काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले (बालेन) भदौ २४ गते सिंहदरबारमा लागेको आगजनीको घटनामा दमकल नपठाएको आरोपको खण्डन गरेका छन् ।
सिंहदरबार आगलागीलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘दमकल कहाँ थियो ?’ र ‘आगो निभाउन किन ढिलाइ भयो ?’ जस्ता प्रश्न उठेका बेला मेयर बालेनले आफ्नो टिम र महानगरपालिकाले निभाएको भूमिकाबारे स्पष्ट पारेका हुन् ।
‘त्यो दिन देशमा सुरक्षा व्यवस्था ठप्प भएको थियो, प्रहरी चौकीहरू समेत सुरक्षित राख्न नसक्ने अवस्था थियो । आन्दोलनकारीहरूले दमकलको काममा अवरोध पुर्याएका कारण सुरुवातमा दमकल समयमै आगो निभाउन पुग्न सकेन,’ बालेनले भनेका छन्, ‘तर, साँझ ८:१५ बजेभित्रै काठमाडौँ महानगरको दमकल सिंहदरबार पुगेको थियो र त्यसपछि निरन्तर आगो निभाउने काम जारी थियो ।’
उनले महानगरपालिकामा जम्मा पाँचवटा दमकल (न्युरोडमा २, बालाजुमा २ र रामहिटीमा १) रहेको पनि उल्लेख गरेका छन् । साथै, ४४ जनाको टिम तीन सिफ्टमा सक्रिय भएर काम गरिरहेको बताउँदै उनले उल्लेख गरेका छन्, ‘२३ देखि २८ गतेसम्म सिंहदरबारलगायत काठमाडौंका विभिन्न स्थानमा दमकल निरन्तर परिचालित थियो ।’
आगो निभाउनबाहेक महानगरपालिकाले घाइतेको उपचार, निःशुल्क खाना, औषधि उपलब्ध गराउने, रक्तदान व्यवस्था, बिरामीको लास व्यवस्थापनलगायत अन्य आपतकालीन सेवासमेत सम्हालेको पनि मेयर शाहले उल्लेख गरेका छन् । ‘अस्पतालमा अभिभावक नभएका बिरामीका लागि हाम्रो टिमले अभिभावकको जिम्मेवारी समेत लिएको थियो,’ उनले भनेका छन् ।
मेयर बालेनले गलत आरोप र अफबाह फैलाउनेहरूलाई सचेत हुन पनि अनुराेध गरेका छन् । ‘बिना तथ्य र अनुसन्धानका निष्कर्ष निकाल्नु गलत हो । यसले जनतालाई भ्रममा पार्छ र दिनरात खटिएका कर्मचारीहरूको मनोबल गिराउँछ। मिडियालाई सत्य तथ्य खोज्न र मात्र समाचार प्रकाशन गर्न अनुरोध गर्दछु,’ बालेनले भनेका छन् ।
उनले सबैमा एकता र सचेतना अपनाउन आग्रह पनि गरेका छन् । ‘सत्य बुझौँ, अफबाह फैलाउने काम नगरी सबै मिलेर सुरक्षित र मानवताप्रधान समाज बनाऔँ । देशलाई हल्ला र झुटको होइन, एकताको आवश्यकता छ,’ बालेनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।