नेपाली टिम वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिज क्लिन स्विप गर्न चुकेको छ । मंगलबार सम्पन्न तेस्रो खेलमा १० विकेटले पराजित भएसँगै नेपाल सिरिज क्लिन स्विप गर्न चुकेको हो ।
वेस्ट इण्डिज सान्त्वना जित निकाल्दै क्लिनस्विपबाट जोगियो । तेस्रो खेलमा नेपालले दिएको १ सय २३ रनको लक्ष्य वेस्ट इण्डिजले १२.२ ओभरमा पूरा गर्यो । उसका लागि अमिर जाङ्गोले ७४ तथा एकिम अगस्टेले ४१ रन बनाए । उनीहरू दुवै अविजित रहे । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको नेपाल १९.५ रनमा १ सय २२ रनमा अलआउट भयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा तीन छक्का र दुई चौकासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहितकुमार पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन जोडे । नेपालले गुलशन र मोहम्मद आदिल आलमलाई रनआउटको रूपमा गुमाएको हो ।
वेस्ट इण्डिजका लागि बलिङमा रामोन सिमन्ड्सले उत्कृष्ट बलिङ गरे । उनले तीन ओभरमा १५ रन दिएर सर्वाधिक चार विकेट लिए ।
यस्तै, जेडिया ब्लेड्सले दुई तथा अकिल होसेन र जेसन होल्डरले एक/एक विकेट हात पारे । नेपालले सिरिजको पहिलो र दोस्रो खेल क्रमशः १९ रन र ९० रनले जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।