नेपाललाई कृषि उत्पादनको हिसाबले अत्यन्तै सम्भावनायुक्त मुलुक मानिन्छ । विश्वका अधिकांश जलवायु उपलब्ध छन्, जो विश्वमा उत्पादन हुने अधिकांश कृषिजन्य वस्तुका लागि अनुकूल छन् । भौगोलिक विविधता, माटोको प्रकार, जलवायु अवस्था र पानीका स्रोतहरूले गर्दा यहाँ विभिन्न प्रकारका कृषि उत्पादन गर्न सक्ने क्षमता छ ।
तीमध्ये फलफूल उत्पादन विशेष सम्भावनायुक्त क्षेत्र हो । हिमाल, पहाड र तराईका फरक–फरक भौगोलिक अवस्थाका कारण नेपालमा मौसमी तथा अमौसमी दुवै प्रकारका फलफूल उत्पादन गर्ने प्रशस्त अवसर छ । नेपालमा हिमाल, पहाड र तराई तीनै भेगमा विभिन्न प्रकारका फलफूल उत्पादन गर्न सकिन्छ ।
तराई क्षेत्रमा अम्बा, कागती, केरा, आँप जस्ता फलफूल खेती गर्न सकिन्छ भने पहाडी क्षेत्रमा स्याउ, केरा, अङ्गुर, नाशपाती र हिमाली भेगमा किवी, अङ्गुर, स्याउ लगायत फलफूलको उत्पादन गर्न सकिन्छ । जलवायु र भौगोलिक अवस्थाले नेपाललाई फलफूल उत्पादनमा अनुकूल अवसर पनि दिएको छ ।
विश्व बजारमा माग बढ्दै गएको फलफूलका उत्पादनमा नेपाल आत्मनिर्भर मात्र नभई निर्यातकर्ताको रूपमा विकसित हुन सक्ने क्षमता राख्छ । पछिल्लो समय फलफूल खपत गर्नेको सङ्ख्या पनि दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । हालका दिनहरूमा मानव स्वास्थ्यका लागि फलफूलको योगदान उल्लेखनीय छ । तर नेपालमा हालको उत्पादन माग धान्न पर्याप्त छैन । जसका कारण फलफूल आयातमा निर्भर रहनु परिरहेको छ ।
नेपालले भारत, बङ्गलादेश, थाइल्याण्ड, अस्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया लगायतका मुलुकबाट फलफूल आयात गरिरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा २१ अर्ब १७ करोड मूल्य बराबरको २ लाख ६७ हजार ७२२ मेट्रिक टन फलफूल आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १९ अर्ब ५१ करोड रुपैयाँको विदेशी फलफूल आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको थियो । नेपाल हालसम्म कुनै पनि किसिमको फलफूलमा आत्मनिर्भर बन्न सकेको छैन ।
यो तथ्याङ्कलाई हेर्दा फलफूलको आयात दर अझै बढ्दो छ । प्रत्येक वर्ष आयात गरिने फलफूलमध्ये केरा, स्याउ, मौसम र सुन्तला प्रमुख छन्, जसको आयात निरन्तर रूपले बढिरहेको छ । हुन त सरकारले फलफूलमा आत्मनिर्भरको योजना नबुनेको होइन । नेपाललाई १० मुख्य फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७३/७४ मा फलफूल आत्मनिर्भर दशक कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम सञ्चालन गरिएको एक दशक हुन लाग्दा समेत नेपाल कुनै पनि फलफूलमा आत्मनिर्भर हुन सकेको छैन ।
यति मात्र होइन, सरकारले पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना गत वर्ष पनि अघि सारेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलेले आर्थिक वर्ष २०८१/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बन्ने घोषणा गरेका थिए ।
यसरी सरकारले स्वदेशमै फलफूल उत्पादन गरी आत्मनिर्भर हुन पटक–पटक विभिन्न ठाउँमा हावापानीका आधारमा जोन, सुपरजोन र पकेट क्षेत्र घोषणा गरको छ । तर हालसम्म पनि माग अनुरूप फलफूलको उत्पादन बढाउन सकिएको छैन । उल्टै झन् झन् परनिर्भर बन्दै गएको कृषि वैज्ञानिक डा. उमेश आचार्यले बताए ।
‘नेपालमा उपयुक्त ठाउँमा फलफूल खेती विस्तार गर्न सके आत्मनिर्भर नभई निर्यातसमेत गर्न सक्छ,’ उनले भने, ‘तर हामीले आफ्नै माग पनि धान्न सकिरहेका छैनौँ । पछिल्लो समय अझ फलफूलमा परनिर्भर बढ्दै गएको छ ।’
मुलुकको करिब ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४.७९ प्रतिशत फलफूल खेतीले ओगटी ७.०४ प्रतिशत कृषिको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिएको छ । यसलाई अझै विस्तार गर्न भने सकिने उनी बताउँछन् । तर, नेपालमा फलफूलको विकासमा धेरै समस्याहरू रहेको कृषि वैज्ञानिक डा. आचार्यको भनाई छ ।
उनका अनुसार उन्नत जातका बिरुवाको अभाव, आधुनिक खेती प्रविधिको प्रयोगमा कमी, रोग र कीराको प्रभावकारी व्यवस्थापनको अभाव र जलवायु परिवर्तनका कारण हुने खडेरी तथा बेमौसमी वर्षाजस्ता जोखिमहरू धेरै रहेको छ । ‘धेरै किसान परम्परागत तरिकाले फलफूल उत्पादनमा निर्भर छन्,’ उनी भन्छन्, ‘अहिले पनि धेरै किसानहरू हावापानी र अनुभवकै भरमा बिउ रोप्छन्, रोग–कीरा नियन्त्रणको लागि परम्परागत उपाय मात्र अपनाउँछन् ।’

जसका कारण उत्पादनमा मौसमी अस्थिरता र गुणस्तरमा भिन्नता देखिन्छ । फलफूलको भण्डारण र प्रशोधनमा कमी हुनु अर्को ठूलो चुनौती रहेको उनको भनाई छ । धेरै फलफूल विशेषगरी चाँडै बिग्रने किसिमका हुन्छन् । नेपालको ठूला शहर र बजारसम्म डाक–डेलिभरी र शीत भण्डारणको सुविधा अभावका कारण धेरै फलफूल उत्पादन किसानको खेतमै नष्ट भइरहेको छ ।
नेपालमा फलफूलको प्रशोधन उद्योग जस्तै जुस, रिफ्रिजरेसन, ड्रम प्याकिङ्ग, सुख्खा फल बनाउने उद्योग पर्याप्त छैन । यी सबै समस्याले गर्दा नेपाल अझै फलफूलमा आत्मनिर्भर बन्न सकिरहेको छैन । त्यसका लागि सरकारले दीर्घकालीन रणनीति बनाएर प्राविधिक सहयोग, भण्डारण सुविधा, बजार सुनिश्चितता र गुणस्तरीय अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने कृषि वैज्ञानिक डा. आचार्य बताउँछन् ।
व्यावसायिक फलफूल खेती गर्न सके प्रशस्त आयआर्जन गर्न सकिन्छ । फलफूल उत्पादनले नेपालको ग्रामीण जीवनमा आर्थिक परिवर्तन ल्याउन सक्छ । किसानले नगदेबालीको रूपमा फलफूल खेतीलाई प्राथमिकता दिए रोजगार सिर्जना हुन्छ । अझ महत्त्वपूर्ण कुरा भनेको यसको बजार मूल्य उच्च हुने भएकाले आम्दानी बढ्नेछ ।
त्यसका लागि इच्छुक किसानलाई तालिम, प्रविधि हस्तान्तरण र वित्तीय सहयोग अपरिहार्य छ । सरकारले किसानलाई सिँचाइ सुविधा, आधुनिक बगैँचा निर्माण, मल–उर्वरक र कीरा नियन्त्रणका लागि सहयोग, बीउ मल प्रदान गर्नुपर्छ । सम्भावनाको हिसाबले नेपाल फलफूलमा आत्मनिर्भर मात्र नभई निर्यातका लागि पनि सम्भावना बोकेको देश हो । यसले किसानको आम्दानी बढाउने मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्याउँछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।