१० माघ, २०८२ शनिबार
Jan. 24, 2026

चकचक होइन, चेतना : सुदन गुरुङ र हाम्रो समाजको ऐना

जब समाज मौनतालाई सद्गुण ठान्छ, तब बोल्नेहरू ‘चकचकिया’ ठहरिन्छन् । तर परिवर्तनको बिउ सधैं बोल्नेहरूले नै रोप्छन्।

“अरे ओ सुदन भाइ, तिमी किन चकचक ?”



अनि चर्को आवाज आउँछ — “अरे ओ सुदन भाइ! तिमी फेरि किन चकचक गर्दैछौ रे ?”

गाउँ होस्, सहर होस् वा बजार — जताततै सुदनको चर्चा छ।



कोही भन्छन्, “सुदन त ठूला समाजसेवी रहेछन्।”

कोही भन्छन्, “त्यो सुदन त हरेक सरकारी बैठकमा कुरा उठाउँछ, खबरदारी गर्छ र कुरा लम्ब्याउँछ रे !”

केही त अझ टोक्छन्, “विदेशीको गोटी हो सुदन !”

तर सत्य के हो भने — सुदन भाइ हामीजस्तै सामान्य नेपाली नागरिक हुन्।



फरक यत्ति मात्र हो — उनी बोल्न डराउँदैनन्।

विपद् आउँदा, गाउँ डुब्दा, बाटो भासिँदा अरूले मोबाइलमा भिडियो खिच्दै आदर्शका गफ चुड्दा सुदन भने अघि सर्छन्।

त्यो बेला उनी “चकचक” होइन, आवाज उठाउँछन्।

बोल्नेहरूको आवाज किन अनसुनी हुन्छ ?

हाम्रो समाजको विडम्बना हो- जसले केही गर्छ, उसको आलोचना हुन्छ; जसले चुप लाग्छ, ऊ सजिलो ठहरिन्छ।

त्यसैले होला, “चकचक” भन्ने उपमा पाएका सुदन भाइको आवाज पनि अक्सर अनसुनी हुन्छ।

हाम्रो सोच अझै सामन्ती परम्पराले गाँठिएको छ।

७ सालमा राणा शासन ढलेर प्रधानमन्त्री बनेका मतृका प्रसाद कोइरालाको “हैसियत” सोध्ने सेनापति केशर शमशेरको मानसिकता आज पनि जीवित छ।

अब पनि सुदनजस्ता नागरिकले प्रधानमन्त्री वा मन्त्रीलाई सुझाव दिन “हैसियत” चाहिन्छ भन्ने भ्रम छ — मानौं ती मान्छेहरू कुनै असाधारण प्राणी हुन्, जसलाई प्रश्न गर्न पनि अनुमति माग्नुपर्छ।

सामन्ती सोचको स्थायित्व

म सुदन गुरुङको समर्थक होइन ।

तर, हैसियत र पदका आधारमा मात्र अरूको आवाज तोल्ने सामन्ती सोचको विरोधी अवश्य छु ।

आफूले गर्दा “ठीक” र अरूले गर्दा “बेठीक” भन्ने दोहोरो मापदण्डको पनि विरोधी हुँ ।

हो, यदि सुदनले सरकारी गाडी, आवास वा तलबको सुविधा लिन थाले भने- प्रश्न उठाउनुपर्छ ।

“उनी त्यस्ता सुविधाका हकदार किन बने?” भनेर सोध्नुपर्छ।

तर उनी विपद् व्यवस्थापन बैठकमा आफ्नो अनुभवका आधारमा सुझाव दिन पुगेका थिए भने-

यदि ती सुझाव गलत थिए भने आलोचना गरौं;

तर यदि ती सार्थक र व्यावहारिक थिए भने- किन अनावश्यक टाउको दुखाउने ?

सुदनले प्रधानमन्त्रीसँग उठबस गरेको देखेर कतिपयलाई लाग्ने डाहा र ईर्ष्या हाम्रो सामाजिक रोग हो- जसले सधैं व्यक्तिको हैसियत होइन, बोल्ने साहस मापन गर्छ।

एनजिओप्रतिको वितृष्णा र यथार्थ

सुदनमाथि अर्को आरोप- “एनजिओको दलाल।”

तर प्रश्न यहीँ उठ्छ- हामीलाई एनजिओप्रति यति वितृष्णा किन छ?

जबकि यही एनजिओहरूले नेपालीलाई साबुनपानीले हात धुने, सागसब्जी खान, परिवार नियोजन अपनाउन, शौचालय प्रयोग गर्न, दाँत माझ्न, र चेलीबेटी बेचबिखन रोक्न सिकाएका हुन्।

आज पनि तिनै संस्थाहरू गाउँगाउँमा चेतनामूलक कार्यक्रम, तालिम र प्रविधि पुर्‍याइरहेका छन्।

नेता, पत्रकार, वकिल, डाक्टर, शिक्षक, कलाकारदेखि व्यापारीसम्म- हरेकले कुनै न कुनै रूपमा एनजिओ सञ्चालन गरेका छन् र विदेशी सहयोग भित्र्याएका छन्।

त्यसो भए, सुदनले एनजिओ चलाउनु गैरकानुनी हो भने प्रश्न गरौं, तर निहुँ खोज्ने नाममा निन्दा किन?

मौनको प्रशंसा र सत्यको दण्ड

हामी यस्तो समाजमा छौं- जहाँ सत्य बोल्नेको जिब्रो जलाइन्छ,

र मौन बस्नेको प्रशंसा गरिन्छ।

तर समाज बदल्ने शक्ति मौनमा होइन, आवाजमा हुन्छ।

अन्त्यमा...

सुदन भाइलाई यत्ति भन्न मन लाग्छ

“बोलिरहनुहोस् भाइ। चकचक होइन, चेतना फैलाउनुहोस् ।किनभने कहिलेकाहीँ साँचो कुरा पनि चकचक जस्तो लाग्छ, जब हामीलाई सत्य सुन्न मन हुँदैन ।”

जय नेपाल ! हामी नेपाली ! 

  • प्रकाशित मिति : २१ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया