यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ ।
यस वर्ष सोही मितिमा दीपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा. विवेककुमार लालले ७५३ स्थानीय तहमा दुईदिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराए । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।
निर्देशक डा लालले भने, ‘६ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलका साथै जुकाको औषधि खुवाइने छ ।’
महाशाखाकाअनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।