रामेछापमा अकबरे खुर्सानी खेतीको राम्रो सम्भावना रहेको पाइएको छ । नगदे बालीको रुपमा रहेको अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरू त्यस तर्फ आकर्षित भएका छन् ।
समुन्द्र सतहदेखि एक हजार मिटरदेखि १५ सय मिटरसम्मको उचाइसम्ममा राम्रो उत्पादन हुने खुर्सानीको लागि रामेछापमा उपयुक्त हावापानी भएको खाँडादेवी गाउँपालिका–५ का कृषक किशोर पौडेल बताउँछन् ।
आफ्नो २ रोपनी भन्दा बढी जमिनमा अकबरे खुर्सानी लगाउनु भएका किशोरले रामेछाप जिल्लामा पहिलो पटक मल्चिङ प्रविधिबाट खुर्सानी लगाएका छन् । खेती लगाएको तीन महिनाबाट उत्पादन दिन सुरु गर्ने खुर्सानीका बोटले लगातार ५ वर्षसम्म उत्पादन दिने उनले बताए ।
पानी कम पर्ने र केही भिरालो जमिनमा खुर्सानीको राम्रो खेती हुने उनले बताए । सुक्खा याममा भने पानी परेन भने खुर्सानीलाई पानी दिनु पर्ने उनको भनाइ छ ।
काँचो अकबरे खुर्सानी बारीबाट नै २ सयदेखि २ सय ५० रुपैयाँ किलोसम्ममा बिक्री हुने गरेको पौडेलले बताए । काँचो बिक्री नहुँदा पनि सुकाएर बिक्री गर्न सकिने भएको खुर्सानी खेती सहज भएको उनको भनाइ छ ।
खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि रामेछापका विभिन्न क्षेत्रका किसान व्यावसायिक खुर्सानी खेतीमा लागेका छन् । यसबाट किसानले राम्रो कमाइ गर्न पनि लागेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।