१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

वेस्ट इण्डिजको सातौं विकेट गुम्यो, कुशललाई दोस्रो सफलता

यूएईमा जारी वेस्ट इण्डिजविरुद्धको टी–२० आई सिरिजको दोस्रो खेलमा नेपाललाई सातौं सफलता मिलेको छ । नेपाललाई छैटौँ र सातौं सफलता कुशल भुर्तेलले दिलाए । 


उनले १३.२ ओभरमा फाबियन एलनलाई ७ तथा १३.५ ओभरमा अकिल होसेनलाई शून्यमा पवेलियनको दिशा देखाए । 



नेपाललाई पाँचौं सफलता अलराउन्डर मोहम्मद आदिल आलमले दिलाए । टिमलाई पाँचौं सफलता तथा व्यक्तिगत तेस्रो विकेट लिनेक्रममा ११.५ ओभरमा अमिर जाङ्गोलाई १६ रनमा आउट गरे । 

उनले ९.५ ओभरमा एकिम अगस्टेलाई १७ रनमा बोल्ड गरेका थिए । आदिलले आफ्नो पहिलो ओभरमै आक्रामक ब्याटर कायल मेयर्सलाई ६ रनमा आउट गरे । 



नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा अलराउन्डर दीपेन्द्र सिंह ऐरी र तीव्र गतिका बलर करण केसीले क्रमशः पहिलो र दोस्रो विकेट लिएका थिए ।  

दीपेन्द्रले २.२ ओभरमा ज्वेल एन्ड्रयूलाई २ रनमा बोल्ड गरे । यस्तै, करणले ३.२ ओभरमा केसी कार्टीलाई एक रनमा क्याच आउट गराए ।  

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो ।  

नेपालका लागि आसिफ शेख र सन्दीप जोराले उत्कृष्ट इनिङ खेले । आसिफले ४७ बलमा आठ चौका र दुई छक्कासहित अविजित ६८ रन बनाए । टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो ।   



यस्तै, जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रनको पारी खेले । टी–२० आईमा उनको यो चौथो अर्धशतकीय पारी हो । साथै जोराको यो करियरकै उच्च स्कोरसमेत हो ।

आजको खेलमा उनी र आसिफबीच ६६ बलमा १ सय रनको साझेदारी बन्यो ।  

त्यस्तै, मोहम्मद आदिल आलमले ५ बलमा एक छक्का र एक चौकासहित ११ रन बनाए । वेस्ट इण्डिजका लागि अकिल होसेन र कायल मेयर्सले दुई÷दुई तथा जेडिया ब्लेड्सले एक विकेट लिए । 

तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । शनिबार भएको पहिलो म्याचमा नेपाल १९ रनले विजयी भएको थियो ।
 

  • प्रकाशित मिति : १३ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया