टी–२० अभ्यास खेलमा नेपालले कतारलाई १ सय ७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।
नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५६ रनको पारी खेलेका हुन् ।
यस्तै, कुशल मल्लले २९ बलमा दुई छक्का र एक चौकासहित अविजित ३८ रन बनाए । त्यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले २१ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३८ रनको इनिङ खेले ।
यस्तै, आरिफ शेखले १३ र आसिफ शेखले ११ रन जोडे । कतारका लागि मुहम्मद इक्रामुल्लाह र शारिक मुनिरले सर्वाधिक दुई/दुई विकेट लिए ।
पहिलो वार्मअप खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो । सो जितले टोलीको मनोबल उच्च बनाएको छ ।
आजको खेल आगामी छनोट चरणका लागि अन्तिम तयारीका रूपमा हेरिएको छ । ८ अक्टोबरदेखि सुरु हुने औपचारिक प्रतियोगितामा ९ टोली तीन समूहमा विभाजित छन् ।
नेपालले 'बी' समूहमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्त्यमा प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् ।
सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्ने तीन टोलीले २०२६ मा हुने टी–२० विश्वकपका लागि स्थान सुरक्षित गर्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।