आउँदो बुधबारदेखि ओमानमा आइसिसी टी–२० विश्वकप छनोट सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्ने छन् । टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा समान तीन टिम रहेका छन् ।
समूह चरणमा ९ वटै देशले दुई/दुई म्याच खेल्न पाउने छन् । र, तालिकाको शीर्ष दुईमा स्थान बनाउने टिमले सुपर सिक्स चरणमा स्थान बनाउने छन् । सुपर सिक्समा टिमहरूले समूह चरणको प्रतिद्वन्द्वी पाउने छैनन् ।

अर्थात् प्रत्येक टिमले सुपर सिक्समा चारवटा म्याच खेल्न पाउने छन् । सुपर सिक्स चरणको तालिकाको शीर्ष तीनमा पर्ने टिम आउँदो वर्ष भारत र श्रीलंकाले आयोजना हुने विश्वकपमा छनोट हुने छन् ।
विश्वकपमा पुग्न सक्ने तीन टोली
विश्वकप २०२६ को खाली स्थान भर्नसक्ने सर्वाधिक बलियो दाबेदार हो, नेपाल । अनुभवी खेलाडी, उच्च लय र अनुभवी प्रशिक्षक भएकाले नेपालले यसपालि पनि विश्वकपको टिकट सुरक्षित गर्ने सम्भावना बलियो छ ।
विश्वकपमा छनोट हुन नेपाली खेलाडीले पछिल्लो केही महिनायता लगातार प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षण गरेअनुसार टिमले नतिजा पनि हासिल गरिरहेको छ ।

मिसन विश्वकपको उद्देश्य लिएर अघि बढिरहेका नेपाली खेलाडी भारत, अस्ट्रेलिया र यूएईमा प्रशिक्षणपछि ओमान पुगेका हुन् । नेपालले विश्वकप छनोटको तयारीस्वरूप केही दिनअघि मात्र दुईपटकको टी–२० वर्ल्ड कप च्याम्पियन वेस्ट इण्डिजविरुद्धको सिरिज २–१ ले जितेको थियो ।
उक्त श्रृंखलाको प्रदर्शनपछि नेपाली टिमको आत्मविश्वास बढेको छ । र, नेपाल सोही लय विश्वकप छनोटमा दोहोर्याएर आफ्नो लक्ष्य हासिल गर्न चाहन्छ । हालसम्म नेपालले दुईपटक विश्वकप खेलेको छ ।
नेपालले सन् २०१४ र २०२४ को टी–२० विश्वकप खेलेको हो । दोस्रोपटक विश्वकप खेल्न नेपाली टिमले १० वर्ष कुर्नु पर्यो । यसपालि भने नेपाल त्यति लामो समय पर्खन चाहँदैन । विश्वकप छनोटमा नेपालले ८ अक्टोबरमा कुवेत तथा १० अक्टोबरमा जापानसँग खेल्ने तालिका छ ।
यस्तै, विश्वकप २०२६ मा छनोट हुनसक्ने अर्को टिम हो, यूएई । उसले पनि हालसम्म दुईपटक मात्र विश्वकप खेलेको छ । यूएईले सन् २०१४ र २०२२ को विश्वकप खेलेको थियो । ऊ गत संस्करणको विश्वकपमा भने छनोट हुन सकेन ।

यूएई त्यो असफलता बिर्सिँदै तेस्रोपटक विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ । हालै एसिया कप खेलेकाले यूएईको टिम पनि राम्रो प्रशिक्षणका साथ विश्वकप छनोट खेल्दैछ । र, उसले पछिल्लो केही महिनायता लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ ।
यूएईले गत मे महिनामा बंगलादेशविरुद्धको ऐतिहासिक श्रृंखला जित्नुका साथै अगस्टमा पाकिस्तान र अफगाननिस्तानविरुद्ध सिरिज खेलेको थियो । बलियो टिमविरुद्ध निरन्तर श्रृंखला खेलेका कारण ऊ मानसिकताका साथै विश्वकप छनोट खेल्ने तयारीमा छ ।
यद्यपि यूएई केही चर्चित खेलाडीबिना छनोट प्रतियोगिता खेल्दैछ । उसले आसिफ खान, रोहन मुस्तफा, आयन अफ्जल खानलाई टिममा समावेश गरेको छैन । यूएईले समूह चरणमा ८ अक्टोबरमा कतार तथा १० अक्टोबरमा मलेसियासँग खेल्ने छ ।

त्यस्तै, आउँदो विश्वकपमा छनोट हुनसक्ने अर्को टोली हो, कुवेत । हालसम्म विश्वकपमा नपुगे पनि ऊ यसपालि इतिहास रच्ने योजनामा छ । र, कुवेत अनुभवी खेलाडीका साथ ओमान पुगिसकेको छ ।
ऊ पछिल्लो केही महिनायता निरन्तर अभ्यासमा व्यस्त छ । र, कुवेतले विश्वकप छनोटअघिको वार्मअप म्याचमा ओमान र कतारविरुद्ध सहज जित निकालेको छ । विगतमा उसले नेपाललाई समेत हराइसकेको छ ।
कतारले समूह चरणमा ८ अक्टोबरमा नेपाल र ९ अक्टोबरमा जापानको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।