मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ । मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्भावित बाढीपहिरो र भू–स्खलनको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ ।
निश्चित समयमा मात्र सवारीसाधन सञ्चालन गर्न पाइने र तोकिएको समय बाहिर आवागमन गर्न रोक लगाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ ।
बेलुका ६ः३० देखि बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रजीअ पौड्यालले बताए । प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको तथा तत्काल परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ ।
‘सम्भावित विपद् व्यवस्थापनका लागि सबै स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति, सरकारी निकाय, निजी क्षेत्र र गैह्र सरकारी संस्थाले स्वीकृत मनसुन कार्य योजना अनुरुप आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि आ–आफ्नो विषयमा क्षेत्रगत तयारीमा रहन प्रशासनले अनुरोध गरेको छ’, प्रजीअ पौड्यालले भने ।
सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी पहिरोको जोखिम रहेकाले मर्स्याङ्दी, नारखोला, दूधखोला, डोनाखोला तथा ठाडाखोलालगायत स्थानीय खोलामा पानीको सतह बढ्ने, बाढीपहिरो गई आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न, बेंसीशहर-चामे-खाङ्सार सडकलगायत स्थानीय ग्रामीण सडकमा सवारीसाधन चलाउँदा आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशनको पालना गर्न सर्वसाधारणसहित सबै सरोकारवाला निकायमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।