नेपालको अर्थतन्त्रमा निर्यातको योगदान निकै कम छ । त्यसैले नेपाललाई आयातमुखी देशका रूपमा चिनिन्छ । तर पनि नेपालबाट निर्यात हुने केही मौलिक उत्पादनहरूले राष्ट्रिय पहिचानसँगै विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण योगदान दिइरहेको छ ।
त्यस्ता थोरै निर्यात हुने वस्तुमध्ये ‘कुचो’ एक हो । सामान्यतया घरको सरसफाइसँग जोडिएको कुचो अहिले व्यापारिक उत्पादनका रूपमा विदेश पुगेर नेपाललाई प्रतिनिधित्व गरिरहेको छ ।
पूर्वी पहाडदेखि मध्य नेपालसम्म अम्रिसो घाँस प्रशस्त पाइन्छ । यही अम्रिसोको फेद काटेर सुकाइएपछि बनाइने कुचो बलियो, हल्का र लामो समयसम्म टिक्ने हुन्छ । गाउँघरमा परम्परागत रूपमा प्रयोग हुँदै आएको कुचो अहिले भारत, भुटान, बंगलादेश जस्ता छिमेकी मुलुकसम्म निर्यात हुन्छ । नेपाली कुचो गुणस्तरीय भएकै कारण पछिल्लो समय माग बढेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् ।
उनका अनुसार कुचो निर्यातले नेपाली किसान र ग्रामीण महिलालाई रोजगारी तथा आम्दानी दुवै दिएको छ । पछिल्ला वर्षहरूमा नेपालबाट अरबौँको कुचो निर्यात हुन्छ । भन्सार विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै नेपालले १ अर्ब १५ करोड ७ लाख ६९ हजार रुपैयाँ बराबरको कुचो निर्यात गरेको छ । यो सङ्ख्यामा करिब १ करोड ५१ लाख ९३ हजार १४० थान कुचो निर्यात भएको हो ।
यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार रुपैयाँमा १ करोड ३५ लाख ६२ हजार ३२० थान कुचो निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८८ लाख रुपैयाँको कुचो निर्यात हुँदा २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो । नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुन्छ भने २५ प्रतिशत कुचो देशभित्रै खपत हुन्छ ।
नेपालले कुचो निर्यात गरेर ठूलो रकम भित्र्याउन सक्ने उनी बताउँछन् । मुलुकको भूगोल, हावापानी अम्रिसो खेती गर्न सुहाउँदो भएकाले उत्पादन र निकासी दुवै बढाउन सक्ने सम्भावना छ । ‘नेपाली कुचोको मुख्य बजार भारत हो । बंगलादेशसम्म नेपाली कुचोको माग छ,’ संघका अध्यक्ष कार्की भन्छन्, ‘गुणस्तर मापदण्ड, प्याकेजिङ र आधुनिकीकरणमा ध्यान दिन जरुरी छ । कुचोलाई ब्रान्डिङ गरेर निर्यात विस्तार गर्न सके ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।’

नेपालबाट थोरै वस्तु निर्यात भए पनि कुचो जस्तो साधारण देखिने उत्पादनले विदेशी बजारमा स्थान बनाउँदै राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिइरहेको छ । भविष्यमा यसलाई रणनीतिक रूपमा प्रवर्द्धन गर्न सके कुचो नेपालको निर्यातको आकर्षक अध्याय बन्न सक्ने नेपाल कुचो संघका अध्यक्ष कार्की बताउँछन् । उनका अनुसार हाल भारतमा कुचोको कच्चा पदार्थ मात्रै निर्यात हुन्छ । त्यसलाई नेपालमै ब्रान्डिङसहित निर्यात गर्न सकियो भने अझै बढी विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ ।
अम्रिसो खेती केवल आर्थिक दृष्टिले मात्र होइन, पर्यावरणीय र सामाजिक दृष्टिले पनि उत्तिकै उपयोगी छ । सुख्खा याममा पशुहरूको लागि हरियो घाँसको काम गर्छ । जुन अत्यन्तै पोसिलो हुन्छ । कृषकहरूले भैँसी, गाई, बाख्रादेखि भेडासम्मलाई अम्रिसो खुवाउँदा दुग्ध उत्पादनमा वृद्धि हुने उनी बताउँछन् ।
त्यसै गरी अम्रिसो जमिनको संरक्षणमा पनि महत्त्वपूर्ण मानिन्छ । पाखा, डाँडामा अम्रिसो रोप्दा बाढी–पहिरो कम हुने, माटो बग्ने समस्या न्यून हुन्छ । यसरी हेर्दा अम्रिसो पशुपालन, भूमिसंरक्षण र आयआर्जनलगायत बहुउपयोगी वनस्पति रहेको संघका अध्यक्ष कार्की बताउँछन् । उनका अनुसार अम्रिसो खेती नेपालभर सम्भव भए पनि हाल पूर्वी क्षेत्रमा बढी खेती हुँदै आएको छ ।
विशेषगरी इलाम जिल्ला अम्रिसो उत्पादनको केन्द्रका रूपमा चिनिन्छ । इलामसँगै पाँचथर, ताप्लेजुङ, खोटाङ, भोजपुर, तेह्रथुम, झापा, सुनसरी, सङ्खुवासभा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, लमजुङ, स्याङ्जा र पाल्पामा अम्लिसो खेती हुन्छ । एक लाखभन्दा बढी घरपरिवार अम्लिसो खेतीमा निर्भर रहेको संघका अध्यक्ष कार्कीको भनाइ छ ।

नेपालमा अझै पनि धेरै किसानले अम्रिसो खेतीलाई प्राथमिकता दिएका छैनन् । अम्रिसो खेतीमा आकर्षित गर्न सरकारले किसानहरूलाई प्रोत्साहन दिनुपर्ने उनको सुझाव छ । ‘अम्रिसो खेती कम लगानीमै उच्च उत्पादन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘जमिनमा अम्रिसो रोप्दा वर्षौंसम्म नियमित आम्दानी लिन सकिन्छ । त्यसैले पनि यसलाई प्रवर्द्धन गर्न आवश्यक छ ।’
जसका लागि बीउ, नर्सरी, बजार आश्वासन र न्यूनतम मूल्य तोक्ने व्यवस्था भए किसान अझै उत्साहित हुने छन् । ग्रामीण क्षेत्रमा अम्रिसो खेती र कुचो उद्योगले हजारौँ परिवारलाई रोजगार दिएको छ । धेरै महिलाहरू घरमै बसेर कुचो बनाएर स्थानीय व्यापारीलाई बिक्री गर्छन् । नेपाली समाजमा सामान्यजस्तो लाग्ने अम्रिसो वास्तवमा बहु आयामिक महत्त्व बोकेको वनस्पति हो ।
यदि सरकारले ब्रान्डिङ, उद्योग विस्तार र किसानलाई प्रोत्साहन गर्ने हो भने नेपालको प्रमुख निर्यात उद्योगका रूपमा उदाउन सक्छ । अम्रिसो खेतीलाई सरकारको नीति र कार्यक्रमभित्र प्राथमिकतामा राखेर ग्रामीण भेगलाई आत्मनिर्भर र समृद्ध बनाउन सकिन्छ । यसले किसानको जीवनस्तर उकास्ने मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।