२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कायरोमा वार्ता सुरु, थाहा होला विपिन जोशीको अवस्था ?

गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य र बन्धकहरूको मुक्तिका लागि इजरायली र हमासका वार्ताकारहरू आइतबार इजिप्टको राजधानी कायरोमा भेला भएका छन् । इजरायली नेताहरूले आगामी केही दिनभित्रै बन्धकहरू रिहा हुने आशा व्यक्त गरेका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित रोडम्यापमा हमासले देखाएको सकारात्मक प्रतिक्रियापछि इजरायलमाथि कूटनीतिक दबाब बढेको हो । उक्त प्रस्तावमा इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको सट्टामा बन्धकहरूलाई रिहा गर्ने व्यवस्था समावेश गरिएको छ । यदि सहमति जुटेमा नेपालका विपिन जोशीसहित बन्दी बनाइएकाहरूको अवस्थाबारे थाहा हुनेछ । 



प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार वार्ताकारहरूलाई ‘प्राविधिक विवरणहरूलाई अन्तिम रूप दिन’ इजिप्ट पठाइएको जानकारी दिए । कायरोले पनि ‘सबै इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका धरातलीय अवस्था र विवरणमा छलफल गर्न’ हमास प्रतिनिधिमण्डललाई स्वागत गर्ने पुष्टि गरेको छ ।

इजिप्टका सरकारी सञ्चारमाध्यमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणको दोस्रो वार्षिकोत्सवअघि लडाकू समूह र इजरायली प्रतिनिधिहरू बीच आइतबार र सोमबार अप्रत्यक्ष वार्ता हुनेछ ।



ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले आफ्ना ज्वाइँ जारेड कुसनर र मध्यपूर्व वार्ताकार स्टिभ विटकफलाई इजिप्ट पठाउनुभएको छ । उहाँले हमासलाई चेतावनी दिँदै ‘ढिलाइ अब सह्य हुनेछैन’ भन्दै तुरुन्त सम्झौतामा पुग्न आग्रह गरेका छन् । 

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘इजरायलले गाजाबाट फिर्तीको प्रारम्भिक रेखा मान्य गरेको छ र यो प्रस्ताव हमाससँग साझा गरिएको छ । जब हमासले पुष्टि गर्छ, युद्धविराम तत्काल प्रभावकारी हुनेछ, बन्धक र कैदी आदानप्रदान सुरु हुनेछ ।’

‘आगामी केही दिनमा हामी हाम्रा सबै बन्धकहरूलाई फिर्ता ल्याउन सक्षम हुनेछौँ,’ यहुदी पर्व सुक्कोट सुरु हुनुअघि राष्ट्रलाई सम्बोधन गर्दै नेतान्याहुले भने, ‘ट्रम्पको योजनामार्फत कूटनीतिक रूपमा वा हाम्रो सैन्य शक्तिद्वारा हामासलाई निःशस्त्र गरिनेछ ।’
 
हमासले शुक्रबार राति ‘राष्ट्रपति ट्रम्पको प्रस्तावमा समावेश आदानप्रदान सूत्रअनुसार सबै बन्धकहरू — जीवित र अवशेष — मुक्त गर्न स्वीकृति दिएको’ घोषणा गरेको थियो । ट्रम्पले यो वक्तव्यलाई ‘स्थायी शान्तिका लागि तयार’ भएको प्रमाण भन्दै स्वागत गरे र इजरायललाई आक्रमण रोक्न आग्रह गरे ।

तर ट्रम्पको अपीलपछि पनि गाजामा इजरायली आक्रमण जारी छ । एएफपिटिभीले आइतबार तटीय क्षेत्रमा बाक्लो धुवाँ उडिरहेको दृश्य देखाएको छ । हमासको नियन्त्रणमा रहेको गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार बिहानको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । शनिबारको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको थियो । तीमध्ये ४० जना गाजा सहरमै मारिएका थिए ।



इजरायली सेनाले गाजा सहर वरिपरि व्यापक हवाई र स्थल आक्रमण जारी राखेको जनाएको छ र स्थानीय बासिन्दालाई फर्कन नदिन चेतावनी दिएको छ ।

गाजा सहरका ३९ वर्षीय महमुद अल–घाजीले भनेका छन्, ‘ट्रम्पले युद्धविरामको आह्वान गरेपछि पनि इजरायलले आक्रमण झन् बढाएको छ । अब यो नरसंहार रोक्न वार्ता छिटो अघि बढाउन जरुरी छ ।’

ट्रम्पको रोडम्यापमा हमास र अन्य गुटहरूको ‘गाजाको शासनमा कुनै भूमिका नहुने’ उल्लेख गरिएको छ । प्रस्तावमा शत्रुता रोक्ने, ७२ घण्टाभित्र बन्धकहरू रिहा गर्ने, गाजाबाट क्रमिक इजरायली फिर्ती र हमासको निःशस्त्रीकरणका प्रावधानहरू छन् ।

युद्धपछि क्षेत्रको प्रशासन ट्रम्पको नेतृत्वमा गठित सङ्क्रमणकालीन प्राधिकरणको प्राविधिक समितिले सम्हाल्ने योजना छ । गाजा सहरमा बसोबास गर्ने ५० वर्षीय सामी अडासले भन, ‘नेतान्याहु अब भाग्न सक्नुहुन्न । ट्रम्प नै इजरायललाई युद्ध रोक्न बाध्य पार्ने एक मात्र व्यक्ति हुनुहुन्छ ।’ 

  • प्रकाशित मिति : १९ असोज, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया