यूएईमा जारी टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इण्डिजलाई १ सय २३ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको नेपाल १९.५ रनमा १ सय २२ रनमा अलआउट भयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा तीन छक्का र दुई चौकासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहितकुमार पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन जोडे ।
नेपालले गुलशन र मोहम्मद आदिल आलमलाई रनआउटको रूपमा गुमाएको हो । वेस्ट इण्डिजका लागि बलिङमा रामोन सिमन्ड्सले उत्कृष्ट बलिङ गरे । उनले तीन ओभरमा १५ रन दिएर सर्वाधिक चार विकेट लिए ।
यस्तै, जेडिया ब्लेड्सले दुई तथा अकिल होसेन र जेसन होल्डरले एक/एक विकेट हात पारे । श्रृंखलामा नेपाल अहिले २–० ले अगाडि छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः १९ रन र ९० रनले जितेको थियो ।
नेपाली टिम तेस्रो खेल पनि जितेर श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यदि यो खेल जितेमा नेपालले अर्को इतिहास रच्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।