काठमाडौं– नेकपाका सांसद रामवीर मानन्धरले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको चर्को आलोचना गरेका छन् । सञ्चारमन्त्रीले गुठी प्रथालाई सामन्तवाद भनेको भन्दै उनले बाँस्कोटाको राजीनामा मागेका छन्।
‘सरकारको प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ। त्यो तत्काल फिर्ता लिनुस्,’ मानन्धरले भने, ‘होइन भने राजीनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’ उनले सञ्चारमन्त्री कि क्षमा माग्नुपर्ने होइन भने राजीनामा दिनुपर्ने माग गरे ।
गुठी विधेयकले कसैको हित नगर्ने विचार राख्दै मानन्धरले पुर्खाले गुठीमार्फत संरक्षण गरेको सम्पत्ति नमास्न सरकारलाई सुझाब दिए । उनले तुरुन्तै विधेयक फिर्ता नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिए ।
प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका नेता तथा सांसद भीमसेन दास प्रधानले सरकारको प्रवक्ताको जिम्मेवारी बोकेका मन्त्री बाँस्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्यपूर्ण भएको बताए । गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको उनको जिकिर थियो ।
‘प्रधानमन्त्री ओली नै संघीयताविरोधीका रुपमा देखापर्नुभएको छ,’ प्रधानमन्त्री्रति आक्रामक हुँदै प्रधानले भने, ‘०६२–६३ को आन्दोलनका वेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने प्रधानमन्त्री अहिले धर्म संस्कृति मास्न लाग्नुभएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।