यूएईमा जारी टी–२० आई सिरिजमा नेपाल र वेस्ट इण्डिजले आज तेस्रो तथा अन्तिम म्याच खेल्दै छन् । यी दुई टिमबीचको खेल मंगलबार राति ८ः१५ देखि शारजाह स्टेडियममा सुरु हुनेछ । श्रृंखलामा नेपाल अहिले २–० ले अगाडि छ ।
नेपालले पहिलो र दोस्रो खेल क्रमशः १९ रन र ९० रनले जितेको थियो । नेपाली टिम तेस्रो खेल पनि जितेर श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यदि यो खेल जितेमा नेपालले अर्को इतिहास रच्नेछ । नेपालले हालसम्म कुनै पनि टेस्ट राष्ट्रविरुद्धको सिरिज जित्न सकेको छैन । उता क्यारेबियन टिम सान्त्वना जित निकाल्नै क्लिन स्विप हुनबाट जोगिने संघर्षमा हुनेछ ।
जारी सिरिजमा ऊ खराब लयमा देखिएको छ । विशेषगरी वेस्ट इण्डिजको ब्याटिङ निकै कमजोर देखिएको छ । टिममा कयौँ चर्चित लिग खेलिसकेका खेलाडी भए पनि उनीहरूले अनुभवको सदुपयोग गर्न सकेका छैनन् । लगातारको खराब प्रदर्शनका कारण वेस्ट इण्डिजलाई आइसिसी टी–२० वरीयतामा घाटा हुने देखिन्छ । ऊ अहिले वरीयताको छैटौँ स्थानमा छ ।
यता लगातार दुई जित निकालिसकेको नेपालले वरीयतामा भने सुधार हुने सम्भावना बलियो छ । नेपाल अहिले टी–२० वरीयताको १८औँ स्थानमा छ । नेपालले मंगलबार पनि जित निकालेमा वरीयताको १५औँ स्थानमा उक्लिने सम्भावना बलियो छ । त्यसलै नेपाल आज पनि सानदार प्रदर्शन गरेर जितमा ह्याट्रिक गर्न चाहन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।