१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

जलविद्युत् आयोजनाको सुरक्षाका लागि निजी क्षेत्रले गुहार्‍यो गृह र ऊर्जामन्त्री

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै  गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ । 


आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा  सरकारको नीति र कानुनविपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनामा अवरोध गर्ने कार्य बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् । 



उक्त पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रूपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयङ्गम गरी लगानीकर्ताहरुलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।  

विशेषगरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा भोटेकोशी गाउँपालिका जेनजी समूहका नाममा १० प्रतिशत शेयर निःशुल्क लगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत् गृह बन्द छ भने यही कारण दैनिक करिब रु ९८ लाखसहित हालसम्म १६ करोडभन्दा बढी गुमाउनु परेको उल्लेख छ ।



विद्युत् गृह बन्द गरेपछि पनि दैनिक रुपमा गर्नुपर्ने मर्मत सम्भार र अनुगमनका लागि समेत जान नदिएको घटनाप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ । 

यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत् आयोजनासँग निःशुल्क सेयर मागेर सम्बन्धित आयोजनामा पत्र पठाइएको तथा अन्य अन्य क्षेत्रहरूमा समेत विभिन्न माग राखेर आयोजनामा अवरुद्ध गर्ने क्रम बढेको छ भन्दै ती आयोजनामा शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।   

आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित पनि बनाउने उल्लेख गरिएको छ । रासस



  • प्रकाशित मिति : १२ असोज, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया