पछिल्लो समय नेपालमा माछामासुको उत्पादनले नयाँ आयाम लिएको छ । अहिले घरेलु खपत धान्न सक्ने गरी उत्पादन भइरहेको छ भने आयातमा निर्भरता घटाउँदै आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ । हुन त यी वस्तु सरकार आफैँले आत्मनिर्भर भएको घोषणा गरिसकेको छ । सरकारले सन् २०२० मा घोषणा गरेअनुसार मुलुक पशुजन्य उत्पादन, अण्डा, मासु, दूधमा आत्मनिर्भर भइसकेको छ ।
तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब यी वस्तुहरू विदेशबाट आयात गर्नुपर्ने अवस्थाबाट मुक्त भएको दाबी गरेका थिए । तर, केही मात्रामा माछामासु आयात हुँदै आएको छ । सरकारले आत्मनिर्भरको घोषणा गरे पनि गत वर्ष विभिन्न देशबाट १ करोड ९४ लाखको फ्रेस र फ्रोजन मासु आयात गरेको छ ।
यस्तै, गत वर्ष मात्रै नेपालले विभिन्न देशबाट करिब २ अर्बको माछा आयात गरेको छ । यस्तै, गएको आर्थिक वर्षमा विश्वका विभिन्न ७२ देशबाट ७१ करोडभन्दा बढीको जीवित जनावर आयात गरेको थियो । तर, अन्य कृषिजन्य वस्तुको तुलनामा भने यो आयातको तथ्याङ्क निक्कै कम हो ।
हाल नेपालको आ.व.२०८०/८१ को तथ्याङ्क अनुसार वार्षिक दूध उत्पादन २६ लाख ८३ हजार मे.ट., मासुको उत्पादन ४ लाख ४७ हजार मे.ट., माछा १२३ हजार मे.ट. र अण्डा १६४ करोड ५४ लाख उत्पादन रहेको छ । अघिल्लो वर्षको तुलनामा दूधमा २.७ प्रतिशत¸ मासुमा ४.१ प्रतिशत, माछामा ८.५ प्रतिशत र अण्डामा २.४ प्रतिशतले वृद्धि भई वार्षिक प्रति व्यक्ति उपलब्धता दूध ९२ लिटर, मासु १५ केजी, माछा ४ केजी र अण्डा ५६ गोटा पुगेको छ । यसरी हेर्ला नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको, दूध र माछा उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको छ ।
वर्तमान तथ्यांकहरूलाई हेर्दा पशुपन्छी तथा मत्स्य क्षेत्रको योगदान देशको कुल गार्हस्थ्य उत्पादनमा ६.४ प्रतिशत र कुल कृषि उत्पादनमा २४.८ प्रतिशत रहेको छ । पोषण सुरक्षाका सन्दर्भमा पनि यो क्षेत्रले विशेष भूमिका निर्वाह गर्दै आएको छ । नेपाल माछामासु उत्पादनका लागि ठूलो सम्भावना बोकेको देश हो । भौगोलिकता र जैविक विविधताका कारणले नेपाल पशुपालनको लागि उपयुक्त स्थान मानिन्छ ।
यहाँको वातावरण, वन–जंगल, जलस्रोत, अनि कृषि क्षेत्रले ओगटेको जमिनलगायतका सबै कुरालाई हेर्दा पशुपालनको लागि आवश्यक सबै कुराहरू पर्याप्त छन् । ‘मासुमा आत्मनिर्भरता’ हासिल गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएको पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारी बताउँछन् ।

उनका अनुसार ‘मासुमा आत्मनिर्भरता’ हासिल गर्न व्यावसायिक बाख्रा पालन, कुखुरा पालन, बङ्गुर पालन, हाँस पालन, भैँसी तथा पाडापालन, याक, चौँरी, भेडा र च्याङ्ग्रा पालनलमा प्रवद्र्धन गरिएको छ । ‘माछामासुमा आत्मनिर्भरका लागि धेरै कामहरू भइरहेका छन्,’ उनी भन्छन्, ‘राँगा, बाख्रा, कुखुरा, हाँसलगायतको उत्पादन व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । कृषक र प्राविधिक क्षमताको सुदृढीकरणले नेपाल माछामासुमा आत्मनिर्भर तर्फ अघि बढेको छ ।’
यस्तै, पशु रोग नियन्त्रण कृत्रिम गर्भाधान सेवा, नस्ल सुधार, गुणस्तरीय आहाराको आपूर्ति, रोग नियन्त्रण तथा पशु स्वास्थ्य सेवा विस्तार कार्यक्रमले पशु उत्पादनमा गुणात्मक वृद्धि भएको उनी बताउँछिन् । देशभर हाल ७१ जिल्लामा कृत्रिम गर्भाधान सेवा विस्तार भइसकेको छ । जसले दुधालु पशुहरूमा उत्पादन वृद्धि मात्रै नभई स्थानीय जात सुधारको दिशामा पनि योगदान पुगेको छ ।
गत दुई दशकअघिसम्म नेपाली बजारमा खपत हुने माछामासु प्राय भारत वा अन्य मुलुकबाट आयात हुन्थ्यो । तर पछिल्ला वर्षमा नेपाल माछामासु उत्पादनमा लगभग आत्मनिर्भर बनेको उनी बताउँछन् । हाल नेपाल आत्मनिर्भर मात्रै होइन, निर्याततर्फ पनि अघि बढेको महानिर्देशक डा. तिवारी बताउँछन् ।
नेपालबाट चीनमा राँगा भैँसीको मासु निर्यात गर्न विभिन्न कामहरू भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष चीन भ्रमणका क्रममा नेपालबाट राँगा भैँसीको मासु निर्यात गर्ने विषयमा दुई देशबिच सहमति भएको थियो । सोही अनुसार हाल पूर्वाधार निर्माणको काम अघि बढेको छ । भैँसीको मासु मात्र नभई नेपालले कुखुराको मासु र पन्जा, सुँगुरको मासु निर्यातका लागि सक्षम रहेको र यसका लागि विभिन्न देशसँग छलफल भइरहेको पशु सेवा विभागका महानिर्देशक डा. तिवारीको भनाइ छ ।

हुन त नेपालबाट मासु निर्यातै नहुने भने होइन । भैँसी र राँगाको मासु अहिले पनि हङकङ, भियतनाम, अमेरिकालगायत देशमा निर्यात हुँदै आएको छ । तर, त्यो एकदमै न्यून छ । आर्थिक वर्ष २०८१÷०८२ मा १ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबर १ लाख ४४ हजार किलो राँगा र भैँसीको मासु निर्यात भएको थियो । यस्तै, २०७८/०७९ मा १ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार किलो मासु निर्यात भएको थियो ।
यदि नेपालले माछामासु निर्यात गर्न सक्यो भने यसले देशको अर्थतन्त्रलाई ठूलो टेवा दिन्छ । तर, निर्यातको दृष्टिले गुणस्तरीय उत्पादन र आवश्यक पूर्वाधार नहुँदा समस्या रहेको बताउँछन्, पशु सेवा विभागका महानिर्देशक डा. तिवारी । ‘माछामासु निर्यातका लागि सबैभन्दा ठूलो चुनौती भनेको उत्पादनको गुणस्तर हो,’ उनी भन्छन्, ‘हामीले अन्तर्राष्ट्रिय बजारमा जानका लागि मासुमा आवश्यक स्वास्थ्य मापदण्ड, स्वच्छता, प्याकेजिङ र प्रशोधन प्रविधि प्रयोग गर्नुपर्छ । नेपालमा व्यवस्थित ‘स्लाटर हाउस’ (वधशाला) को कमी छ । केही सहरहरूमा आधुनिक वधशाला निर्माण भए पनि त्यसको प्रभावकारी प्रयोग र विस्तार हुन सकेको छैन ।’
धेरै चुनौतीका बाबजुद माछामासुमा आत्मनिर्भर बनेको नेपालसँग अब विदेशी बजारमा पहिचान बनाउन सक्ने सुनौलो अवसर छ । यसका लागि दीर्घकालीन रणनीति, गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्न सकियो भने माछामासु निर्यात नेपालको कृषि–आधारित अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण पाटो बन्न सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।