१५ नेपालीलाई बेचबिखन गर्ने दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो । 

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाइ पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पुर्याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको जानकारी दिए । ‘बन्दक बनाएका नागरिकलाई काममा लगाएर पारिश्रमिक नदिने गरेको अनुसन्धानमा खुलेको छ,’ कार्कीले भने । 

पीडितलाई ब्युरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी संगठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको ब्युरोले जनाएको छ। पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरो प्रमुख कार्कीले बताए । 

पक्राउ परेका राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर १० लाख रुपैयाँ धरौटीमा रिहा भएको ब्युरोले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १४:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया