गत २३ र २४ भदौको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई सरकारले घाइते परिचयपत्र वितरण गर्न थालेको छ । आइतबार राजधानीको राष्ट्रिय ट्रमा सेन्टरमा तीनजना घाइतेलाई औपचारिक रूपमा परिचयपत्र हस्तान्तरण गरिएको हो ।
सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, राहत र पहिचानका लागि परिचयपत्र वितरण थालेको हो । तर, घाइतेहरूले भने यो प्रक्रिया ढिलो भएको र सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरिरहेका छन् ।
घाइते दीपेन गुरुङले आफूहरूलाई भेट्न जेनजीको तर्फबाट कोही नआएको बताए । उनले सरकारको तर्फबाटसमेत कोही नआएको गुनासो गरे ।
घाइतेहरूको शारीरिक पीडामाथि मानसिक पीडा थपिएको छ । घाइतेहरू अझै अस्पतालको बेडमा छटपटाइरहेका छन् । तर, आफूहरूले उठाएको मूल मुद्दा बिर्सिएका छैनन् ।
पहिलाको सरकार भ्रष्ट भएको र जनताको आवाज नसुनेकै कारण आजको परिस्थिति आएको उनीहरूको ठम्याइ छ । अबका सरकारले बाटो बिराउन नहुने सुझाव दिन्छन् घाइते समीर आचार्यको छ ।
जेनजी आन्दोलनकै पृष्ठभूमिमा कम्तीमा ७४ जनाले ज्यान गुमाइसकेका छन् । नयाँ बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार तथा त्यसपछि बन्ने सरकारले आन्दोलनका मागलाई आत्मसात् गर्दै न्याय र सुधारका लागि ठोस कदम चाल्नै पर्ने घाइते जेनजीहरूले बताइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।