अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आह्वानको स्वागत गर्दै हमासले गाजामा युद्धको अन्त्य गर्न र बन्धकहरूलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न तयार रहेको बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा ट्रम्पको शान्ति प्रस्तावले लामो द्वन्द्व र शत्रुता रोक्न, ७२ घण्टा भित्र बन्धकहरूको रिहाई गर्ने गाजाबाट क्रमिक इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गरेको छ ।
योजनाले हमास र अन्य गुटहरूको ‘गाजामा कुनै भूमिका छैन’ भन्ने कुरामा जोड दिँदै यस क्षेत्रको प्रशासन ट्रम्पको नेतृत्वमा रहेको युद्धको संक्रमणकालीन अवस्थापछि सम्बन्धित निकायले लिने जनाएको छ ।
गाजा पट्टीमा इजरायली आक्रमणको तत्काल अन्त्यबारे राष्ट्रपति ट्रम्पको शान्ति योजना उत्साहजनक रहेको हमासका प्रवक्ता ताहेर अल–नुनुलाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ- ‘हमास कैदी आदान–प्रदान गर्न, युद्धको अन्त्य गर्न र गाजा पट्टीबाट (इजरायली) सेनाको फिर्ती सुनिश्चित गर्न तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको उहाँले बताउनु भयो ।’
नेतान्याहुको कार्यालयले जवाफमा इजरायलले ‘सबै बन्धकहरूको रिहाइका लागि ट्रम्पको योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको जनाएको छ ।’ राष्ट्रपति ट्रम्पको दृष्टिकोणसँगको समन्वयमा इजरायलले तय गरेको सिद्धान्त अनुसार युद्ध अन्त्य गर्न पूर्ण सहयोगी भुमिका खेल्नै नेतान्याहुको कार्यालयले जनाएको छ ।
संक्षिप्त भिडियो सन्देश जारी गर्दै ट्रम्पले गाजा वार्तामा सबै पक्षलाई ‘निष्पक्ष व्यवहार’ गरिने भन्दै यो घटनाक्रम भएको दिनलाई ‘विशेष दिन’को रूपमा प्रशंसा गरेका छन् । शुक्रबारको घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायबाट आशावादी बनाई प्रतिक्रियाको लागि आकर्षित गरेको छ ।
प्रमुख मध्यस्थकर्ता कतार र इजिप्ट दुवैले हमासको बयानलाई स्वागत गर्दै यसले द्वन्द्वको अन्त्य सुनिश्चित गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई यो अवसरको उपयोग गर्न आग्रह गरेको उनका प्रवक्ताले बताएका छन् ।
फ्रान्सका इमानुएल म्याक्रोन, जर्मनीका फ्रेडरिक मेर्ज र बेलायतका कीर स्टारमर सबैले यसलाई शान्तितर्फको ठूलो कदमका रूपमा स्वागत गरेका छन् । टर्कीले हमासको प्रतिक्रियाले ‘गाजामा तत्काल युद्धविराम स्थापना गर्ने अवसर प्रदान गरेको’ जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।