२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

दसैँमा राजधानीमा ट्राफिक प्रहरीको दोब्बर परिचालन, १४ ठाउँमा सहायता कक्ष

नेपालीको महान चाड विजया दशमी (दसैँ) को अवसरमा काठमाडौं उपत्यकामा सवारी सुरक्षाका लागि विशेष योजना लागू गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दसैँको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक ट्राफिक तथा सुरक्षा योजना तयार पारिएको जानकारी दिए ।


एसपी सुवेदीले दसैँका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरूले गुनासो या सूचना दिनु परेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।



उनका अनुसार यात्रुलाई आवश्यक सूचना प्रवाह, ट्राफिक सचेतना अभिवृद्धि तथा आकस्मिक समस्याको तत्काल समाधानका लागि सहायता कक्षले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

उपत्यकालाई दुई समूहमा ट्राफिक प्रहरी परिचालन



दशैंको समयमा सवारी चाप वृद्धि हुने भएकाले राजधानी क्षेत्रलाई दुई समूह– ‘क’ र ‘ख’– मा विभाजन गरिएको छ । समूह ‘क’ अन्तर्गत २३ युनिट र समूह ‘ख’ अन्तर्गत २४ युनिट ट्राफिक प्रहरी परिचालित छन् ।

एसपी सुवेदीले भने, ‘हाम्रो उद्देश्य सजाय होइन, सचेतना अभिवृद्धि हो । यात्रामा कसैले गल्ती गरेमा दण्डित गर्नुभन्दा पनि सुधार गर्ने अवसर दिन चाहन्छौं ।’

रात्रिकालीन चेकिङ : पाँच समूहमा ६९ युनिट परिचालन

चाडपर्वमा मादक पदार्थ सेवनगरी सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले रातको समयमा विशेष निगरानीका लागि पाँच समूहमा विभाजन गरिएको छ । समूह ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ अन्तर्गत क्रमशः १४, १४, १५, १४ र १२ युनिट गरी कुल ६९ युनिट परिचालित छन् । रातको समयमा सम्भावित दुर्घटना र अनुशासनहीन सवारी गतिविधि रोक्न यी युनिटहरू निरन्तर गस्तीमा रहनेछन् ।



लामो दूरीका सवारीमा अनुगमन कडा

२५० किलोमिटरभन्दा बढी दूरीका सवारी साधनमा दुई चालक अनिवार्य व्यवस्था लागू गर्न ट्राफिक प्रहरीले कडाइ गरेको छ । ट्राफिक कम्युनिकेशन एपमार्फत चालक संख्या, क्षमताभन्दा बढी यात्रु राखिएको वा बढी भाडा लिएको जस्ता गतिविधिमा निगरानी गरिने सुवेदीले बताए । 

बसपार्क, नाका, सुपरमार्केट, सपिङ मलजस्ता स्थानहरूमा ट्राफिक प्रहरी र सिभिल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । एसपी सुवेदीले भने, ‘नागरिकलाई सुरक्षा प्रत्याभूति दिन हामी संयुक्त रूपमा खटिएका छौं । हामी उच्च मनोबलका साथ फिल्डमा छौं ।’ 

सवारी चेकिङमा प्रविधिको प्रयोग बढाइएको उनले बताए । लागुपदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई पहिचान गर्न विशेष उपकरण र प्रविधिको प्रयोग भइरहेको उनको भनाई छ । 

हालैका जेनजी आन्दोलनका कारण केही कार्यालयहरू क्षतिग्रस्त भए पनि सेवा प्रवाह प्रभावित नभएको एसपी सुवेदीको भनाइ छ । ‘कुनै पनि प्रहरी कर्मचारी मनोबल गुमाएर बसेका छैनन्,’ उनले भने, ‘युनिफर्म र आवश्यक सामग्री सबैमा पुगेको छ, हामी युनिफर्ममै सेवा दिइरहेका छौँ ।’  

  • प्रकाशित मिति : १२ असोज, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया