२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नेपालीहरूमा विदेश घुम्ने मोह बढ्दो, कुन हुन् उत्कृष्ट विदेशी गन्तव्य ?

कुनै समय थियो, जति बेला नेपालीहरू उपचार, रोजगार र अध्ययनका लागि मात्रै विदेश जाने गर्थे । तर, पछिल्लो समय लामो समय बिदा हुने बित्तिकै नेपालीहरू विदेश घुम्न जाने प्रवृत्ति बढ्दो छ । उच्चदेखि मध्यम आर्थिक हैसियत भएका नेपालीहरू घुमघामकै लागि एसिया, युरोप र अमेरिका जान थालेका हुन् । 


‘बेला मौकामा घुम्नुपर्छ’ भन्ने चेतनाको विकास भएका कारण पनि फुर्सदको समयमा मात्र होइन, फुर्सद मिलाएर पनि नेपालीहरू घुमफिर गर्न विदेश जान थालेका हुन् । पछिल्लो तथ्याङ्क हेर्ने हो भने रोजगारी र अध्ययन जत्तिकै सङ्ख्यामा नेपाली विदेश घुम्न जाने गरेका छन् । अध्यागमन विभागका अनुसार जति मानिस रोजगारी र अध्ययनका लागि विदेश जान्छन्, झन्डै त्यसको आधा घुम्नका लागि पनि जाने गरेका छन् । 



सन् २०२४ मा कुल १७ लाख ७४ हजार २२५ जना नेपाली नागरिक विभिन्न प्रयोजनमा विदेश गएका छन् । जसमध्ये विदेश घुमफिरमा मात्रै २ लाख ७४ हजार ४२८ जना नेपाली गएको अध्यागमन विभागले जनाएको छ । जसमध्ये १ लाख ५९ हजार ४३ पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् । यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा धेरै हो ।

सन् २०२३ मा कुल १६ लाख तीन हजार आठ सय ३६ नेपाली विदेश गएका थिए । त्यसमध्ये सो वर्ष २ लाख ४ हजार ५१८ जना नेपाली घुम्नका लागि विश्वका एक सय ५६ देशमा पुगेका छन् । 



पछिल्लो समय नेपालीहरू घुमन्ते हुन थालेका छन् । विशेष गरी भारत, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, चीन, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, अमेरिका, जापान, ओमन, बेलायतलगायत देश नेपाली पर्यटकका लागि सबैभन्दा आकर्षक गन्तव्य रहेको पाइएको छ । यस्तै, भेनेजुयला, टोगो, स्लोभाकिया, पपुवा न्युगिनी, उत्तर कोरिया, फिजी, जमैकाजस्ता देशमा पनि नेपाली घुम्न जान थालेका छन् ।

लामो बिदा र ट्राभल कम्पनीहरूले ल्याएका ‘टुर प्याकेज’ले विदेश घुम्नका लागि नेपालीलाई धेरै सहज भएको छ । ट्राभल कम्पनीहरूले पर्यटकको चाहना हेरेर कस्टमाइज्ड प्याकेजहरको निर्माण गरेका हुन्छन् । उनीहरूले भिसा प्रोसेसिङदेखि होटेलको व्यवस्था, ब्रेकफास्ट र बेडरुम, टुर, फ्लाइट र ट्रान्सपोर्टको व्यवस्था गरेका हुन्छन् । 



नेपालीको खर्च गर्ने क्षमतामा वृद्धि, हनिमुन तथा घुम्ने संस्कृतिको विकासले समेत विदेश भ्रमण गर्नेहरू बढिरहेका छन् । पछिल्लो समय घुमघाम गर्नु पर्छ भन्नेबारे बढ्दो जनचेतनाका साथै  विदेश जान सहज र सुलभ हुँदै गएकाले पनि नेपालीमा विदेश घुम्ने मोह जागेको नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्ष कुमारमणि थपलिया बताउँछन् । 

‘पछिल्लो समय सस्तो मूल्यमा प्याकेजहरू उपलब्ध हुन थालेपछि विदेश जाने नेपालीको सङ्ख्या बढ्दो छ,’ उनी भन्छन्, ‘नेपालमा कम्पनीहरूबीचको प्रतिस्पर्धाले पहिलाभन्दा विदेश टुर सस्तो हुन गएको छ । त्यसैले यही देश भन्ने छैन, आफ्नो चाहना अनुसार धेरै देश घुम्न जान्छन् ।’

विदेश घुम्न जाँदा सबैभन्दा धेरै खर्च हवाई टिकटमा हुन्छ भने त्यसपछि होटेल, खाना र यातायातमा खर्च हुने गरेको छ । साथै अरू देशले खर्च गर्ने वातावरण बनाएकाले पनि बढी खर्च हुने देखिन्छ । ‘अरू देशले खर्च गरूँ गरूँ भन्ने वातावरण तयार बनाएका हुन्छन्,’ उनी भन्छन्, ‘ब्राण्डेड सामान आफैले उत्पादन गरेका हुन्छन् । गुणस्तर त्यतिकै राम्रो हुन्छ । त्यसैले नेपालीहरू बढी सामान किन्छन् । जसले गर्दा पनि नेपालीले पनि बढी खर्च गरिरहेका हुन्छन् ।’

यस्तै, पछिल्लो समय नेपालीहरू परिवार घुम्न निस्कने मात्रै नभई कर्पोरेट हाउस, कलेज र स्कुलले ग्रुपमा आफ्ना कर्मचारी र विद्यार्थीलाई भ्रमणका लागि विदेश पठाउने गरेको छ । जसले गर्दा पनि घुम्न विदेश जाने नेपालीको सङ्ख्या बढाएको नाट्टाका अध्यक्ष थपलिया बताउँछन् । 

विदेश घुम्ने संस्कृतिले नेपाली समाजमा नयाँ रङ्ग भरिदिएको छ । यसले केवल व्यक्तिगत मनोरञ्जन र आनन्द मात्र दिएको छैन, विश्वसँग जोडिने अवसर पनि दिएको छ । फरक–फरक संस्कृतिलाई नजिकबाट अनुभव गर्ने, नयाँ प्रविधि र व्यवस्थापन शैली सिक्ने मौका मिलेको नाट्टाका अध्यक्ष थपलिया बताउँछन् ।

‘विदेश घुम्न जाने प्रवृत्तिलाई नकारात्मक दृष्टिकोणले पनि हेरिन्छ,’ उनी भन्छन्, ‘तर, नेपालले यसबाट फाइदा लिन जान्नु पर्छ । पर्यटनको फाइदा भनेको ती देशमा पुगेका पर्यटकले आफ्नो देशका बारेमा सकारात्मक सन्देश दिनु हो । पछिल्लो समय नेपालीहरू एसिया, युरोप, अमेरिका जान थालेका छन् । ती देशमा पुगेका नेपालीहरूले नेपालको पर्यटन बारेमा बताउने प्रवृत्तिको विकास गर्नुपर्छ । जसबाट नेपाली पर्यटनले ठूलो लाभ लिन सक्छन् ।’

हुन त यति ठूलो खर्च आन्तरिक पर्यटनमा लगानी भए नेपालको अर्थतन्त्रलाई अझ ठूलो बल पुग्ने तर्क पनि हुँदै आएको छ । तर, विदेश घुम्ने नेपालीहरूको बढ्दो प्रवृत्ति व्यक्तिगत र सामाजिक चेतनाको स्तर उकास्ने, पर्यटन व्यवस्थापनमा नयाँपन ल्याउने अवसर पनि हो । राज्यले आन्तरिक गन्तव्यलाई प्रतिस्पर्धी बनाउन सके, विदेश घुम्ने संस्कृतिले उल्टै नेपाललाई पर्यटनमा टेवा दिनेछ । 

  • प्रकाशित मिति : १५ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया