आइसिसी टी–२० विश्वकप छनोटअघिको वार्मअप म्याचमा नेपालले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा नेपालले सोमबार कतारलाई १६ रनले हरायो ।
नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराएको थियो । कतारले भने लगातार दोस्रो हार बेहोर्यो ।
आफ्नो दोस्रो वार्मअप म्याचमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
उसका लागि मुहम्मद तनवीरले ५१, मिर्जा मोहम्मद बेगले ४० तथा मुहम्मद असिमले ३० रन बनाए । नेपालका लागि बलिङमा करण केसीले तीन तथा ललितनारायण राजवंशी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।
नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५६ रनको पारी खेलेका हुन् ।
यस्तै, कुशल मल्लले २९ बलमा दुई छक्का र एक चौकासहित अविजित ३८ रन बनाए । त्यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले २१ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३८ रनको इनिङ खेले ।
यस्तै, आरिफ शेखले १३ र आसिफ शेखले ११ रन जोडे । कतारका लागि मुहम्मद इक्रामुल्लाह र शारिक मुनिरले सर्वाधिक दुई/दुई विकेट लिए ।
नेपालले अब विश्वकप छनोटमा ८ अक्टोबरमा कुवेत तथा १० अक्टोबरमा जापानसँग खेल्ने तालिका छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।