१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

पानीमुनि ‘ऊर्जा-सक्षम’ डाटा सेन्टर परीक्षण गर्दै चीन

अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टर तातो हुने भएकाले चीनले सर्भरलाई समुद्रमुनि राखेर चलाउने प्रयोग सुरु गरेको छ । यसरी प्राकृतिक चिसोपन प्रयोग गरेर ऊर्जा बचत गर्ने प्रयास गरिएको हो ।


साङ्घाई नजिकै समुद्रभित्र राख्न लागिएको ठूलो पहेँलो क्याप्सुल अहिले तयारीको अन्तिम चरणमा छ । यसमार्फत चीन टेलिकम र राज्य–स्वामित्वमा रहेका एआई कम्प्युटिङ कम्पनीलाई सेवा दिन सकिने बताइएको छ ।



हाइल्यान्डर नामक समुद्री उपकरण कम्पनीका उपाध्यक्ष याङ येका अनुसार, समुद्रमुनिको डाटा सेन्टरले चिस्याउन चाहिने ऊर्जाको करिब ९० प्रतिशत बचत गर्न सक्छ । सामान्य डाटा सेन्टरहरूमा चाहिने वायु शीतलन वा पानी वाष्पीकरण प्रणाली आवश्यक पर्दैन ।

यसअघि सन् २०१८ मा माइक्रोसफ्टले स्कटल्यान्डमा यस्तै परीक्षण गरेको भए पनि त्यसलाई व्यावसायिक प्रयोगमा ल्याएको थिएन । तर चीनमा अक्टोबरको मध्यतिर डुबाइने यो परियोजना भने विश्वकै पहिलो व्यावसायिक स्तरको समुद्रमुनि डाटा सेन्टर मानिनेछ ।



सरकारले पनि यस्ता परियोजनामा सहयोग गर्दै आएको छ । हाइल्यान्डरले सन् २०२२ मा हाइनान प्रान्तमा गरिएको समान योजनाका लागि करिब ५६ लाख अमेरिकी डलर बराबरको अनुदान पाएको थियो ।

योजना अनुसार यो संरचनाले नजिकैका अपतटीय पवन फार्मबाट ९५ प्रतिशतभन्दा बढी नवीकरणीय ऊर्जा प्रयोग गर्नेछ । तर समुद्री नुनिलो पानीका कारण सामग्री बिग्रन सक्ने भएकाले क्याप्सुललाई गिलास फाइबरले ढाकिएको छ । साथै, मर्मत गर्न सजिलो होस् भनेर पानीमाथि उठाउन मिल्ने व्यवस्था पनि गरिएको छ ।

यद्यपि, विज्ञहरू अझै धेरै चुनौती बाँकी रहेको बताउँछन् । समुद्रमुनिको सर्भरलाई इन्टरनेटसँग जडान गर्न कठिनाइ हुन्छ । साथै, ध्वनि तरङ्गमार्फत आक्रमणको जोखिमसमेत रहने अनुसन्धानहरूले देखाएका छन् ।



  • प्रकाशित मिति : १७ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया