यूएईमा जारी वेस्ट इण्डिजविरुद्धको टी–२० आई सिरिज नेपालले एक खेलअगावै जितेको छ । सोमबार भएको खेलमा ९० रनको जित निकाल्दै नेपालले एक खेलअगावै सिरिज जितेको हो ।
नेपालले पहिलोपटक टेस्ट टिमविरुद्धको सिरिज जितेको हो । दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इण्डिजले भने दोस्रो खेलमा निकै खराब प्रदर्शन गर्यो ।
ऊ आजको खेलमा सिरिजमा जीवित रहन जित्नैपर्ने दबाबमा थियो । नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज १७.१ ओभरमा ८३ रनमै अलआउट भयो ।
उसका लागि जेसन होल्डरले २१, अकीम अगस्तेले १७ तथा अमिर जाङ्गोले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नेपालका लागि मोहम्मद आदिल आलमले चार, कुशल भुर्तेलले तीन तथा ललित राजवंशी, करण केसी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो ।
नेपालका लागि आसिफ शेख र सन्दीप जोराले उत्कृष्ट इनिङ खेले । आसिफले ४७ बलमा आठ चौका र दुई छक्कासहित अविजित ६८ रन बनाए । टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो ।
यस्तै, जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रनको पारी खेले । टी–२० आईमा उनको यो चौथो अर्धशतकीय पारी हो । साथै जोराको यो करियरकै उच्च स्कोरसमेत हो ।
आजको खेलमा उनी र आसिफबीच ६६ बलमा १ सय रनको साझेदारी बन्यो । त्यस्तै, मोहम्मद आदिल आलमले ५ बलमा एक छक्का र एक चौकासहित ११ रन बनाए । वेस्ट इण्डिजका लागि अकिल होसेन र कायल मेयर्सले दुई/दुई तथा जेडिया ब्लेड्सले एक विकेट लिए ।
यो जितपछि तीन खेलको सिरिजमा नेपालले २–० को अग्रता लिएको छ । नेपाल र वेस्ट इण्डिजबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।