२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

भारत जाने नेपाली बेपत्ता हुनेक्रम बढ्दो, चन्द्रलाल २१ दिनदेखि सम्पर्कविहीन
खुला सिमाना, खुला जोखिम

खुला सीमानाको कारण नेपालीलाई छिमेकी मुलुक भारत आवतजावत गर्न गाह्रो छैन । सोही कारण लाखौँ नेपाली रोजगारीका लागि भारतमा छन् । कयौँ नेपाली त वर्षौंदेखि भारतमै घरजम गरेर बसिरहेका छन् । र, अहिले पनि भारतमा रोजगारीका लागि जाने नेपालीको संख्यामा कमी आउन सकेको छैन ।


भारत जानेको संख्या बढेसँगै नेपालीमाथि हुने लुटपाट र दुर्व्यवहारका घटना पनि वृद्धि भइरहेका छन् । यति मात्र होइन नेपाली नागरिकहरू घर फर्किनेक्रममा हराउन थालेका घटना पनि बर्सेनि बढ्न थालेका छन् । 



कैलालीको टीकापुरका ६२ वर्षीय चन्द्रलाल पाण्डेलाई  लागि भारत आउ–जाउ गर्नु कुनै नौलो विषय थिएन । सीमा क्षेत्रमा बसोबास गर्ने भएका कारण चन्द्रलाल र उनको परिवारलाई भारत जाने र नेपाल फर्किने विषय सामान्य थियो । तर, यही कुरा पछिल्लो तीन सातादेखि भने चन्द्रलालको परिवारका लागि असामान्य बनेको छ ।

पछिल्लोपटक घरासयी कामको लागि भारत गएका चन्द्रलाल भारतबाट नेपालका लागि हिँडे पनि अहिलेसम्म घर आइपुगेका छैनन् । भारतको उत्तराखण्ड मनाली मन्सारी हरिपुरबाट नेपालका लागि १ असोजमा हिँडेका चन्द्रलाल अझै घर नपुग्दा परिवारमा त्रासको माहोल बनेको छ ।



चन्द्रलालकी छोरी बबिता पाण्डेका अनुसार उनले १ असोजमा नेपाल आउन लागेको भनेर घरमा खबर गरेका थिए । २१ दिनदेखि सम्पर्कविहीन भएका भारतमा रहेको आफन्तसँग बिदा भएर हिँडेका थिए ।  

भारतीय भाषा राम्रोसँग जान्ने र चनाखो स्वभावका भएका कारण खबर गरेको दुई/तीन दिनसम्म घर नआउँदा पनि परिवारका सदस्यले कुनै कारण अड्किएकाले नआएको अनुमानसहित चन्द्रलाल आउने विश्वासमा पर्खिरहे । तर, दुई/तीन दिनपछि पनि घर नआइपुगेपछि र मोबाइल पनि अफ भएपछि परिवारले खोजी सुरु गर्न थालेको थियो । 

चन्द्रलाल टीकापुर बस्दै आए पनि उनको पुर्ख्यौली घर दैलेख हो । उनी भारतमा रहेका फुपूका छोराकोमा गएका थिए । त्यहाँ बुझ्दा बुबा १ असोजमा नै नेपाल जाने भनेर बिदा भएर चन्द्रलाल निस्किएको खबर आफूहरूले पाएको छोरी बबिताको भनाइ छ ।  



उनका अनुसार बुबा चन्द्रलालको कुनै खबर नआएपछि भारतमै रहेका छोरी–ज्वाइँ र नेपालबाट पनि आफन्त खोजीका लागि भारतका विभिन्न स्थानमा पुगेका छन् । तर, पनि उनको कुनै पत्ता लागेको छैन ।

भारतका विभिन्न स्थानमा खोजी गर्दा पनि पत्ता नलागेको बबिताले बताइन् । भारतमा रहेका आफन्त, नेपाल र भारतका विभिन्न सञ्चारमाध्यमबाट पनि सूचना प्रवाह गरेर खोजी गर्ने काम भइरहेको उनले जानकारी दिइन् ।

‘हालसम्म बुबा चन्द्रलाल १ असोजमा भारतबाट नेपालका लागि हिँडेको भन्ने खबर आएको तर कहाँबाट गाडी चढे, कहाँ जाने गाडी चढे वा कुनै कारण बीचबाटोमै अड्किए कुनै वास्तविक खबर भने पत्ता लाग्न सकेको छैन,’ बबिताले भनिन्, ‘भारतमा चाडपर्वको समयमा धेरै चोरी तथा लुटपाट हुने भएका कारण कतै अप्ठ्यारोमा परेको भएपनि अहिलेसम्म परिवारको सम्पर्कमा आउनुपर्ने थियो । तर, २१ दिन बितिसक्दा पनि कुनै खबर नआएका कारण अहिले परिवार त्रासमा छ ।’

उनको खोजीका लागि भारतस्थित नेपाली राजदूतावास र त्यहाँका प्रहरी प्रशासनबाट प्रयास गर्दा पनि कुनै पत्ता लगाउन नसकिएको बबिताले जानकारी दिइन् । उनका अनुसार चन्द्रलाललाई भारतीय भाषा पनि राम्रोसँग आउने र घरपरिवारका सदस्यको मोबाइल नम्बर पनि याद भएकाले कुनै समस्यामा परेको भए पनि अहिलेसम्म परिवारसम्म खबर आउनुपर्ने थियो । तर, हालसम्म कुनै खबर आएको छैन । चार/पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि आफन्तलाई पत्ता लगाएर बुझ्दा बुबा नेपालका लागि हिँडिसकेको भन्ने बाहेक अरू खबर पत्ता नलागेको उनको भनाइ छ ।

उनी सम्पर्कमा नआएपछि भारतमै रहेका छोरी–ज्वाइँ त्यहाँको प्रहरी प्रशासनमा कार्यालयमा खोजीका लागि पुगेको तर प्रहरी प्रशासन खोजी गर्न पत्र नै नदिएका कारण केही समस्या भएको बबिताले सुनाइन् ।

‘पछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पत्र पठाएपछि मात्र त्यहाँको प्रहरी प्रशासनले खोजी गर्नका लागि पत्र बनाइदिएको थियो । तर, पनि हालसम्म बुबाको पत्ता लागेको छैन,’ बबिताले भनिन् । 

चन्द्रलाल मनालीबाट कहाँ जाने गाडी चढे वा चढेनन् भनेर पत्ता लगाउनका लागि सम्बन्धित क्षेत्रको सिसिटिभी फुटेज देखाउन आग्रह गर्दा त्यहाँको प्रहरी प्रशासनले देखाउन नमानेको उनको भनाइ छ । त्यसका लागि भारतमा रहेको नेपाली राजदूतावासमा आधिकारिकपत्र पठाएको बबिताले सुनाइन् ।

परिवार एकै ठाउँमा बसेर रमाइलो गर्नुपर्ने चाडपर्वको समयमा नै परिवारको सदस्य सम्पर्कविहीन भएपछि यतिबेला चन्द्रलालको परिवारमा चिन्ता थपिएको छ । कहाँबाट कसरी सम्पर्कविहीन भए भन्ने कुरा नै पत्ता नलागेका कारण अहिले चन्द्रलालको परिवार खोजी गर्न कहाँ जाने, कुन ठाउँ जाने भन्ने अन्योलमा छ । 

पछिल्लो समय चन्द्रलालजस्ता धेरै नेपाली भारतमा बेपत्ता हुने गरेका छन् ।  रोजगारी, अध्ययन, उपचारलगायत विभिन्न कारण भारत गएका नेपाली नागरिक हटाउने घटना पछिल्लो समय बढ्दै गएको पाइन्छ । अध्ययनका लागि भारत गएका रुकुमपश्चिम मुसीकोट नगरपालिका–१ का २६ वर्षीय गोपाल खड्का भारतमा बेपत्ता भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि अझै केही पत्ता लाग्न सकेको छैन ।

भारतको देहरादूनमा रहेको अल्पाइन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी कलेजमा बीएस्सी अध्ययन गरिरहेका उनी २०७९ वैशाखमा परीक्षा सकेर नेपाल फर्किँदै गर्दा हराएका गोपाल अहिलेसम्म भेटिएका छैनन् । नेपाल र भारतबीच खुला सीमाना रहेका कारण कति नेपाली भारत जान्छन् र कति फर्किन्छन्, कति हराउँछन् भन्ने तथ्याङ्क नेपाल सरकारसँग छैन । 

  • प्रकाशित मिति : २१ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया