‘मौसमविद्हरूले पानी पर्छ भने पनि यहाँ यहाँ पहिरो जान्छ भनेका थिएनन् नि त, गएपछि थाहा हुनेभयो’ पत्रकारहरूलाई केपी शर्मा ओलीले यो रूखो प्रतिक्रिया दिएको त्यतिबेला हो, जति बेला उनी मुलुकको प्रधानमन्त्री थिए ।
उनले यो बोलिरहँदा देश बाढी-पहिरोबाट नराम्रोसँग प्रभावित भइरहेको थियो । सङ्घीय राजधानीमै उद्धार नपाई बाढीबाट मानिसहरूले ज्यान गुमाइरहेका थिए ।
काठमाडौंबाट केही पर नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ठूलो पहिरो खस्दा भरिभराउ दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । तराई जलमग्न थियो । भारी वर्षासँगै बाढी-पहिरोको जोखिम बढ्ने पूर्वानुमान मौसमविद्हरूले त्यसअघिबाटै गराइरहेका थिए । तर, ओली नेतृत्वको सरकारले सक्रियता नदेखाउँदा गत वर्ष धेरैले आफन्त गुमाए, कयौँ घरबार विहीन भए ।
विपद्को समयमा प्रधानमन्त्रीले जनताको अभिभावकको रूपमा उभिएर ढाडस दिनेदेखि उद्धार र राहतका काम तत्काल तदारुकताकासाथ गर्नुपर्ने हुन्छ । मातहतका सबै सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुपर्ने हुन्छ । किनकी सक्रिय नेतृत्व नै जनप्रतिको जिम्मेवारी हो । तर, तत्कालीन प्रधानमन्त्री ओलीबाट त्यो हुन नसकेको भनेर अहिलेसम्म पनि आलोचना भइराखेकै छ ।
यस वर्ष पनि मौसमविद्को पूर्वानुमान सत्यसावित हुँदै त्यसैगरी ठूलो पानी पर्यो । मौसमविद्को पूर्वानुमानलाई पछ्याउँदै सरकारले विपद्को सूचना प्रवाहमा कडा सक्रियता देखायो । स्थानीय तहदेखि प्रधानमन्त्री कार्यालयसम्मले बाढी-पहिरोको सूचना प्रवाह गरिरहे । प्रहरीले माइकिङ गर्नेदेखि मोबाइलबाट सुरक्षित रहन नागरिकहरूलाई आह्वान गर्नेसम्मका सूचना जारी गरियो ।
गत शुक्र, शनि र आइतबार देशका कयौँ ठाउँमा अविरल वर्षा भयो । यो बीचमा प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा एक भिडियो सन्देश जारी गरिन् । उनले विपद्को समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताइन् । जनताको साथमा सरकार रहेको बताउँदै समस्यामा परेकाहरूको मनोबल उच्च बनाइन् ।
बाढी-पहिरोबाट इलामसहित पूर्वी नेपालमा ठूलो क्षति हुन पुगेको छ । यद्यपि, सरकारले सजकता अपनाउँदा विशाल क्षतिबाट मुलुक जोगिएको छ । दिनरात नभनी उद्दार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मैदानमा खटाइयो । त्यो विपद्–व्यवस्थापनले जनताको साथमा ‘सरकार छ’ भन्ने अनुभूति गराएको अहिले सर्वसाधारणले बताइरहेका छन् ।

दोलखाका तिलराज खतिवडा वर्तमान सरकारले विपद् व्यवस्थापनमा चालेको कदमले अनुमान गरेको भन्दा कम दुर्घटना भएको बताउँछन् । विपद्मा सरकारबाट भएकाले काम सराहनीय भएको उनको भनाई छ । विपद्मा सरकारले राम्रो व्यवस्थापन गरेर प्रशंसनीय काम गरेको झापाका रामचन्द्र रञ्जित सुनाउँछन् । राजमार्ग बन्द गरेर सरकारले जनताको सुरक्षाको लागि चालेको कदम उचित रहेको उनको भनाई छ ।
सरकारले विपदमा राम्रो काम गरेको धेरैले बताइरहेका छन् । सरकारको चनाखो सक्रियताले ठूलो जनधनको क्षति नभएको बताउनेहरू पनि कम छैनन् । स्थानीय शान्ता खरेल पनि सरकार जनताको साथमा छ भन्ने महसुस भएको बताउँछिन् । निरन्तर वर्षाकाबीच सरकारको सक्रियताले ठूलो जोखिम टरेको छ । अब पीडितलाई राहत र पुनर्स्थापानामासँगै बन्द रहेका राजमार्ग सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनु पर्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।