२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

प्रविधिको प्रयोगसँगै विश्वसनीय बन्दै मौसम पूर्वानुमान, ८५ प्रतिशतसम्म मिल्ने गरेको दाबी

हरेक वर्ष जसो, कहीँ न कहीँ, कसै न कसैलाई प्राकृतिक विपत्तिले बिल्लीबाठ बनाइछाड्छ । समयमै मौसम पूर्वानुमान नहुँदा सरकारी लगानी बेकामे भइरहेको थियो भने, मौसमविद्हरूले पनि नराम्रोसँग आलोचना खेप्दै आएका थिए । 


सरकारको जल तथा मौसम विज्ञान विभागले पानी पर्छ भनेको दिन घाम लाग्ने र मौसम सफा रहन्छ भनेको दिन पानी पर्ने गरेको कयौँ घटनाले मौसमको भविष्यवाणीलाई मजाकको विषय बनाएर खिसिटिउरी गरिन्थ्यो । त्यस्तै, प्रभावकारी पूर्वानुमान नहुँदा मुलुकले जनधनको ठूलो क्षति बेहोर्दै आएको पनि असत्य होइन । 



जसका कारण मानिसहरू मौसमविद्लाई भन्दा बढी ज्योतिषीलाई विश्वास गर्थे, आकाशतर्फ हेरेर भविष्यवाणी गर्थे । तर अहिले अवस्था फेरिएको छ । नेपालमा मौसम पूर्वानुमान प्रणालीमा प्रविधिको बढ्दो उपयोग र नविनतम् उपकरणहरूमार्फत गरिने विश्लेषणले गर्दा मौसम विभागले आम मानिसको विश्वास जित्न थालेको छ । गत १७, १८ र १९ असोजमा देशभर परेको अविरल वर्षा र त्यसमा विभागले गरेको पूर्वानुमानले आम सर्वसाधारणलाई विभागप्रति थप विश्वास पैदा गरेको छ ।

विज्ञानका अघि मौसमको विषयमा अनावश्यक भविष्यवाणी गरेर अफवाह फैलाउने ज्योतिषहरू नाङ्गिए । पहिलो तिनै ज्योतिषीलाई विश्वास गरेर मौसमविद्को पूर्वानुमानलाई होच्याउनेहरूले अहिले तिनै ज्यातिषिमाथि प्रश्न गरे ।



जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय अत्यन्तै वैज्ञानिक र विश्लेषणात्मक ढङ्गले मौसमको पूर्वानुमान गर्ने गरेको छ । केवल अनुमानमा आधारित नभई तथ्य, तथ्याङ्क र विश्लेषणमा आधारित भएर विभागले मौसम पूर्वानुमान गर्ने गरेका कारण पछिल्लो समय आम सर्वसाधारणले पनि विभागलाई विश्वास गर्न थालेका छन् । अहिले आम नेपालीले विभागलाई विश्वास मात्र गर्न थालेका छैनन्, विभागले दिएको निर्देशन र चेतावनी अनुसार आफूलाई सजग बनाउन समेत थालेका छन् ।

हाल विश्वभर प्रचलित गणितीय मौसम पूर्वानुमान प्रणाली नेपालले पनि अपनाएको छ, जुन मोडेलले विभिन्न स्रोतबाट प्राप्त डाटाहरूलाई इनपुटको रूपमा लिएर कम्प्युटर प्रणालीमा विश्लेषण गर्छ । त्यसपछि, निश्चित अवधिसम्म मोडेल ‘रन’ गरेर आवश्यक पूर्वानुमान गरिन्छ । अहिले विभागले स्याटेलाइटबाट पनि काम गरिरहेको छ । खास गरी चाइनाको भूउपग्रहबाट प्राप्त बादलका तस्बिरहरू र जापनिज स्याटेलाइटबाट प्राप्त भूउपग्रहका तस्बिरहरूको विश्लेषणका आधारमा मौसम पूर्वानुमान गर्ने गरिएको छ । 



काठमाडौंमा रहेको जल तथा मौसम विज्ञान विभागको केन्द्रीय कार्यालय र मातहतको मौसम पूर्वानुमान महाशाखा साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल टावरबाट धेरै काम हुने गरेको छ । त्यहाँ रहेका चीन, भारत र जापानका स्याटेलाइट इमेज एवं वेबसाइटबाट धेरै काम हुने गरेको छ । आधुनिक प्रविधिको उपयोगसँगै नेपालमा मौसम पूर्वानुमान ८० देखि ८५ प्रतिशतसम्म मिल्ने गरेको विभागको दाबी छ । 

प्रविधिको विकाससँगै अब मौसम पूर्वानुमानमा एआई प्रविधि प्रयोग गर्ने तयारीसमेत विभागले गरिरहेको छ । नेपालमा मौसम पूर्वानुमान प्रणालीले पछिल्लो समय वैज्ञानिक र प्राविधिक सुधारका माध्यमबाट उल्लेखनीय प्रगति गरिरहेको हो । यसलाई अझै सशक्त र भरपर्दो पूर्वानुमान प्रणाली बनाउन नयाँ प्रविधि, जनशक्ति र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक देखिन्छ । एआईसहितको नयाँ प्रविधिहरूलाई समेट्दै गएमा विभागको मौसम पूर्वानुमान थप विश्वसनीय र प्रभावकारी बन्दै जानेछ । 

  • प्रकाशित मिति : २१ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया