२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, ६ स्थानमा पूर्णरुपमा बन्द

वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् ।


नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली  अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरु पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् ।



कोशी प्रदेशमा पूर्ण अवरोध संखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ । भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६ गतेदेखि नै अविरल वर्षाले राजमार्ग पूर्ण रूपमा बन्द छ ।



मकालु गाउँपालिका–३ एकुवामा पनि २०८२ भदौ १५ देखि सडक सुचारु हुन सकेको छैन । वर्षा नरोकिएसम्म राजमार्ग सञ्चालन असम्भव रहेको स्थानीय प्रशासनले जनाएको छ ।

बागमती प्रदेशमा जोखिम बढ्दो

रसुवा जिल्लामा चीनसँगको सीमाना जोड्ने पुलमा बाढीका कारण असार २४ देखि नै आवागमन ठप्प छ । यस्तै, गोसाइँकुण्ड गाउँपालिका-२ को तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा समेत पहिरोले राजमार्गहरु अवरुद्ध छन् । भोटेकोशी गाउँपालिका–४ चारकिलोमा गएको पहिरोले असोज १६ बिहान ८ः१५ बजेबाट सडक बन्द भएको हो । धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा पनि बीपी  राजमार्ग र अरनिको राजमार्ग दुबै तर्फको सवारी साधन अनिश्चितकालका लागि रोकिएको छ ।



काठमाडौंबाट बाहिरिने मार्ग होल्ड

काठमाडौं चन्द्रागिरि नगरपालिका हुँदै धादिङ र मकवानपुरतर्फ जाने पृथ्वी लोकमार्ग तथा अरनिको राजमार्गमा समेत अहिले सवारी साधन रोकिएको छ । नागढुङ्गा, गोदाम र टखेल मार्ग हुँदै बाहिरिने सबै सवारी साधनहरू अर्को आदेश नआएसम्मका लागि होल्ड गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यात्रा नगर्न र वैकल्पिक मार्ग तथा जानकारीको लागि स्थानीय प्रशासन वा ट्राफिक कार्यालयको सम्पर्कमा रहन अनुरोध गरेको छ ।
 

  • प्रकाशित मिति : १८ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया