सोचे झैँ प्रिय, लोकप्रिय हुँदै ,सर्वप्रिय भएका छौ । हिरामा कीरा नलागोस् भनेर यो लेखिरहेछु ।
प्रिय बालेन, तिमी बहुजनको बहुत प्रिय मान्दै मनमनै मन पराउने एक मान्छे हुँ म पनि ।
तिमी एक आशा हौ । थियौ र रहनु भनेर नै मनले भनिरहेछ ।
केही दिन देखि तिम्रो अप्रिय कुरा आउन थालेपछि मेरो घरका तीन पुस्ताले समेत मलाई प्रश्न गर्दै छन् ।
छोरी सोध्दै छे ‘बाबा बालेनले किन प्रधानमन्त्री नखाएको ?’
आमा सोध्दै हुनुहुन्छ ‘बाबु बालेन किन घाइतेहरू भेट्न र सहिदकोमा नगएको ?’
श्रीमती सोध्दैछीन् ‘बालेनका विविध कुरा आइरहेका छन् , खासमा के हो बालेन ?’
गुगललाई सोधेर उत्तर आउने कुरा हैन यो । म पनि रनभुल्लमा परेको छु । मलाई पनि प्रश्न जन्मिरहेछ ।
खासमा के हौ त तिमी बालेन ?
सौरभले डार्क हर्ष भनेपछि, हर्क साम्पाङले एम्बेसिबाट चलेको भनेपछि, तिम्रै एक साथीले तिमीलाई विश्वासघात गर्दै पुरानो च्याट देखाएपछि , जेनजीले दिनभर र रातभर बालेन प्रधानमन्त्री बन्न खोज्दा नबनेपछि , घाइते र सहिदलाई भेट्न नगएपछि, धेरै तिम्रो अप्रिय कुरा सुन्न र पढ्न थालेपछि मन दुःखित भइरहेछ र मनको मनमा मनले प्रश्न गरिरहेछ ।
आखिर सुने झैँ अप्रिय हौ त तिमी बालेन ?
उत्तर पक्कै होइन आउँछ र आउनुपर्दछ ।
हाम्रो समाज नै यस्तै भइरहेको धेरै भयो । एक मान्छेलाई समाजले सजाउँछ र फेरि दुत्कार्दछ । समाज पनि के गरोस् , उसले मानेको मान्छे यता दिउसो दूधले नुहाउँछ र राती भ्रष्ट आचरणले । धेरै मनको मान्छेहरू दुलोको देवता बन्छन् र दुलोबाट निक्लँदा राक्षस भएर निक्लन्छन् । यो नेपाली राजनीतिमा भइरहेको छ । यसैले नै राजनीतिमा भाष्य बनेको छ, ‘जुन जोगी आए पनि कानै चिरेको ।’
म चाहिँ भन्छु ‘कम्तीमा तिमीलाई शङ्का गर्नु नपरोस् ।’
म चाहिँ भन्छु ‘कम्तीमा तिमीलाई गाली गर्नु नपरोस् ।’
बालेन तिमी मलाई देवता बन्न परेको छैन ।
बालेन तिमी मलाई मान्छेजस्तै मान्छे भए हुन्छ ।
बालेन तिमी मलाई कमजोरी छ सुधार्छु भन्ने हिम्मतिलो भएको चाहिन्छ ।
बालेन तिमी मलाई फेसबुकमा लेखे झैँ देश बनाउने मान्छे चाहिन्छ ।
धेरै वर्ष भयो । धेरै मान्छेको कथा लेखेपछि म त मान्छे जस्तो मान्छे भेट्न कुँदिरहेको छु । आफै पनि मान्छे जस्तो मान्छे बन्न नसकेको कतिपय अवस्थामा छु । त्यो स्वीकार गर्दछु ।
प्रधानमन्त्रीहरू, मन्त्रीहरू, साधुहरू, विभिन्न पेसा, जात, धर्म, लिङ्ग, क्षेत्र, पेसा व्यवसाय, तराई, पहाड, हिमालका मान्छेको पुस्तक लेखेपछि, भेटेपछि,सुनेपछि , पढेपछि मलाइ त मान्छे जस्तो मान्छे नै पो हुँदो रहेनछ कि क्या हो भन्ने लाग्न थालेको छ। मान्छे जस्तो मान्छे भेट्न पाए हुने भनेर भौँतारिएको धेरै वर्ष भयो । नाक, मुख र आँखा मान्छेका भएका देखिन्छन् । तर भित्री स्याल, ब्वाँसो, फ्याउरो, दुम्सी, चरा, माछा, स्याउ , झिँगा, जुका, मौरी, अरिङ्गाल, आलु के के हो केके चौरासी लाख योनीको चौरासी लाख चिज मान्छेमा पो देखिरहेछु ।
धेरै भयो मान्छे जस्तो मान्छे नै भेट्दिन भन्या !
आजकल त मान्छे भन्ने जात नै केमिकल जस्तै पो लाग्दै छ ।
तपाई त यस्तो, तपाई जस्तो को हुने भनेपछि कान ठाडो र अनुहारमा मुस्कान लिएर दंगदास देखिन्छन् मान्छे । ह्या तपाईँको त यो हुँदै भएन, तपाई के भाको ? भनेपछि अनुहार अर्के बनाएर निराश हुन्छन् मान्छे । नराम्रो भन्ने मान्छेलाई भेट्नै नचाहने । राम्रो भन्ने मान्छेलाई छाड्दै नछाड्ने । लाग्छ मान्छेहरू आँखा र कानले मात्रै बाँचेका छन् । हृदयले बाँच्ने मान्छे मैले कहिले भेट्ने होला ? मान्छेसँग कुरा गरिरहँदा आजकल त मलाई म मान्छे हैन एक केमिकलसँग कुरा गरिरहेछु झैँ लाग्दछ ।
०००
कुनै राजनीतिक पार्टीमा नलागे पनि मैले धेरै नेताको किताब लेखेपछि बुझेको छु । नेपाल हल्ला गरे जस्तो कसैको प्यादा पनि छैन र पुरै स्वतन्त्र पनि छैन ।
थाहा छ , काम गर्न गाह्रो छ नेपालमा । भूराजनीतिक भूराजनीतिक भन्दा भन्दै भूमरिमा भुस्कुटान पर्दै छ देश । हरेक नेता देशकै लागि उदय भएर आउँछ । जाबो एम्बुलेन्स , जाबो विदेश भ्रमण , जाबो चुनावी खर्च , जाबो छात्रवृत्ति, जाबो कार्यकर्तालाई यसो उसो गर्दा गर्दै त्रास र आसमा यसरी फस्दछ छि निक्लनै सक्दैन । देशको लागि उदय भएको नेता जाबा ससाना कुरामा विलय भएर विदेशको लागि बन्छ । कार्यकर्ताले ए यसरी पो नेता हुन पर्ने रहेछ भनेर सिक्दछ । अनि उ पनि विदेशीको गोटी बन्दै जान्छ ।
यस्तै भइरहेको छ देशमा ।
अरूको पैसा लिएपछि, अर्कोको डिजाइनमा सुरु देखि चलेपछि, अरूलाई कन्भिन्स गर्न नसकेपछि, जसको सिता खायो उसको गीता गायो गर्दै गएपछि, नेपालका नामुद भनेका नेता यता न उता, मुलाबारी भित्ता भएको पाएको छु । अरूको के कुरा हामी कति प्रधानमन्त्रीलाई सम्झन्छौ त ? के यत्रो प्रधानमन्त्री बनेको देशमा नेता नै नभएको हो त ? हामी २००७ पछि नै कति नेता सम्झन्छौ त ?
कुर्सी हैन कुर्सीमा बस्ने मान्छेले त्यसको घनत्व फेरिदिने रहेछ ।
प्रिय बालेन तिम्रै कुरा गर्दा हिजो पनि मेयर थिए । भोलि पनि हुनेछन् । तर तिमी किन सर्वाधिक चर्चित भयौ भन्दा तिमीले मेयरको पावर जनतालाई बुझायौ । कहिले हिन्दी फिल्म हलमा ब्यान्ड गरेको छ, कहिले स्कुलहरूलाई छात्रवृत्ति दिनै पर्ने बनाएको छ। भत्काएको छ बनाएको छ। तिमीले जनताको मनको काम गर्यौ । जनताको भाव बुझ्यौ । भने जत्ति काम गरेनौ होला तर मनबाट गर्न लागेको जनताले बुझेका छन् । भ्रष्टाचार विरोधी र कर्मशीलताका कारण बालेन तिमी बाफ्रे बाफ हुँदै गयौ । मान्छेहरू तिमीप्रति आकर्षित हुँदै गए ।
हरेक मान्छे आफू पपुलर हुन चाहन्छ । तिमी पनि त जर्नेलको छोरा जर्नेल थिएनौ । सामान्य परिवारका थियौ । ९ कक्षा हुँदा देखि गीत लेख्यौ । गायौ । इन्जियर बन्यौ । भूकम्पमा उद्धार र राहतमा सक्रिय भयौ । आम मान्छे रातारात आफू हिरो भएको कल्पना गर्दछ । कल्पना व्यवहारमा उतार्दैन । तिमीमा पनि चर्चित हुने चाहना थियो । २०७४ को चुनावमा तिमीले फेसबुकमा लेख्यौ ‘मैले आज भोट गरिनँ । म उम्मेदवार थिइन । मैले सिभिल इन्जिनियरङमा स्नातक गरेँ, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छुँ, मलाई देश बनाउन आउँछ, म अर्काे पटक भोट गर्छु, र आफैलाई भोट दिन्छु, म मेरो देशको विकास गर्छु मलाई अरू कसैको भर लाग्दैन ’
नभन्दै २०७९ को चुनावमा उठ्यौ । वैशाख ११ गते उम्मेदवारी दिँदा तिम्रो कुनै चालचुल थिएन । तिम्रा विपक्षी घघडान् थिए । केशव स्थापित र सिर्जना सिंह । वैशाख १७ गते निर्वाचन आयोगले तिमीलाई लौरो चुनाव चिन्ह दियो । तिमीले नारा बनायौ ‘भ्रष्टाचारीलाई ठोक्न हुने, बुढापाकालाई टेक्न हुने ।’ तिमीले आफैलाई भोट दियौ । अरू धेरैले पनि तिमीलाई भोट दिए । यसैले त, जेठ १२ गते विपक्षीलाई आधा मतमा रोकेर ६१७६७ मत ल्याएर जित्यौ । निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३८३४१ अनि स्थापितले ३८११७ ल्याए ।
जितेपछि बालेन तिमी एक ब्रान्ड बन्यौ । बालेन चस्मा , बालेन सिटी बालेन पुल । गाडीहरूको पछाडि लेखिन थाल्यो बालेन बालेन बालेन । लोकप्रियताको शिखर चढिरह्यौ । यसबिचमा नेताहरूले ,पार्टीहरूले काम बिगार्दै गए । तिमीले फेसबुकबाट दनक दिन थाल्यौ । निडर र साहसी भन्दै तिमी महा चर्चित भयौ । हेर्दा हेर्दै तिम्रो लागि ज्यान दिने मान्छेहरू तैयार भए । एक जना आर्मीका पूर्व अफिसरले म सँग भने ‘हेर्नुस् ढकालजी मेरा बच्चाहरू दुवै बाहिर छन्, आर्मीमा यत्रो वर्ष सेवा गरियो म जहाँ भन्यो त्यही ठ्याक्कै लगाउने सार्प सुटर हुँ, बालेनले भन्यो भने गोली ठोकिदिन्छु मान्छेलाई, मलाई मेरो ज्यानको माया छैन, देशको माया छ ।’
युवा पुस्ताको नेता मात्रै हैन तिमी तीन पुस्ताको नेताको रूपमा उदायौ । बालेनलाई गर्न दिएनन् । गर्न पाएको भए क्या गर्दथे भन्ने भाष्य बन्दै गयो । बालेन बाहुबली भयौ ।
०००
हेडलेस रिभोलुसन नामक जेनजी आन्दोलन आयो । जसले जे भने पछि भाद्र २३ गते भएको आन्दोलनको पछाडिको नेता बालेन तिमी नै थियौ । भाद्र २२ गते राती उनले जेनजीको र्यालीमा २८ वर्ष माथिको मै बुढो भए , पार्टीका नेता कार्यकर्ता बाठो भएर नजानु , जेनजीलाई मेरो समर्थन छ भनेर लेख्यौ । आन्दोलन रन्काउन आफ्नो चर्चित र्याप हाल्यौ ‘मलाई बोल्न दे सरकार।’ जुन एक करोड ५२ लाखले हेरे ।
दिउँसो जेनजीको आन्दोलन हेर्न म पनि गए । एक बजे सम्म त कति हो कति मान्छे आइसकेथे । घर जाँदै भात खाँदै आउँदै गरे मान्छेहरू । जेनजीका बाबु आमा किनारमा छोराछोरी सडकमा थिए । भन्न जेनजी भने पनि यसमा तीन पुस्ताको समर्थन थियो । र्याली बिस्तारै प्रदर्शन बन्यो । प्रदर्शन आन्दोलन बन्यो । बच्चाहरूले बालेन दाइ जिन्दाबाद भनिरहे ।
बालेन आउनुस् भनिरहे । तिम्रै बलमा थिए जेनजीहरु । तिमीले आन्दोलनमा पानी बाँड्न लगायौ । घुम्ती शौचालय बनाउन लगायौ । घाइतेहरूलाई उपचार गर्ने टोली बनायौ । जब १९ जना को मृत्यु भयो । देशैभर र संसारभर जेनजीको नेता तिमीले अब के गर्दछन् भनेर हेरिरहे । तिमीले केही लेखेनौ । तिम्रो फेसबुक नै आदेश जस्तै थियो । दिनभर र रातभर खोजी भयो तिम्रो तिमीले आक्रामक भएर राती एक बजे फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा लेख्यौ ।
‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस् यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन तँ नेता त के मान्छे पनि बन्न सकेनछस् आतङ्कवादी होस् ।’
तिम्रो फेसबुकले मिसायलकै काम गर्यो । लाखौँले शेयर र कमेन्ट लाइक गरे ।
२४ गते व्यापक सहभागिता भयो । भयानक तोडफोड आगजनी भयो । सिंहदरबार संसद् सर्वोच्च अदालत र निजी निवास , व्यापारिक प्रतिष्ठान , स्कुल कलेज सब ध्वस्त भए । त्यो दिनभर तिम्रो खोजी भैरहयो । तिमीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्र लेख्ने विचारमा रहेछौ र आदेशात्मक ढंगमा लेख्यौ ।
‘हामीले स्पष्ट रूपमा भनेका थियौ । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेन जी तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला, देशको जनधनको क्षति भनेको तपाई हाम्रै सम्पत्तिको क्षति हो । तपाई हामी अब संयमित हुन जरुरी छ । अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला । साथै , सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला तर याद रहोस् वार्ता गर्नु अघि संसद् विघटन हुनु पर्छ ।’
सारा न्युजहरूले तिम्रो स्टाटसलाई न्युज बनाए पनि तोडफोड रोकिएन । देश के हुने हो कहाँ जाने हो त्राहिमाम , महाराजकी दुहाईमा पुग्यो । आगोमा स्वाहा स्वधा भएको राजधानीको मेयर तिमी नै थियौ ।
तत्कालै अर्काे स्ट्याटस लेख्यौ, ‘प्लीज जेन जी देश तपाईँहरूकै हातमा हो, तपाईँहरूले नै बनाउने हो , अब जति क्षति हुन्छ तपाई हाम्रो नै हुने हो अब घर फर्कनुस् ।’
देशमा के हुने हो ? देश कता जाने हो ? अन्योल भयो । पावरको भ्याकुममा देशी विदेशीले खेल्न थालेको थाहा भयो । बालेन तिमीले भनेको धेरै कुरा पुगेको थियो । तर यहाँबाट लेखेको पनि भएन ‘अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला । साथै , सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला तर याद रहोस् वार्ता गर्नु अघि संसद् विघटन हुनु पर्छ ।’
थाहा भयो । तिमी कतै हारिरहेको छौ । तर भनेनौ । भन्नेले भन्थे ‘त्यो रात जेनजी पुस्ताको ह्ृदयेन्द्रलाई राजा बनाएर बालेन प्रधानमन्त्री बन्दै थे ।’
दनदनी बलेको ठाउँहरूमा आगो ननिभेर धुवाँ आइरहेको थियो तर आन्दोलन झ्यापझुप निभ्यो । नदेखिएका सुदन गुरुङको उदय भयो । देखिएका जेनजी हराए ।
के भयो त्यो रात ?
त्यो रातको खेलको इतिहास कसले लेख्ने ?
त्यो रातको खेलको इतिहास कसरी पढ्ने ?
मान्छेहरू निधाउन छाडे । सबको मनमा डर थियो के हुने हो । तिमी प्रधानमन्त्री नखाने अरू प्रधानमन्त्री बन्ने नबन्ने, सेनाले लिने विदेशी सेना आउने देश खत्तम भयो भनिरहेको बेला २५ गते तिम्रो स्ट्याटस आयो ।
...
प्रिय जेन जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ । तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यो बेला कृपया नआत्तिनुहोला । धैर्य राख्नु होला । अब देश आन्तरिक सरकारमा जाँदै छ ,जसले देशमा नयाँ चुनाव गराउनेछ , यो आन्तरिक सरकारको काम भनेको चुनाव गराउने , देशलाई नयाँ जनादेश दिने हो ।
यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईहरुकैबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु । तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ । अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएको साथीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूको जोस , सोच इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो , अस्थायी हैन त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला । सम्माननीय राष्ट्रपति ज्यू जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।
...
जेनजीले त दिनभरि बालेन तिमीलाई नै खोजे ।
जेनजीले त डिस्कर्डमा गरको भोटमा पनि तिमी नै एक नम्बर थियौ । धेरैले तिम्रो फोन अफ भएको भने । सम्पर्कमा नआएको भने । तिमी सरकारमा नजादा देशैभर अनौठा हर्कतहरु भए । त्यो लेख्दा त्यसकै अर्को लेख बन्छ । अहिलेलाई यता नजाऊँ । केही लेखिदिए हुन्थ्यो , सरकारमा तिमी गइदिए हुन्थ्यो भन्नेहरू धेरै भए । सुन्यौ तिमी बेपत्ता भयौ रे । तिमीलाई सुरक्षा निगरानीमा राखेको छन् रे । बालेननले प्रधानमन्त्री खाए मदन भण्डारी बनाउँछन् के के हो केके हल्लाहरू । २६ गते सहिदलाई श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थलाभको कामना गर्दै लेख्यौ । ३० गते हर्कलाई लेखेको लभलेटर आयो । आजकल त आत्तिएको ढंगमा विकासका कामहरू तिम्रो फेसबुकमा आउन थालेको छ ।
०००
प्रिय बालेन , तिमी आशा र आक्रोशले जन्माएको नेता हौ।
प्रिय बालेन, तिमीलाई पार्टीहरूले हद गरेपछि, दिक्क लागेपछि, तिमीले देशलाई माया गरेको कारण सबले दिलमा सजाएका थिए । तिम्रो लागि लड्न परे लड्ने लाखौँलाख भैसकेको थिए । सबैले भाइ जस्तै, छोरा जस्तै, नाति जस्तै प्रेमी जस्तै (बालेन जस्तो पाए विवाह गर्दछु भन्ने गीतहरू) गर्दथे । नेताको अलोकप्रियताले तिम्रो लोकप्रियता बढ्दै गयो । नेताका नीतिविहनि कामले तिम्रो नैतिकता उच्च हुँदै गयो ।
कुनै दिन नभेटेको तिमिलाई सधैँ भेटे झैँ लाग्दथ्यो । प्राकृतिक प्रेमिका जस्तै दिनदिनै मन पर्दै गएको थियौ तिमी । तिमीले फेसबुकमा निकालेको आगोहरू (सबै हैनन्, केही )ले मेरै जठराग्नि प्रज्वलित भइरहेको थियो ।
यतिबेला तिम्रो फ्यान संसारभर भएका छन् । मान्छे त आउँछ जान्छ देश रहिरहन्छ । रहिरहनु पर्दछ । तिमी हामी सय वर्षको सम्झौतामा पृथ्वीमा आएको मान्छे हौ बालेन । थाहा छैन, कहिले हाम्रो कनट्र्याक्ट टुट्नेछ र माथि तल कहाँ हो जानु पर्दछ । इतिहास , भूगोल र संस्कृतिहरू रहिरहन्छन् । अहिलेसम्म केही बिग्रेको छैन । जसले जति गाली गरेर जसको एजेन्ट भने पनि तिमी नेपालीको एजेन्ट हौ नेपालीको रहनु पर्दछ भन्ने म ठान्दछु ।
प्रेमले उज्यालो मात्र देख्दछ । म तिमी भित्र अँध्यारो हेर्न र देख्न सुन्न पनि चाहन्न । इतिहासमा आएको अवसर थियो प्रधानमन्त्री । क्रान्ति पछिको प्रधानमन्त्री तिमी भएको भए देशले कोल्टे फेर्दथ्यो । सबै ७० कटेको मान्छे देखेर यो मन आत्तिएको छ । तिमीले भनेको नै भएको छ भन्ने सुनेको छु । के अब तिमी नगर पिता नै भएर बस्ने त ? ल ठिक छ तिमीले त्याग गर्यौ रे । तिमी जितेर पाँच वर्षकै प्रधानमन्त्री हुन्छौ रे ।
सुन्दछु , यो सरकारले तिमीलाई सोधेर मात्र काम गर्दछ । तीव्र गतिमा काम गरोस् । रामको धनु जस्तै रामवाण कामहरू गरोस् ।
म त अहिलेसम्म कुनै पार्टीमा लागेको पनि छैन । देश राम्रो होस् । देश सफल होस् । मेरो देश हो । म त अरू देश डुल्न मात्र जान्छु बस्न जान्न भनिरहेछु । यही अनुरूप आजको दिनसम्म यहीँ पनि छु । म मात्रै हैन यो देशमा म जस्ता लाखौँलाख छन् । सुन्दछु , यो सरकारले तिमीलाई सोधेर मात्र काम गर्दछ । तीव्र गतिमा काम गरोस् । रामको धनु जस्तै रामवाण कामहरू गरोस् । पार्टीहरूबाट, उनीहरूको दादागिरीबाट धेरै मान्छे दिक्दारीमा थिए । देश वारुदको पहाड बनिसकेको थियो । दिक्क मान्छेहरूको लागि भ्यान्टिलेशनको काम जेनजीले गर्यो र त्यसको सार तिमी बन्यौ ।
तिमीलाई थाहा छ बालेन, संसार भर नै सबै मान्छे राजनीतिमा आउँदैनन् । तिमी आएर हामी आए झैँ भएको थियो । संसारका नेपाली तिमीले केही गर्दछौ भन्नेमा थिए । हेर, बालेन सामाजिक सञ्जालमा लाखौँ हुनु र मनमा हुनु धेरै फरक हुन्छ । सत्य कुरा यो हो कि अहिले तिमी फेसबुकमा एकतीस लाख पुगेका छौ । तर मनमा यो पाला तिम्रो मान्छे घटेका छन् ।
कहिल्यै कमेन्टमा नराम्रो नआउने तिम्रो फेसबुकमा पनि घुसपैठ हो या के हो नराम्रो कमेन्टहरू आएका छन् । शङ्का गर्दै छन् मान्छेहरू तिमीलाई । तीन चार पुस्ताको नेता भैसकेको आशा भैसकेको तिमी आफै आजकल अलिक आत्तिएको देख्दछु । लगातार पोष्ट र गाली गर्न सजिलो हुन्छ । काम गर्न गाह्रै हुन्छ । तिमीले गाह्रो हुँदैन भनेर देखाइदेऊँ । अहिले त तिमीले भनेको मान्छे नै सरकारमा छ । एक दिनमा के गर्दछु भनेको थियौ गरिदेऊ ।
प्रिय बालेन तिमीलाई अप्रिय हुने छुट छैन ।
प्रिय बालेन, तिमीलाई बिग्रने छुट छैन ।
प्रिय बालेन तिमी अरू जस्तै फरक बन्ने छुट छैन ।
प्रिय बालेन, म तिम्रो देवत्वकरण गर्न चाहन्न ।
प्रिय बालेन, तिम्रो अप्रिय सुन्नै नपरोस् ।
प्रिय बालेन, तिमीलाई बडा दशैको यही शुभकामना ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।