१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

फापर : गाउँबाट लोप, शहरको ‘सुपरफुड’

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । पछिल्लो केही वर्षयता व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको हो । व्यावसायिक रूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । पहिला–पहिला हिमाली र पहाडी भेगमा प्रशस्त लगाइने यो बाली अहिले कतैकतै मात्र देख्न सकिन्छ ।  


फापरका विभिन्न जाति भए पनि तिते र मिठे गरी नेपालमा दुई जातको खेती बढी लगाइएको पाइन्छ । नेपालमा फापर प्राय १२०० मिटरदेखि ३,५०० मिटर उचाइमा लगाइन्छ । तराई क्षेत्रमा यसको उत्पादन न्यून भए पनि मध्य पहाड र हिमाली भेगमा यसको खेती बढी हुन्छ । 



विशेष गरी सिन्धुपाल्चोक, दोलखा, रसुवा, खोटाङ, भोजपुर, सोलुखुम्बु, हुम्ला, मुगु, जुम्ला, रोल्पा र बझाङ फापर उत्पादनका प्रमुख जिल्ला मानिन्छन् । नेपालमा वार्षिक करिब ११–१२ हजार हेक्टर क्षेत्रफलमा फापर लगाइन्छ । करिब ११–१२ हजार मेट्रिक टन उत्पादन हुन्छ । तर, पछिल्लो समय खेतीयोग्य जमिनमा समेत फापर बाली हराउन थालेको कृषि वैज्ञानिक डा. सुशील सुवेदीको भनाई छ । 

उनका अनुसार अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागत रूपमा खेती गर्ने पाका पुस्ताले मात्र फापर बाली लगाउँदै आएका छन् । ‘अहिले कमैले मात्र फापर खेती गर्ने गरेका छन्,’ सुवेदी भन्छन्, ‘हामी फापरकै आँटो, ढिँडो र रोटी खाएर हुर्किएका हौँ, अहिले गाउँमा फापर खेती गर्न छाडे ।’



अचेल फापरका परिकार गाउँमा पाक्न छाडेका छन् । मेला–महोत्सवमा मात्र फापर सीमित भएको उनी बताउँछन् । उनका अनुसार रैथाने बाली फापरको आँटो, ढिँडो, रोटीलगायत परिकार बनाएर खान सकिन्छ । तर, पछिल्लो समय आयातित खानेकुराको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ । 

फापर स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन भएको कृषि वैज्ञानिक डा.सुवेदी बताउँछन् । फापरमा २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व पाइन्छ । फापरमा प्रशस्त मात्रामा रेशादार तत्व, भिटामिन बी १, बी २ र बी ६, प्रोटिन, खनिज पाइन्छ । फापर मिनरल, भिटामिनको राम्रो स्रोत मानिन्छ । त्यति मात्र होइन, यसमा कार्बोहाइड्रेड, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ । मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको स्रोत हो । फापर मधुमेह नियन्त्रणका लागि पनि लाभदायक मानिने उनी बताउँछन् । 

फापरको सेवनले रगतमा कोलस्ट्रोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण पनि हुन्छ । फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ । मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा हुन्छ । ‘फापर बहु गुणी बाली हो,’ उनी भन्छन्, ‘फापर गरिबको खाना भए पनि धनीका लागि साँचिक्कै औषधि हो । फापरलाई ‘सुपरफुड’ पनि भनिन्छ ।’ 



तर, पछिल्लो समय फापरका परिकार गाउँमा पाक्न छाडेका छन् । मेला–महोत्सवमा मात्र फापर सीमित भएको छ । आधुनिक कृषि प्रविधि र बजार व्यवस्थापनसँगै यसलाई नगदे बालीका रूपमा विकास गर्न सकिने उनी बताउँछन् । पछिल्लो समय सहरतिर फापरको माग विस्तार हुँदै गएको छ । काठमाडौं, पोखरा, धरानजस्ता सहरी क्षेत्रमा फापरको रोटी, ढिँडो, दलिया, बिस्कुट वा नुडल्सका रूपमा उपभोग बढेको पाइन्छ । तर मागअनुसार आपूर्ति पुग्न सकेको छैन ।

जसले गर्दा फापर पनि ठूलो मात्रामा आयात हुने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा करिब २१ करोडको फापर आयात भएको छ । यसबाट २ करोड ५७ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ करोड ६१ लाख ३९ हजारको ६ लाख ८८ हजार केजी फापर आयात भएको थियो । 

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ८३ लाख २१ हजारको १ लाख २३ हजार ४०० केजी फापर आयात भएको भन्सार तथ्याङ्कमा उल्लेख छ । फापर चीन र भारतबाट आयात हुन्छ । तर, नेपालमै उत्पादन बढाएर फापरलाई आधुनिक शैलीमा प्रशोधन गरेर उत्पादन बढाउन सकिने कृषि वैज्ञानिक डा. सुवेदी बताउँछन् । ‘फापरलाई रोटी र ढिँडोको रूपमा मात्र खान हुँदैन,’ उनी भन्छन्, ‘नयाँ पुस्ताको माग अनुसार ढिँडो, रोटी, पराठा, दलिया, हलुवा, खिचडीदेखि बिस्कुट र नुडल्ससम्म बनाएर खानुपर्छ ।’

चीन, जापान, युरोप र अमेरिकामा फापरको माग बढ्दो छ । नेपालले जैविक खेतीलाई प्राथमिकता दिए निर्यात विस्तार गर्न सक्छ । यस्तै मकै वा गहुँ मात्रमा निर्भर नगरी फापरलाई विकल्पीय बालीको रूपमा विस्तार गर्न सकिने पनि उनी बताउँछन् । जसको लागी किसानलाई सुधारिएको बीउ, तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने आवश्यक छ । 

यस्तै, फापरलाई राष्ट्रिय बाली विकास कार्यक्रम अन्तर्गत समावेश गर्ने, सिँचाइ, मलखाद र भण्डारण सुविधा विस्तार गर्ने, सहकारी र निजी क्षेत्रलाई प्रशोधन उद्योग खोल्न प्रोत्साहन गर्ने, फापरको बजार प्रवर्द्धन र निर्यात प्रबन्धमा सरकारले सक्रिय भूमिका खेल्न आवश्यक छ । 

नेपालमा फापर उत्पादन अझै पनि परम्परागत रूपमा सीमित क्षेत्रमा भइरहेको छ । तर, यसको पोषणीय महत्त्व, बजार माग र निर्यात सम्भावनालाई ध्यानमा राख्दा यो बालीलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्ने समय आएको पनि कृषि वैज्ञानिक डा. सुवेदी बताउँछन् ।
 
किसानलाई प्राविधिक सहयोग, बजार सुनिश्चितता र मूल्य स्थिरताको ग्यारेन्टी दिए फापर उत्पादन विस्तार गरी स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिन्छ । फापर केवल एक साधारण अन्नबाली होइन, पोषण, स्वास्थ्य, आय–आर्जन र ग्रामीण जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिएको बहु गुणी बाली हो । यसको उचित प्रचार–प्रसार र व्यावसायिक उत्पादनले नेपाललाई आत्मनिर्भर बनाउन ठूलो योगदान दिन सक्छ । 

  • प्रकाशित मिति : १९ असोज, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया