मलेसियाविरुद्धको टी–२० आई सिरिज नेपालले जितेको छ । बुधबार भएको निर्णायक तथा पाँचौं खेलमा मलेसियालाई ५ विकेटले हराउँदै पाँच म्याचको सिरिज ३–२ ले जितेको हो ।
अन्तिम खेलमा मलेसियाले दिएको १ सय ४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रुबि पोदारले २६, पूजा महतोले २३, रुबिना क्षेत्रीले अविजित १५ र सम्झना खड्काले १३ रन बनाइन् ।

त्यसअघि क्वालालम्पुरमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३ रन जोड्यो ।
उसका लागि विनिफ्रेड दुराइसिंघामले ४० रनको योगदान दिँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याइन् । उनले आफ्नो इनिङमा पाँच चौका प्रहार गरेकी थिइन् ।
नेपालका बलरले इनिङभर नियन्त्रणयुक्त बलिङ गरे । विशेषतः राजमती ऐरी र कविता कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियाको रन गति रोकिदिए । राजमतीले तीन ओभरमा १५ रन खर्चिएर तीन विकेट लिइन् ।
कविताले चार ओभरमा १६ रन दिँदै तीन विकेट हात पारिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।