१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

अपराजित विश्वकपमा पुग्ने योजनामा नेपाल, पहिलो प्रतिद्वन्द्वी कुवेत

आउँदो वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा अब तीन टिमका लागि मात्र ठाउँ खाली छ । त्यो स्थान पूरा गर्न बुधबारदेखि ओमानमा टी–२० विश्वकप एसिया तथा इएपी छनोट प्रतियोगिता सुरु हुँदैछ ।


प्रतियोगितामा नेपाल, यूएई, ओमान, पपुवा न्यूगिनी, कुवेत, कतार, मलेसिया, जापान र सामोआ गरी ९ टिमको सहभागिता रहेको छ । उनीहरू तीन समूहमा बाँडिएका छन् । प्रत्येक समूहमा तीनवटा टिम छन् ।



उनीहरूले समूह चरणमा दुई/दुईवटा म्याच खेल्ने छन् । र, तालिकाको टप–टू टिमले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्सको अंक तालिकाको शीर्ष तीनवटा टोलीले आगामी विश्वकप खेल्न पाउने छन् ।



यही टप थ्रीमा परेर विश्वकपमा स्थान सुरक्षित गर्न नेपाली टिम पनि अहिले ओमानमा छ । समूह चरणको पहिलो खेलमा नेपालले बुधबार कुवेतको सामना गर्ने तालिका छ । 

कुवेतविरुद्ध नेपालको विगत प्रदर्शन 

नेपाल र कुवेतबीचको खेल बुधबार राति ८ः४५ देखि सुरु हुनेछ । नेपाली टिम कुवेतविरुद्ध जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छ । पछिल्लो समय उच्च लयमा रहेकाले पनि कुवेतविरुद्ध नेपालले सहज जित निकाल्नेमा खेलाडी र समर्थक विश्वस्त छन् ।

नेपालले हालै वेस्ट इण्डिजविरुद्धको टी–२० आई ऐतिहासिक सिरिज २–१ ले जितेको थियो । र, विश्वकप छनोटअघिको दुईवटा वार्मअप म्याचमा पनि नेपालले लगातार जित निकाल्यो । नेपालले ओमानविरुद्ध ६ विकेट र कतारविरुद्ध १६ रनको जित निकालेको हो । नेपाल अब छनोट प्रतियोगितामा पनि सोही लय कायम राख्ने योजनामा छ । 



उता कुवेतको टिमले पनि वार्मअप म्याचमा ओमान र कतारलाई हराएको थियो । ऊ अब विश्वकप छनोटमा पनि आफ्नो अपराजित यात्रा जारी राख्ने सोचमा छ । यद्यपि नेपाललाई हराएर प्रतियोगिताको सुरुवात गर्न कुवेतलाई सहज भने हुने छैन । ‘हेड टु हेड’ नतिजा हेर्दा नेपालविरुद्ध कुवेत पछाडि छ ।

हालसम्म यी दुई टिमबीच तीनवटा टी–२०आईमा भेट भएको छ, जसमा नेपालले दुई र कुवेतले एक खेल जितेको छ । यी दुई टोलीले पछिल्लोपटक गत अप्रिलमा चारदेशीय टी–२० आई सिरिजमा एकअर्काको सामना गरेका थिए ।

हङकङमा भएको उक्त श्रृंखलाको फाइनलमा कुवेतविरुद्ध नेपाल तीन विकेटले स्तब्ध भयो । त्यसयता भने नेपाल र कुवेतबीच भेट भएको छैन । कुवेतविरुद्ध नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शन हेर्दा ब्याटिङतर्फ कुशल भुर्तेल शीर्ष स्थानमा छन् ।

उनले हालसम्म कुवेतविरुद्धको दुई टी–२० आईमा १४७.३६ को स्ट्राइक रेटमा ८४ रन बनाएका छन् । साथै, कुशल कुवेतविरुद्ध उच्च स्कोर बनाउने नेपाली ब्याटरसमेत हुन् ।

उनले गत अप्रिलमा ८१ रनको इनिङ खेलेका थिए । कुवेतविरुद्ध बलिङतर्फ सर्वाधिक विकेटकर्ताको सूचीमा सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले हालसम्म कुवेतसँगको तीन खेलमै बलिङ गरेका छन्, जसमा सोमपालले ७.१६ को इकोनमीमा ५ विकेट लिएको विगत छ ।   

यस्तै नेपालविरुद्धको टी–२० आईमा कुवेतका सर्वाधिक सफल ब्याटर हुन्,  रविजा सन्दारुवान । उनले तीन खेलमा १५५.२२ को स्ट्राइक रेटमा १०४ रन बनाएका छन् । श्रलिंकनमूलका सन्दारुवान कुवेतको टिमका अनुभवी खेलाडीमध्ये एक हुन् ।

उनले ७५ टी–२०आईमा १२ अर्धशतक र दुई शतकको मद्दतमा २ हजार ६१ रन बनाएका छन् ।

त्यस्तै, नेपालविरुद्ध बलिङमा उत्कृष्ट प्रदर्शन गर्ने कुवेती बलरको सूचीको शीर्ष स्थानमा यासिन पटेल रहेका छन् । उनले हालसम्म नेपालविरुद्ध २ खेलमा ५.१२ को इकोनमीमा ४ विकेट लिएका छन् । 

समग्रमा नेपाल र कुवेत दुवै टिममा अनुभवी खेलाडीको बाहुल्यता बढी छ । कुवेतको टोलीमा भारत, पाकिस्तान, श्रीलंकनमूलका खेलाडी छन्, जसले गर्दा नेपाललाई चुनौती थपिन सक्छ ।

यद्यपि वेस्ट इण्डिजजस्तो दुईपटकको वर्ल्डकप च्याम्पियनलाई हराएर विश्वकप छनोट खेलिरहेकाले कुवेतविरुद्ध भिड्नुअघि नेपाली टिममा आत्मविश्वास बढेको छ । साथै, टोलीमा सबै प्रमुख खेलाडी छन् । 

गत अप्रिलमा भएको कुवेतविरुद्धको म्याच नेपालले केही प्रमुख खेलाडीबिना खेलेको थियो । यसपटक भने नेपाल बलियो टोलीका साथ प्रतिस्पर्धा गर्दैछ । र, नेपाल अपराजित रहेर विश्वकपमा छनोट हुने योजनामा छ । 

  • प्रकाशित मिति : २२ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया