पछिल्ला केही वर्षयता नेपालीहरूको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । पहिले चाडपर्व वा बिदा भन्ने बित्तिकै आफ्नै गाउँघर जाने, नातागोता भेट्ने, मेलापातमा सहभागी हुने वा घरमै बस्ने परम्परा हुन्थ्यो । तर पछिल्लो समय घुमफिर गर्ने चलन तीव्र रूपमा बढेको देखिन्छ । दसैँ–तिहारजस्ता ठूलो चाडपर्वमा मात्र होइन, अंग्रेजी वा नेपाली नयाँ वर्ष, सरकारी बिदा वा विद्यालय–कलेजको लामो बिदा मिल्ने बित्तिकै घुमघामको योजना बनाउने गरेका छन् ।
पहिले–पहिले घुमघाम भनेको सम्पन्न वर्गको मात्र विलासिता ठानिन्थ्यो तर अहिले मध्यम वर्गदेखि युवापुस्तासम्मले यसलाई जीवनशैलीकै अंश बनाउन थालेका छन् । आफ्नो दिनचर्या, अध्ययन वा कामको तनावबाट केही समय टाढा भई रमाइलो गर्न, नयाँ ठाउँ हेर्न, नयाँ संस्कृतिसँग परिचित हुन र प्रकृतिसँग आत्मीयता जोड्न धेरै नेपालीहरू उत्साहित हुन्छन् ।
पछिल्लो समय नेपालीहरू विदेशमा मात्र होइन, नेपाल भित्रै पनि घुम्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसै पनि नेपाललाई प्रकृतिको अनुपम उपहारले सजाएको देश भनिन्छ । हिमाल, पहाड र तराईका विविध भूगोल, नदीनाला, ताल तलैया, धार्मिक–सांस्कृतिक सम्पदा, ऐतिहासिक दरबार, गुम्बा र मन्दिरहरूले विश्वभर नेपाललाई चिनाएको छ ।
त्यसैले नेपालीहरू पनि पूर्वमा इलामदेखि सुदूरपश्चिममा खप्तडसम्म र पोखरादेखि हिमालपारिको मुस्ताङसम्म मात्र हैन, तराईको चितवन, लुम्बिनी, जनकपुरसम्म आन्तरिक नेपाली पर्यटक हुन्छन् । पर्यटकीय मौसममा आन्तरिक पर्यटककै कारण गन्तव्यहरू भरिभराउ हुन्छन् ।
तर, नेपालमा आन्तरिक पर्यटकलाई पाहुना मान्ने प्रचलन छैन । नेपालमा राष्ट्रिय निकुञ्ज, विभिन्न पर्यटकीय तथा सांस्कृतिक सम्पदामा छिर्दा नेपालीको तथ्याङ्क राख्ने गरिए पनि वार्षिक कति नेपाली घुमघाममा निस्कन्छन् र कति खर्च गर्छन् भन्ने तथ्याङ्क कुनै पनि निकायसँग छैन । आन्तरिक पर्यटनलाई आर्थिक क्षेत्रको महत्त्वपूर्ण आधार मानिन्छ । त्यसैले पनि आन्तरिक पर्यटकको तथ्याङ्क राख्न आवश्यक छ ।
अब नेपालीहरू केवल अरू देशका पर्यटकलाई स्वागत गर्न मात्रै सीमित छैनन्, आफैँ आन्तरिक पर्यटकको ठूलो भीड बनेर देशैभर घुमफिरमा हिँड्ने गरेका छन् । पछिल्लो समय घुमघाम केवल रमाइलोका लागि मात्र नभई स्वास्थ्य, सामाजिक सम्बन्ध मजबुत बनाउन र नयाँ ज्ञान–अनुभव आर्जन गर्न पनि उत्तिकै महत्त्वपूर्ण बन्न थालेको छ ।

नेपालीहरूमा स्वदेशैमै घुम्ने बानी विकास भइसकेकाले नयाँ–नयाँ गन्तव्यहरू पनि क्रमशः विकास भइरहेको बताउँछन्, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया । ‘नेपालीहरूको घुम्ने संस्कृतिले नयाँ गन्तव्यको खोजीलाई सहज बनाएको छ,’ उनी भन्छन्, ‘तर, ती स्थानमा अझै धेरै चुनौती छन्, आवश्यक पूर्वाधारहरू पूर्ण रूपमा बनेका छैनन् । यद्यपि, नेपालीहरू उत्साहका साथ त्यहाँ पुगेर रमाउँछन् । बिस्तारै ती गन्तव्यमा आवश्यक सेवा र सुविधा पुग्ने अपेक्षा गर्न सकिन्छ ।’
यी हुन् पछिल्लो समय नयाँ गन्तव्यको रूपमा विकास भएको ठाउँ
मुन्धुम ट्रेल पदमार्ग : पूर्वी पहाडको ‘भर्जिन’ गन्तव्य
मध्य पहाडी लोक मार्गमा भर्खरै पहिचान गरिएको मुन्धुम ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलुखुम्बु तथा सङ्खुवासभा सीमा क्षेत्रमा रहेको यो पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरू भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ ।
विभिन्न संस्कार, संस्कृतिको आनन्दसँगै प्राकृतिक सौन्दर्यताकलाई नियाल्दै पदयात्रा गर्न चाहने पर्यटकको रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो, ‘मुन्दुम पदमार्ग’ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटका मनोरम दृश्य अवलोकन गर्दै यात्रा गर्नु यस पदमार्गको एउटा विशेषता हो । उकालो ओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनङघा, कुम्भकणर्लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङखला हेर्न सकिन्छ ।

त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडिगोठ, लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङगी, रेडपाण्डा, भीर माहुरी र विभिन्न जङ्गली जनावरहरूसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ ।
मध्य पहाडी सडक सञ्जालसँग जोडिएको यो पदमार्ग ‘भर्जिन’ भएको तथा दिक्तेल र भोजपुरबाट हवाई मार्ग हुँदै सहजै पुग्न सकिने क्षेत्र भएकाले पर्यटकहरूलाई आवागमनमा थप सहज बन्ने निश्चित छ ।
आन्तरिक पर्यटनको नयाँ ‘हटस्पट’ ढोरपाटन
नेपालभित्र आन्तरिक पर्यटकलाई आकर्षित गर्ने नयाँ गन्तव्यका रूपमा ढोरपाटन एक हो । बागलुङ, म्याग्दी र रुकुमको संगमस्थलमा फैलिएको ढोरपाटन सिकार आरक्ष क्षेत्र सुन्दर पाटन, हरियाली मैदान, हिमालको दृश्य, परम्परागत घरगोठ र घोडाचढी जस्ता अनुभवका कारण आन्तरिक पर्यटनको ‘हटस्पट’ बनेको हो ।
उकालो र चिप्लो बाटो पार गर्दै ढोरपाटन पुगेपछि पर्यटकलाई नाउर, झारल, रंगीचंगी बुकी फूल र मनोरम फाँटले स्वागत गर्छन् । विशेष गरी असारदेखि भदौसम्म फुल्ने बुकीले उपत्यका र पाटनलाई रंगीन बनाउँछ, जसले युवायुवतीदेखि परिवारका समूहलाई लोभ्याएको छ । हाल त सामाजिक सञ्जालमै ‘ढोरपाटन यात्रा’ ह्यासट्याग भाइरल हुँदै गएको छ, जसले यहाँ आउने पर्यटकको चहलपहल झन् बढाएको छ ।

ढोरपाटन उपत्यकामा फूलसँग रमाउने, घोडा चढ्ने र गोठालो जीवनशैलीसँग परिचित हुने अवसरले यहाँको यात्रा विशेष बन्छ । पर्यटक बढेसँगै स्थानीय होटेल र होमस्टे व्यवसाय फस्टाउँदै गएको छ, जसले गाउँको अर्थतन्त्रमा उत्साह थपेको छ । धार्मिक दृष्टिले पनि ढोरबराह मन्दिर, उत्तरगंगा, छेन्टुङ गुम्बा जस्ता स्थलले ढोरपाटनलाई अझ महत्त्वपूर्ण बनाएका छन् ।
स्वर्गको एक टुक्रा : मार्दी हिमाल
अन्नपूर्ण सर्किट अन्तर्गत पर्ने आकर्षक पदमार्गमध्ये पछिल्लो समय पर्यटकलाई सर्वाधिक लोभ्याएको गन्तव्य हो– मार्दी हिमाल ट्रेक । छोटो तर साहसिक यो यात्रा स्वर्गको टुक्राजस्तै सौन्दर्यमा डुबाइदिन्छ । काठमाडौँबाट पाँच दिनमै पुग्न सकिने यो पदमार्ग धम्पुस, अस्ट्रेलियन क्याम्प र पितम देउराली हुँदै सुरु हुन्छ ।
दोस्रो दिन लो–क्याम्प पुग्नेबित्तिकै पर्यटक अन्नपूर्ण र माछापुच्छ्रेको नजिकबाट अवलोकन गर्न सक्छन् । बाटोभरि हरिया वनजंगल, फुलबुट्टा, परम्परागत बस्ती र डाँडाकाँडाले यात्रालाई झनै रमाइलो बनाउँछन् । ४,२०० मिटर उचाइको भ्यु प्वाइन्टमा पुग्दा बिहानको सूर्योदयसँगै सेता हिमालहरू सुनौलो आभामा चम्किनु नै मार्दीको जादु हो ।

अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, घान्द्रुक र लान्द्रुकका मनमोहक दृश्यले प्रत्येक क्षणलाई अविस्मरणीय बनाउँछ । मार्च, मे र अक्टोबर–नोभेम्बर मार्दी पुग्नका लागि उत्कृष्ट मौसम मानिन्छ । हिउँले छोपिएका पहाड, बादलसँग लुकामारी खेल्ने डाँडा र सुन्दर गाउँहरूको अवलोकन गर्दै यहाँ घुम्दा, सुन्दरताको प्रतिक स्वर्ग हो भने त्यसैको एक टुक्रा मार्दी हो भन्ने अनुभव स्वाभाविकै हुन्छ ।
भरत ताल : मधेसको नयाँ आकर्षण
मधेस प्रदेशको सर्लाही वाग्मती नगरपालिका–४ र १२ को बीचमा बनेको विशाल पोखरीले छोटो समयमै हजारौँको ध्यान तानेको छ । करिब १२१ बिघा क्षेत्रमा फैलिएको, १५ देखि ४५ फिटसम्म गहिरो यो ताललाई अहिले सबैले ‘भरत ताल’ भनेर चिन्छन् । पानीको नीलो छाल, चुरे पर्वतको हरियो ओभाल र तालभित्र चलमलाइरहेका मोटर बोटले यहाँ आउने जो–कोहीलाई रोमाञ्चित बनाइदिन्छ ।
बिदाको दिन परिवारसहित आन्तरिक पर्यटकहरूको घुइँचो लाग्छ, जहाँ बोटिङ, रमाइलो, फोटोग्राफी र टिकटक बनाउनका लागि युवायुवती विशेष उत्साहित देखिन्छन् । हाल तालमा २०–१२० जना अटाउने साना–ठूला बोटहरू सञ्चालनमा छन् । तालको छेउमा हाँसराज प्रजातिका हाँस, घेराबेरा, पार्क, बगैँचा र खाजा घरहरू थपिँदै छन् ।

बागमती पुल नजिकैबाट केही मिनेट दक्षिण झरेपछि पुगिने यो ताल, आजकल सर्लाही मात्र होइन, देशकै कुनाकाप्चाबाट आउने आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । केही वर्षअघि अस्तित्वमै नभएको यो ठाउँ, अहिले हजारौँको कल्पनामा रमाउने दृश्य बनेको छ ।
कर्णालीको रारासहित पश्चिम नेपालको बडिमालीका, अपि, साइपाल, खप्तड, सुर्मा सरोवर, रामारोशनलगायत प्राकृतिक सुन्दरताले भरिपूर्ण दर्जनौँ स्थान पनि पर्यटनको नयाँ गन्तव्य बन्नेछन् ।
यसरी नयाँ नयाँ गन्तव्यको विकास भइरहेको छ । आन्तरिक पर्यटनले राष्ट्रिय अर्थतन्त्रलाई प्रत्यक्ष टेवा पुर्याउँछ । ग्रामीण क्षेत्रका होटेल, रेस्टुराँ, यातायात, हस्तकलादेखि कृषिजन्य उत्पादनसम्म आन्तरिक पर्यटकले प्रयोग गर्ने भएकाले स्थानीय अर्थतन्त्र चलायमान हुने उनी बताउँछन् ।
उनका अनुसार आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु भनेको केवल घुमफिरलाई प्रोत्साहित गर्नु मात्र नभई समग्रमा अर्थतन्त्र सबल पार्ने, रोजगारी सिर्जना गर्ने, सामाजिक सद्भाव बढाउने र राष्ट्रिय सम्पदा संरक्षण गर्ने बहुआयामिक प्रक्रिया पनि हो । आन्तरिक पर्यटनलाई प्राथमिकतामा राख्नु नेपालजस्तो विकासोन्मुख मुलुकका लागि दीर्घकालीन रूपमा लाभदायी रणनीति बन्न सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।